-डा.रामभक्त सुवेदी
काठमाडौं- भविष्यमा लाग्न सक्ने कुनैपनि किसिमको संभावित रोगबाट शरीरलाई बचाइराख्न खोप लगाउने गरिन्छ । खोपले हामीलाई भविष्यमा हुनसक्ने संभावित रोगको खतराबाट सुरक्षित गराउँछ ।
शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि सानै उमेरमा खोप दिने गरिन्छ । यसले उनीहरुलाई आजीवन कतिपय रोगबाट बचाउँछ ।
खासगरी बालबालिकालाई स्वस्थ्य राख्न, अपाङ्गताबाट बचाउन, गंभिर रोग लाग्न नदिन खोपहरुको निर्धारित मात्रा पुरा गर्नुपर्छ ।
नेपालमा खोपको शुरुवात २०२४ सालबाट गरिएको हो । र त्यो समय देखि आज सम्म विभिन्न रोगहरुका लागि खोप लगाउँने गरिन्छ । नेपालमा धेरै रोग विरुद्ध नेपाल सरकारको स्वास्थ्य विभागले खोप प्रदान गर्दै आइरहेको छ ।
शिशुलाई लगाईने खोपहरु यसप्रकार छन्ः
बीसीजी
शिशु जन्मने वित्तिकै सबै भन्दा सुरुमा दिइने खोप बिसीजी हो । बीसीजी खोपले बालबालिकालाई क्षयरोगको प्रभावबाट बचाउने गर्छ ।
क्षयरोगका किटाणुहरु बालबालिकाको पुरै शरीरमा फैलिएर ज्यानै समेत जान सक्ने हुन्छ त्यसबाट बचाउँनका लागि बिसीजी खोप जन्मीएको २४ देखि ७२ घण्टा भित्र लगाउनु पर्छ । अथवा ढिलोमा एक हप्ता भित्र लगाइसक्नु पर्नै हुन्छ ।
यो खोप शिशुको दाइने पाखुरामा लगाइन्छ र यो खोपबाट जिवनभर रहने पाखुरामा खत बस्छ । यसै खतबाट पहिला नै बिसिजी खोप लगाएको वा नलगाएको थाहा पाइन्छ ।
यदि जन्मने बितिकै बिसीजी लगाइएको छैन भने पनि प्रथम पटक शिशुलाई स्वास्थ्य केन्द्र लगेको समयमा लगाउनु पर्छ । यसलाई एक डोज लगाए पुग्छ ।
डि.पी.टी (हेप बि-हिब)
यो खोप शिशुहरुलाई ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । यो तीन पटक लगाउनुपर्छ । यो समयमा पाचँ ओटा रोग बिरुद्धको खोप दिईन्छ । (डि.पी.टी) डि भन्नाले भ्यागुते रोग बिरुद्धको खोप लाई बुझाउछ । त्यस्तै पी भन्नाले लहरे खोकि भनिन्छ । टी भन्नाले धनुषटंकार रोग भन्ने बुझिन्छ ।
हेप बी खोपबाट हेपाटाइटिज बी रोग लाग्नबाट बचिन्छ। हेमाफिलस बि बाट हुने मेनिन्जाइटिस र निमोनियाबाट जोगाउँने खोप दिइन्छ।
पि.सी.भी.
यो खोप ६ हप्ता, १० हप्ता र ९ महिनाको उमेरमा दिइन्छ । यो तीन पटक दिइन्छ । यसले न्युमोकोकसबाट हुने मेनिजाइटिस र निमोनियाबाट बचाउँछ ।
पोलियो
पोलियोको खोप ६, १० र १४ हप्ताको उमेरमा लगाइन्छ । पोलियो विरुद्ध मुखबाट दिइने भ्याकसीन लाई बुझ्न सकिन्छ । यो तीन पटक दिइन्छ । यसले पोलियोमाईलाइटिसबाट जोगाउँछ ।
एम.आर
९ महिना र १५ महिनाको उमेरमा यो खोप लगाईन्छ । एमआर भन्नाले दादुरा र रुवेला विरुद्धको खोप भन्ने बुझिन्छ ।
जे.ई
यो खोप १२ महिनाको उमेरमा दिइन्छ । यसले जापानिज इन्सेफलाइटिसबाट बचाउँछ । यो रोग तराईको भू भागमा व्यापक हुने गर्छ ।
नेपाल सरकारबाट प्रदान गरिएको खोप १५ महिना सम्मलाई छ । तर कुनै बेला खोप कारणवश शिशुलाई नलगाइएको हुन सक्छ त्यस्तो समयमा नजिकैको स्वास्थ्य केन्द्रमा गएर परार्मश लिन सकिन्छ ।
खोपका केहि असरहरुः
खोप धेरै अध्ययन अनुसन्धान गरेर धेरैमा प्रयोग भइसकेपछि मात्र आम नागरिकमा प्रयोगमा ल्याईएको हुन्छ । त्यसकारण खोप लगाउनलाई डराउनु पर्दैन ।
यसको असर एकदमै न्यून हुन्छ र भएमा पनि साधारण असरहरु मात्र हुन्छन् ।
खोप लगाउँदा प्रतिक्रिया देखिएको छ भने देस्रो पल्ट त्यो खोप लगाउन मिल्दैन ।
यदि डिपीडि खोप लगाउदा शिशुको होसमा नकारात्मक प्रभाव ल्याएर १ हप्तामा एन्सेफलोपाथीमा गएको छ भने देस्रो पल्ट त्यो खोप लगाउन मिल्दैन ।
बच्चा जन्मिएपछि खोप तालिका अनुसार तोकिको समयमा, तोकिएका सबै खोपहरु लगाउँदा बालबालिकामा सरुवा रोगसँग लड्ने क्षमता विकास हुन्छ ।
बालबालिकामा रोग लाग्ने दार, अपांगता हुने दर र मृत्यु हुने दरमा कमी आउँछ । विभिन्न किसिमको सरुवा रोगबाट बच्न सकिन्छ । त्यसैले बच्चा जन्माएपछि दम्पतीले बच्चालाई दिइने खोपबार जानकारी लिनुपर्छ । कुन खोप कहिले दिने, कहाँबाट दिने भन्नेबारे स्पष्ट रुपमा बुझ्नुपर्छ । खोपहरु सकेसम्म छुटाउनु हुँदैन ।
(डा. सुवेदी बिराट मेडिकल कलेजमा बाल रोग विशेषज्ञका रुपमा कार्यरत छन् )