काठमाडौं - शिशु र बालबालिकाको उमेर, विकासात्मक अवस्था, क्षमता अनुसार सरसफाई गरीदिने र सिकाउने पनि गर्नुपर्छ ।
बालबालिकालाई नुहाउने, दाँत सफा गरिदिने, हात खुट्टा धुने, समय समयमा नङ काट्ने, कपाल काट्ने गरीदिनुका साथै सिकाउनुपर्छ ।
नवजात शिशुलाई २४ घण्टासम्म नुहाइदिनु हुँदैन । चिकित्सकका अनुसार स्थानीय मौसम अनुसार स्वस्थ शिशुलाई मन तातोपानीले हप्तामा दुई पटक नुहाइदिनुपर्ने चिकित्सकहरु सुझाव दिन्छन् । तर अस्वस्थ, कमतौलको शिशुलाई नुहाएमा समस्या आउने हुनाले स्वास्थकर्मीको सल्लाह बमोजिम मात्रै नुहाइदिनुपर्छ ।
शिशु तथा बालबालिकालाई नुहाइदिनु अघि सफा लुगा, रुमाल, साबुन, मनतातो पानी, बस्ने बाटा वा पिड्का, मग, खाली बोतल, तैरने खेलौना आदि तयार गर्नुपर्दछ ।
बालबालिकालाई कसरी नुहाउने क्रियाकलाप बारे रमाइलो ढङ्गले बताउनुपर्छ । पहिले पानी, साबुन मिसाएर फिंज निकालेर उनीहरूलाई खेल्न दिनुपर्छ । बाटा वा पीड्कामा बसेपछि खुट्टाको सफाईदेखि शुरु गरेर कुमसम्म साबुन लगाउन उनीहरूलाई प्रोत्साहन गर्नुपर्दछ र पानीले पखालिदिनुपर्दछ ।
अब शिशु र बालबालिकालाई आफ्नो काखमा लिएर कपाल नुहाइदिनुपर्छ । आँखा, कान, नाकभित्र नपर्ने गरी पखाली दिनुपर्छ । पुछ्नको लागि उनीहरूलाई आफैलाइ पनि प्रोत्साहन गर्नुपर्छ । लुगा लगाउने क्रममा लुगाको नाम, यसको रङ, आकार बारे बताउनुपर्छ । त्यसैगरी टाँक, हुक, जिपर लगाउन सिकाउनुपर्दछ ।
शिशु र बालबालिकालाई सरसफाई र नुहाइसकेपछि सफा लुगा लगाउन र लगाइसकेको लुगाहरू धुनुपर्छ भन्ने बताउनुपर्दछ । बालबालिकालाई मौसम र स्थानीय वातावरण अनुसार नियमित हप्ताको २ पटक मनतातो पानीले नुहाइदिने र लुगा कपडाहरू धोइ दिनुपर्दछ ।