- डा. प्रदिप पाण्डे
काठमाडौं - स्व- हेरचाह भनेको आफ्नो हेरचाह गर्नु हो। सामान्यतया ,धेरै अवस्थामा हामी आफू बाहेक अरुमा ( परिवार, बाल-बच्चा ,काम आदिमा) यति धेरै उल्झेको हुन्छौं कि आफ्नो लागि समय निकाल्न सकेको हुँदैनौं र आफ्नो मानसिक, शारीरिक,भावनात्मक स्थितिप्रति अनविज्ञ हुन्छौं।आफ्नो आवश्यकताअनुसार विभिन्न पक्षबाट व्यक्ति आफैँले गर्ने स्याहर र हेरविचार नै स्व- हेरचाह हो। दैनिक जीवनका आफ्नो निम्ति गरिने विभिन्न गतिविधिहरू ;उचित खानपान, नुहाउनु, आफ्नो भावनाहरू मनमिल्ने व्यक्तिलाई पोख्नु, ध्यान गर्नु, मनोविमर्शमा जानु आदि स्व- हेरचाहकै बिधिहरु हुन्।
कतिपय व्यक्तिले स्व- हेरचाहलाई, स्वार्थपनसँग नि जोडिएको पाईन्छ तर स्व- हेरचाह गर्नु, स्वार्थी हुनु भने पक्कै होइन । स्व- हेरचाह त प्राथमिकता हो, विलासिता होइन।आफ्नो स्वस्थ जीवनशैलीतिर, सकारात्मक दृष्टिकोणतर्फ चालिएको महत्त्वपूर्ण कदम हो। आफ्नो मन ,शरीर,आत्माको ख्याल गर्नु स्वार्थ कदापि हुन सक्दैन ।
मैले स्व- हेरचाह किन गर्नुपर्छ?
आफु स्वयमसँगको सम्बन्ध सुमधुर पार्न स्व- हेरचाह आवश्यकता छ। यदि तपाई मानसिक, शारीरिक,भावनात्मक,आध्यात्मिक आदि विभिन्न रुपमा स्वास्थ्य हुनुहुन्छ भने,तपाईले आफु लगायत अरुलाई पनि सकारात्मक भाव प्रवाह गर्नसक्नुहुन्छ।दैनिक रुपमा आइपर्ने तनाव कम गर्न, सकरात्मक सामनाका विधि अपनाउन पनि स्व- हेरचाहको विशेष भूमिका हुन्छ।जीवनलाई सन्तुलित तवरले, आत्मसम्मान र आत्मविश्वासका साथ अघि बढाउँन मद्धत गर्छ।
जब तपाईं आफ्नो स्व- हेरचाहको लागि पर्याप्त ध्यान दिनुहुन्छ, तपाईं आफ्नो आवश्यकताहरूप्रति अझ बढी सजग बन्दै जानुहुन्छ र आफ्नो परिमार्जित रुपमा विकसित हुन सक्नुहुन्छ।फलस्वरुप, तपाई आफ्नो वरपरको वातावरणलाई पनि उर्जाशील र आनन्ददायी बनाउनु सक्नुहुन्छ। त्यसको साथ-साथै आफ्नो हेरचाहको निम्ति समय निकाल्नेले बानीले, अन्य व्यक्तिलाई पनि तपाईंको आवश्यकताहरूप्रति सचेत गर्न सक्नुहुन्छ।
महामारी र स्व- हेरचाह
कोरनाको कहर यथावत रहेको अवस्थामा,विभिन्न दृष्टिकोणबाट मानिसको जीवन सोचे जस्तो रुपमा चल्न सकिरहेको छैन। मानसिक समस्या दिनहुँ बढेको अवस्थामा, यो महामारीको प्रतिकुलतामा पनि संयमित भएर आफ्नो स्वास्थ्यको ख्याल राख्नु अत्यन्त जरुरी छ।यस संकटको परिस्थितीमा तनावका कारण, मानिसमा मनोसामाजिक समस्याहरु(psychosocial problems), मनोवैज्ञानिक वा मानसिक रोग पनि देखापर्न संभावना बढी रहन्छ।त्यसैले महामारीको अवस्थामा झन्, स्व- हेरचाह महत्वपूर्ण हुन्छ। विभिन्न पक्षबाट आफ्नो हेरचाह गर्न सकिन्छ जस्तै:
१ शारीरिक पक्ष (Physical self care)- सामान्यतय शरीरको ख्याल राख्नु, शारीरिक हेरचाहमा पर्दछ। आराम, सरसफाइ, सजिलैसँग पच्ने तथा पौष्टिक खानपान,पर्याप्त निन्द्रा, यौन इच्छा आदि पर्दछ। अहिलेको समयमा खानेकुरामा लापरवाही, जाँडरक्सी तथा लागुपदार्थको सेवनमा ज्यादा संलग्ननता शारीरिक हेरचाह नगरेको दृष्टान्त हो।
