चीनले अनुदानमा नेपाललाई उपलब्ध गराएको १० लाखमध्ये नौ लाख खोपको मात्रा मङ्गलवार काठमाण्डू आइपुग्न लागेको अधिकारीहरूले बताएका छन्।
गत हप्ता राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिन्पिङबीच भएको कुराकानीका क्रममा उत्तरी छिमेकीले नेपाललाई थप खोप उपलब्ध गराउने घोषणा गरेको थियो।
यसअघि पनि चीनले नेपाललाई आठ लाख खोपका मात्रा उपलब्ध गराएको थियो। पछिल्लो सहयोगसँगै चीनले नेपाललाई उपलब्ध गराएको कुल खोपको मात्रा १८ लाख पुगेको छ।
पछिल्लो १० लाखमध्ये बाँकी एक लाख खोप पनि छिट्टै नेपाल आइपुग्ने बताइएको छ।
यसपालिको खोप कुन हो?
यस पटक पनि चीनले पहिला दिएकै जस्तो भेरो सेल खोप नेपाललाई दिन लागेको स्वास्थ्य सेवा विभाग अन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले बीबीसीलाई जानकारी दिए।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिनियाँ सरकारी स्वामित्वको कम्पनी सिनोफार्मले विकास गरेको कोभिडविरुद्धको यो खोपलाई गत महिना आपत्कालीन प्रयोगको अनुमति दिएको थियो।
डब्ल्यूएचओले स्वीकृति दिएको युरोपबाहिर बनेको पहिलो कोभिड खोप त्यसअघि नै नेपालमा प्रयोगमा ल्याइसकिएको थियो।
नेपाल र चीनसहित यो खोप अन्य देशमा अहिलेसम्म लाखौँ व्यक्तिहरूलाई दिइसकिएको छ।
सो खोप करिब २८ दिनको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ।
खोप वितरणबारे के छ योजना?
गौतमका अनुसार मङ्गलवार आइपुग्ने नौ लाख मात्रा खोप कसलाई दिने भन्ने विषयमा ठोस निर्णय भइसकेको छैन।
कोभिड-१९ विरुद्ध खोपको राष्ट्रिय योजनाअनुसार प्राथमिकता तोकिने र त्यसै अनुसार यो खोप दिने निर्णय गरिने उनले जानकारी दिए।
"अहिले अग्रपङ्क्तिका सेवा प्रदायकपछि उमेर समूहमा हामी गएका छौँ र हामी मूलतः उमेर समूहमै केन्द्रित हुनुपर्ने म देख्छु। तर निर्णय नभइसकेको हुँदा जोखिमको स्तर हेरेर पनि हामीले खोप कहाँ दिने निर्णय गर्नुपर्ने हुनसक्छ। अर्को कुरा हामी केही क्षेत्र विशेषमा पनि जान सक्छौँ,'' उनले भने।
यसअघि चीनबाट ल्याइएको खोप सरकारले काठमाण्डू उपत्यका र आसपासका क्षेत्रमा मात्रै केन्द्रित गरेको भन्दै आलोचना भएको थियो।
गएको चैतबाट प्राध्यापक, शिक्षक, चीनमा अध्ययन गरिरहेका विद्यार्थी, चीनमा व्यापार गर्ने नेपाली, होटेलसहितका क्षेत्रमा कार्यरत व्यक्ति, सार्वजनिक सवारी साधनका चालक र सहचालकलाई उक्त उपलब्ध गराइएको छ।
यसपालि के होला त?
यस विषयमा गौतमले स्पष्ट उत्तर दिएनन्।
उनले भने, ''जोखिमको मूल्याङ्कन गरेर खोप काठमाण्डू उपत्यका र आसपास केन्द्रित गर्यौँ।"
"हामी बढी जनघनत्व भएका र जोखिम भएका ठाउँहरूको मूल्याङ्कन गरेका छौँ। यस अघिको खोप पेसा समूहमा पनि केन्द्रित गरिएको थियो। औषधि उत्पादन गर्ने कम्पनी, अक्सिजन उत्पादन गर्ने कम्पनी, इन्धन बोक्ने कामदार लगायतमा केन्द्रित भयौँ ताकि हाम्रो प्रणाली पनि चलोस् र सेवाहरू पनि निरन्तर होस्।''
६० देखि ६४ वर्षका सर्वसाधारणले खोप पाउलान्?
सरकारले खास गरी ६० वर्ष देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई खोप दिन नसकेको भनेर आलोचना खेपिरहेको अवस्थामा यसपालि पनि उनीहरूले खोप प्राप्त गर्ने नगर्ने विषय सुनिश्चित हुन सकेको देखिँदैन।
यसअघि १८ देखि ५९ वर्षसम्मका सर्वसाधारणहरूलाई भेरो सेल खोप दिइएको थियो।
त्यस्तै ६५ वर्षमाथिका केही नागरिकहरूले कोभिशील्ड खोपको एक मात्रा भए पनि प्राप्त गरेका छन्।
सरकारी प्राथमिकतामा नपर्दा ६० देखि ६४ वर्षसम्मका नागरिकले खोप प्राप्त गर्न नसकेको देखिन्छ। ।
डब्ल्यूएचओले पछिल्लो समय १८ वर्ष माथिका कसैलाई पनि 'नलगाउन नभनेसँगै' भेरो सेल ६० देखि ६४ वर्षसम्मका मानिसहरूलाई दिन मिल्ने भए पनि खोपको सीमित मात्राका कारण यस विषयमा निर्णय भइनसकेको अधिकारीहरू बताउँछन्।
खोपको मात्रा सीमित रहेको र देशैभरि पुर्याउन नसकिने हुँदा दोस्रो मात्रा पनि निश्चित गरेर मात्रै खोप लगाउनुपर्छ भन्ने विषयमा आफूहरूले छलफल गरिरहेको गौतमले जानकारी दिए।
दोस्रो मात्रा सुनिश्चित गर्दा करिब चार लाख ५० हजार देखि ५ लाख सर्वसाधारणहरूले खोप प्राप्त गर्ने अधिकारीहरूले जनाएका छन्।
"हामी छिट्टै (खोप अभियान) सुरु गर्छौँ। हामीले धेरै दिन भण्डारमा राख्दैनौँ। हामीलाई प्राप्त भएपछि खोप कहाँ पुर्याउने, के गर्ने त्यो योजना हामीले लगभग तयार गरेका छौँ। र हामी छिट्टै सुरु गर्छौँ," उनले भने।
पैसट्ठी वर्षमाथिका व्यक्तिलाई कोभिशील्ड खोप दिइएकामा हाल उक्त खोपको मौज्दात नभएको र भारतीय कम्पनी सीरम इन्स्टिट्यूट अफ इन्डियाबाट पनि तुरुन्त प्राप्त गर्ने सम्भावना कम भएको हुँदा आस्ट्राजेनेका खोपकै बनोट सूत्रका आधारमा उत्पादित अन्य खोपका लागि छलफल गरिरहेका गौतमले जानकारी दिए।
पछिल्लो सरकारी तथ्याङ्क अनुसार नेपालमा २१ लाख १३ हजार जनाभन्दा बढीले कोभिड-१९ विरुद्ध खोपको पहिलो मात्रा प्राप्त गरेका छन् भने ६,८९,५१६ जनाले दोस्रो मात्रा समेत प्राप्त गरेका छन्।
बिबिसी