आवश्यक पोषक तत्त्वको कमीले शरीरमा देखा पर्ने विकृत अवस्थालाई नै कुपोषण भनिन्छ । नेपालका बालबालिकालाई लाग्ने रोगमध्ये यो एक प्रमुख रोग हो ।
यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा असर गर्छ । शारीरिक विकासका दृष्टिले बालबालिकाको मस्तिष्कलगायत अधिकांश प्रमुख अङ्गको विकास दुई वर्षको उमेरसम्ममा भइसकेको हुन्छ । त्यसैले विशेषतः दुई वर्षको उमेरसम्म बालबालिकाको पोषणका लागि विशेष ध्यान दिनु जरुरी हुन्छ ।
मानिसको शरीरको वृद्धि र विकासका लागि कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन, फाइबर र पानीको आवश्यकता हुन्छ । यी तत्त्व सन्तुलित मात्रामा नरहेमा कुपोषण रोग लाग्ने गर्छ ।
कुपोषण पर्याप्त खाना र पोषक तत्त्वको कमीले लाग्ने रोग हो । यो एक सङ्क्रामक रोग पनि हो । यसले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामा कमी आउँछ । यसले शरीर तथा मस्तिष्कको विकासमा बाधा पु¥याउँछ । यसका कारण कतिपय बालबालिकाको अकालमै मृत्यु पनि हुन सक्छ । बालबालिकाको उचाइ कम हुने, शरीर दुब्लो हुने, शरीरका विभिन्न अवयव नचल्ने आदि यसका लक्षण हुन् । त्यस्तै, कुपोषणकै कारण कतिपय बालबालिका सुस्त मनस्थितिको समस्याले पनि ग्रस्त छन् ।
यो रोगले ग्रस्त बालबालिकाको शरीर तथा मस्तिष्कको विकास राम्ररी नहुने भएकाले यसले समग्र मुलुकलाई नै ठूलो क्षति पु¥याउन सक्छ । रोगग्रस्त जनशक्तिले मुलुकको अर्थतन्त्रमा सहयोग गर्न नसक्ने भएकाले यो रोगको निवारणका लागि विशेष ध्यान दिनु आवश्यक छ ।
कुपोषण विशेष गरी दुई प्रकारको हुन्छ । एक अल्पपोषण र अर्को अतिपोषण । अल्पपोषणले बालबालिकालार्य सुकेनास लाग्न सक्छ भने अतिपोषणले फुकेनास लाग्न सक्छ ।
कुपोषण गरीबी, अशिक्षाका साथै सामाजिक संस्कृतिले पनि लाग्न सक्छ । कतिपय समाजमा आहारविहारको संस्कृति राम्रो नहुने भएकाले पनि ती समाजका बालबालिका कुपोषणको शिकार हुने गरेका छन् । त्यसैगरी अहिलेका किशोरकिशोरी तथा युवाहरू पनि शरीरलाई स्लिम तथा आकर्षक बनाउने भनी खानपानमा कमी गर्छन् र यसका कारण पनि कतिपय कुपोषणको शिकार बनेका छन् ।
भोकमरीका कारण विश्वमा करीब १ अर्ब मानिस कुपोषणको शिकार भएको विश्वखाद्य कार्यक्रम (डब्ल्यूएफपी)को तथ्याङ्कले देखाउँछ । प्राकृतिक प्रकोपले ग्रस्त स्थानका मानिसमा यो रोग अत्यन्त ठूलो समस्या बन्ने गरेको छ ।
आर्थिक अवस्था कमजोर भएको परिवारले पोषणमा त्यति ध्यान दिन सक्दैनन् । उनीहरूलाई एक छाक टार्न धौधौ पर्ने अवस्थामा पोषक तत्त्व पर्याप्त मात्रामा पु¥याउनु एक ठूलो चुनौती नै हो । यस्तो अवस्थामा पेट भर्ने उपाय गर्नुभन्दा उनीहरूसँग अर्को कुनै उपाय रहँदैन । त्यसैले दालभातमा मात्रै जीवन गुजारा गर्ने घरपरिवारका बालबालिकालाई यो समस्या हुन सक्छ ।
पोषणसम्बन्धी जानकारीको कमीले गर्दा यो रोग लाग्न सक्ने भएकाले पर्याप्त मात्रामा खान नपाउने बालबालिकालाई मात्र यो रोग लाग्छ भन्ने पनि छैन । नेपालजस्तो देशमा यो पोषणसम्बन्धी ज्ञानको कमीले लाग्ने गर्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर करीब ४६ करोड २० लाख मानिस कुपोषणको शिकार भएका छन् । यसमध्ये करीब आधा जनसङ्ख्या बालबालिका छन् ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण सन् २०१६ का अनुसार एक सय बालबालिकामध्ये ३६ जनामा पुड्कोपना छ भने १० जनामा दुब्लो (ख्याउटे) पना पाइएको छ र २७ जना कम तौलको जन्मने गरेको देखिन्छ ।
नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको सन् २०१६ को तथ्याङ्कअनुसार नेपालमा कडाखालको कुपोषण हुने बालबालिकाको संख्या १० प्रतिशत छ । सन् २००६ मा १३ प्रतिशत र सन् २०११ मा ११ प्रतिशत थियो । यो आँकडा हेर्दा कुपोषणको मात्रा विस्तारै कम हुँदै गएको देखिन्छ । तथापि, यसले समाजलाई अझै ठूलो असर पुर्याइरहेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार यदि १० देखि १४ प्रतिशत बालबालिका शीघ्र (कडा खालको) कुपोषणको अवस्थामा छन् भने त्यसलाई नाजुक अवस्था भनिन्छ । यसअनुसार नेपालमा शीघ्र कुपोषणको अवस्था १० प्रतिशत रहेकोले कुपोषणको अवस्था निकै गम्भीर छ ।
