कोभिशील्ड खोपको पहिलो मात्रा लगाएका झण्डै १४ लाख मानिसका लागि दोस्रो मात्रा अझै सुनिश्चित हुन नसक्दा चिन्ता बढेको छ।
कोभिशील्ड खोपको पहिलो मात्रा लगाएका मानिसका लागि दोस्रो खोप अनिश्चित देखिएपछि स्वास्थ्य अधिकारी एवं विज्ञहरूले घर्किएको समयमा जनस्वास्थ्यका मापदण्ड थप सजगतापूर्वक पालना गर्न सुझाएका छन्।
नेपाल सरकारद्वारा गठित कोभिड खोप विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेतीले ढिलोमा १२ सातामा लगाउनुपर्ने भएकाले त्यो समय कटेपछि 'खोपले दिने प्रतिरोधी क्षमता घट्दै जाँदा जोखिमको सम्भावना कायम रहने' भन्दै सजग गराएका छन्।
अक्सफर्ड/आस्ट्राजेनेकाले विकास गरेर सीरम इन्स्टिट्यूट अफ इन्डियाले उत्पादन गरेको खोपको झण्डै १४ लाखले पहिलो मात्रा मात्र लिएको सरकारी विवरण छ।
विज्ञ समितिका डा. उप्रेती भन्छन्, "सुरुमा सोचिएभन्दा केही पछि नै भए पनि खोपको दोस्रो मात्रा लगाएपछि रोगसँग लड्ने क्षमता पुनः फर्कने भनिएकाले मानिसहरू आत्तिनु पर्दैन। तर स्वास्थ्य मापदण्ड होसियारीसाथ पालना गर्नुपर्छ।"
मानिसमा चिन्ता
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओको पछिल्लो सिफारिसअनुसार ८ देखि १२ साताको बीचमा कोभिशील्डको दोस्रो मात्रा लगाउनु सबैभन्दा उपयुक्त हुन्छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले यस खोपको पहिलो मात्राको असर कुन समयमा ठ्याक्कै खस्किन सक्छ भन्ने तथ्य हालसम्म गरिएका अध्ययनहरूले स्पष्टसँग भन्न नसकेको बताउँछन्।
उनी भन्छन्, "सुरुमा ४ साताभित्र लगाउनुपर्ने भनिएको यो खोपबारे ज्ञान बढ्ने क्रममा केही देशहरूले १६ सातापछि पनि लगाउन थालेका पाइन्छ।"
तर त्यसपछिको अवस्थाका लागि भने धेरै 'जोखिम उठाउन उपयुक्त नहुने' उनको मत छ।
आस्ट्राजेनेकाले फेब्रुअरीमा प्रकाशित गरेको एक अध्ययनको निष्कर्ष अनुसार पहिलो मात्रा लगाएको २२ दिनपछि यो खोप मध्यमखाले रोगका लागि ७० प्रतिशत प्रभावकारी हुने एवं गम्भीर रोग अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु हुने अवस्थाका लागि शतप्रतिशत प्रभावकारी हुने जनाएको थियो।
डा. पुन थप्छन्, "पहिलो मात्राको प्रभावकारिता खस्कनु अघि नै त्यसलाई उकास्नका लागि दोस्रो पूर्ण मात्रा दिन नसकिए यसअघि यो खोप लगाएका धेरैजसो ६५ वर्ष माथिको उमेर समूहका मानिसहरू पुन: जोखिमको अवस्थामा फर्कन सक्ने त्रास रहन्छ।"
विकल्प के?
नेपालले भारतीय उत्पादकसँग किनेको २० लाख डोज कोभिशील्ड खोपमध्ये आफ्नो भण्डारण क्षमताका अभावका कारण सुरुमा १० लाख मात्र ल्याएको थियो।
त्यसबाहेक भारतीय अनुदानमा सोही खोपको नेपाली सेनालाई एक लाख छुट्टै समेत गरी ११ लाख मात्रा र तीन लाख ८० हजार अन्तर्राष्ट्रिय कोभ्याक्स कार्यक्रममार्फत् आएको थियो।
भारतमा महामारीको दोस्रो घातक लहर देखा परेसँगै यतिखेर विश्वको सबैभन्दा ठूलो खोप उत्पादक देशले खोपको निर्यात रोकेको छ।
खोप विज्ञ समितिका डा. उप्रेती भन्छन्, "कोभिशील्ड पाएकालाई आस्ट्राजेनेकाको दोस्रो मात्रा दिन सकिने भएकाले अहिले त्यसका लागि अन्य उत्पादकहरूसँग समेत पहल भइरहेको छ। तर नतिजा देखिने अवस्था आइसकेको छैन।"
उनले कोभ्याक्स कार्यक्रमलाई समेत कम्तीमा १४ लाखका लागि कोभिशील्ड खोप उपलब्ध गराउन पहल गरिएको बताए।
कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपालका लागि छुट्ट्याइएको १९ लाख २० हजार मात्र खोपमध्ये झण्डै साढे १५ लाख बाँकी मात्रा आउन बाँकी छ
डा. उप्रेतीको भनाइ छ, "दोस्रो मात्रा अहम् नै छ। तर केही ढिलो दिइए पनि त्यो दोस्रो खोपकै रूपमा काम गर्छ।"
चिनियाँ खोपमा 'समस्या छैन'
नेपालले अहिलेसम्म भारतमा उत्पादन गरिएको कोभिशील्ड र चीनमा उत्पादन गरिएको भेरोसेल खोप मात्र नेपाल भित्र्याएको छ।
चिनियाँ खोपको हकमा सरकारले पहिल्यै दुवै मात्रा सुनिश्चित गरेर मानिसहरूलाई लगाइएको डा. श्यामराज उप्रेती बताउँछन्।
मङ्गलवार नेपाल आएको ९ लाख र यसअघि अनुदानमा दिइएको ८ लाख खोप गरेर कुल ९ लाखले उक्त खोप लगाउन पाउनेछन्।
नेपालमा जोखिमपूर्ण समूहमा रहने जनसङ्ख्याको झण्डै २० प्रतिशतका लागि खोप सक्दो छिटो आवश्यक पर्ने बताइन्छ।
नेपालमा खोप
चिनियाँ खोपको दोस्रो खेप मङ्गलवार आउनु अघिसम्म नेपालमा ३२ लाख ४८ हजार मात्रा खोप अनुदानमा आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरण छ।
नेपाल आइपुगेको खोपमध्ये २६ लाख ६५ हजार भन्दा केही बढ्ता मात्रा खोप लगाइसकिएकोमा दोस्रो पूर्ण मात्रा पूरा गर्नेको सङ्ख्या ५ लाख ५३ हजार जति मात्र रहेको सरकारी विवरण छ।
स्वास्थ्य मन्त्रालयले यसअघि नै कोभिड खोप किन्नका लागि भारतका कोभिशील्ड र कोभ्याक्सिन, चीनको भेरोसेल, रुसी स्पुत्निक भी, अमेरिकाको जोन्सन एन्ड जोन्सन र यूकेको आस्ट्राजेनेका खोप किन्न उत्पादक कम्पनीहरूलाई अनुरोध गरेको जनाएको छ।
तर नेपालमा अहिलेसम्म कोभिशील्ड, कोभ्याक्सिन, भेरोसेल र स्पुत्निक भी खोपलाई मात्र आपत्कालीन प्रयोगको अनुमति दिइएको छ।
बिबिसी