२ भावनात्मक पक्ष (Emotional self care)- हरेक दिनहुँजसो, तपाईले अर्को व्यक्तिलाई “तपाइँलाई कस्तो छ ? भनेर सोध्नुभएकै हुन्छ तर विचार गर्नुहोस् त, तपाईले आफुलाई यो प्रश्न कत्तिको गर्नुभएको छ? कहिल्यै, “आज मलाई कस्तो महसुस भएको छ? भनेर प्रश्न गर्नुभएको छ? बेला-बेलामा आफ्नो भावनाको सम्पर्कमा रहने,आफ्ना मनोभाव आफ्नो मिल्ने व्यक्तिलाई सुनाउने आफ्ना भावनालाई कुनै सृजनात्मक माध्यमबाट (नृत्य, गाएन,चित्र, कविता,कथा) व्यक्त गर्ने,,आफु र अरुप्रति दया भाव राख्ने सबै भावनात्मक हेरचाहमा पर्छन्।
३ सामाजिक पक्ष (Social self care)- हामीले सुन्दै र देख्दै आएको कुरा के हो भने, हामी सामाजिक प्राणी हौं र यही समाजमा धेरै समयदेखि बस्दै आएका छौं। समाजका मिल्ने साथि संग आफ्नो समूह बनाउने, मनका कुरा वा विचार साटासाट गर्ने,एउटा उचित वातावरण सृजना गर्ने,आफ्नो समाजलाई सक्दो के दिन सकिन्छ हेर्ने सामाजिक स्व-हेरचाहमा पर्दछ।
४ आध्यात्मिक पक्ष (Spiritual self care) -हामीलाई आध्यात्मिक देख्ने बित्तकै,धर्म ,योग, ध्यान आउन सक्छ तर आध्यात्मिक स्व- हेरचाहको लागि धार्मिक हुनु आवश्यक छैन। प्रकृतिमा केही समय रमाउने,हरेक दिन एकछिन शान्त भएर बस्ने,आफ्नो लागि समय छुट्याउने,आफ्नो जीवनका मूल्य मान्यताहरु केलाउने,आत्म विश्लेषण गर्ने, ध्यान तथा योगा गर्ने , श्वास प्रस्वासको व्यायाम गर्ने, आध्यात्मिक सङ्घसंस्थासँग सम्बन्धित हुने आदि क्रियाकलापले आध्यात्मिक स्व- हेरचाहमा योगदान पुर्याउँछ ।
५ व्यक्तिगत पक्ष (Personal self care)- व्यक्तिगत स्व- हेरचाहको सन्दर्भमा,तपाईको अहिलेको आवश्यकता के हो? त्यसको पहिचान गर्नुपर्छ।के तपाईलाई अहिले को समय आराम चाहिएको छ? वा आफ्नो जीवनको लागि योजना,लक्ष्यहरू औंल्याउनु छ? कसैलाई सङ्गीत सिक्न,किताब पढ्ने, लेख्ने, रुचि होला, कसैलाई नयाँ- नयाँ परिकार बनाउन। दैनिक कार्य तालिका बनाएर दिनचर्यालाई सामान्य बनाउने ईच्छा राख्नु पनि व्यक्तिगत स्व- हेरचाहमा पर्छ। यी विभिन्न या कुराहरुले आफूलाई व्यस्त तथा सक्रिय राखेर आफ्नो हेरचाह गर्न सकिन्छ।
६ पेशागत पक्ष (Professional self care) - स्व- हेरचाहको पक्षहरु नियाल्दै गर्दा, आफ्नो काम प्रतिको सीमाहरूमा सतर्क हुनु , कुनै कुरामा असन्तुष्ट छ भने, “NO” भन्न सिक्नु, बेला मौका कामबाट विश्राम लिनु, छुट्टीको सदुपयोग गर्नु,कामका आफ्ना साथीभाईसँग सौहाद्रपूर्ण वातावरण बनाउनु, एक अर्कालाई सहयोग गर्नु आफ्नो हेरचाह गर्नु हो् ।लकडाउनको अवस्थामा कुनै व्यक्तिले लोकसेवा तयारीको लागि विभिन्न पुस्तकहरु पढ्ने गर्नुभएको छ भने,यो पनि Professional self care हो जसले गर्दा सो व्यक्तिको पेशागत विकासमा मद्दत पुग्नेछ।