जन्मपूर्व गर्भावस्थादेखि हजार दिन निकै संवेदनशील हुन्छ । यस समयमा यदि आमा र शिशुको राम्ररी स्याहार गर्न सकियो भने यसले उसको जीवनलाई नै राम्रो दिशा दिन सक्ने भएकाले नेपालमा यसलाई सुनौला हजार दिन भन्ने गरिएको छ ।
कुपोषणबाट बच्न शिशुको आहारमा विशेष ध्यान दिनुपर्छ । त्यसका लागि शिशु जन्मेदेखि नै उसलाई कुनकुन समयमा केके र कति मात्रामा खुवाउने भन्ने स्पष्ट जानकारी हुनैपर्छ ।
शिशुको जन्मपछि ६ महिनासम्म आमाको दूधमात्र :
शिशुको प्रतिरोधात्मक क्षमताको विकासका लागि शिशु जन्मेपछि १ घण्टाभित्र उसलाई आमाको दूध खुवाउनु जरुरी छ । त्यसपछि २४ घण्टाभित्र ८ देखि १० पटक ९राति २ पटक अनिवार्य० स्तनपान गराउनुपर्छ । करिब हजार दिनसम्म शिशुलाई आमाको दूध खुवाउनु राम्रो हुन्छ । शिशुले स्तनपान गरेर नै पर्याप्त मात्रामा पोषक तत्त्व प्राप्त गर्न सक्छ । शिशुलाई ६ महिनासम्म आमाको दूधमात्र खुवाउनुपर्छ । ६ महिनासम्म शिशुलाई पानी खुवाउनु पनि त्यति आवश्यक छैन । शिशुलाई जति बढी तिर्खा लाग्छ, त्यति नै बढी दूध खुवाउन सकिन्छ ।
६ महिनादेखि १ वर्षसम्म :
६ महिनापछि बच्चालाई दूधबाहेक ठोस आहार पनि दिनुपर्छ । भिटामिन्स र मिनरल्सबाहेक प्रोटिन्स, फ्याट, आइरन र कार्बोहाइड्रेटको पनि आवश्यकता हुन्छ । मस्तिष्कको विकासका लागि आइरन र हड्डी तथा मांसपेशीको विकासका लागि क्याल्सियमयुक्त आहार पनि खुवाउन आवश्यक छ ।
त्यसैले यस समयमा आमाको दूधका साथै जाउलो, लिटो, खिचडी, हलुवा, मुछेको आलु, केरा, सागसब्जी, दूध, दही, चिज, पनिर आदि दुग्धजन्य पदार्थ, अण्डा आदि पनि कुवाउनु आवश्यक छ । सुरुमा शिशुलाई पचाउन सजिलो हुने किसिमका खानेकुरा खुवाउनुपर्छ । खानेकुरा नरम हुनु आवश्यक छ । यस समयमा अन्य आहारको तुलनामा दूध नै बढी खुवाउनुपर्छ । यस समयमा दिनमा तीन पटक ठोस आहार खुवाउनुपर्छ ।
१ वर्षदेखि २ वर्षसम्म :
करीब १ वर्ष पुगेपछि बालबालिकालाई परिवारसँगै बसाएर खुवाउन सकिन्छ । यसले बच्चामा खानेकुरा छान्ने बानी पनि विकसित हुन्छ । ड्राइ फ्रुट्समा क्यालोरी धेरै हुने भएकाले यो कम मात्रामा दिनुपर्छ । त्यस्तै, भात, रोटी, गेडागुडी, फलफूल, माछा, मासु, सागसब्जी, मौसमी फलफूल आदि पनि बिस्तारै खुवाउन सकिन्छ । यसले उसको शरीरमा पोषक तत्त्वको कमी रहन दिँदैन । तर, बच्चाको शरीरले कस्तो खाना पचाउन सक्छ, त्यो भने विचार गर्नै पर्छ । शिशुलाई स्वच्छ पिउने पानी प्रशस्त मात्रामा दिनुपर्छ । स्तनपान पनि साबिकबमोजिम गराइराख्नुपर्छ ।
दुई वर्षदेखि ५ वर्षसम्म :
दुई वर्ष पूरा भएपछि स्तनपान बन्द गरी ठोस कुराहरू दिनको पाँच पटकसम्म खुवाउन आवश्यक छ । बालबालिकाको स्वास्थ्य ठीक राख्न र पर्याप्त पोषक तत्त्व प्रदान गर्न दूध जस्तो राम्रो उपाय अरु केही पनि हुँदैन । त्यसैले गाईको दूधमा क्याल्सियम र प्रोटिनको मात्रा प्रशस्त मात्रामा पाइने भएकाले नियमित रुपमा गाईको दूध खुवाउनु राम्रो हुन्छ ।
यसले मांसपेशी र हड्डीलाई बलियो बनाउँछ । यसले बच्चालाई राम्रो निद्रा लाग्न र पाचनमा पनि सहयोग गर्छ । यस समय दिनमा कम्तीमा ५ पटक शिशुलाई ठोस आहार खुवाउन आवश्यक छ । नेपालमा यो उमेर समूहका बालबालिलाई कुपोषण लाग्ने गरेकाले यो समयमा बालबालिकाको विशेष ख्याल गर्नुपर्छ ।
बालबालिकालाई सफ्ट ड्रिङ्क्स, धेरै नुनिलो, पीरो, मसालायुक्त खाना, जङ्कफूड जस्तै चाउचाउ, बिस्कुट आदि दिनु निकै हानिकारक हुन्छ । यस्तो आहारले स्वास्थ्यमा ठूलो समस्या ल्याउन सक्छ ।