सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् बैठकले बुधबार अस्पताललाई प्रादेशिक बनाउने निर्णय गरेको हो। यसअघि महाकाली अञ्चल अस्पताल प्रदेश सरकार मातहत आएपछि महाकाली अस्पताल बनाइएको थियो।
कञ्चनपुरका प्रदेशसभा सदस्य लालबहादुर खड्का सामाजिक विकासमन्त्री भएपछि महाकाली अस्पताललाई प्रादेशिक बनाइएको हो। मन्त्री खड्काको प्रस्तावमा मन्त्रिपरिषद्ले प्रादेशिक बनाउने निर्णय गरेको हो। अघिल्लो हप्ता मन्त्री भएका खड्काको महाकाली अस्पताल बनाउने यो पहिलो निर्णय हो। 'मन्त्री भएपछि महाकाली अस्पताल बनाउने पहिलो निर्णय गरिएको छ', मन्त्री खड्काले भने, 'अब महाकाली पनि सेती अस्पतालकै हैसियतमा आएको छ।'
महाकाली अस्पताललाई प्रादेशिक बनाउन महाकाली अस्पताल व्यवस्थापन समितिले शुरुदेखि प्रदेशसभा सदस्यलाई दबाब दिँदै आएको थियो। 'महाकाली अस्पताललाई प्रादेशिक बनाउन शुरुदेखि नै आवाज उठ्दै आएको थियो। आज त्यसलाई सम्बोधन गरिएको छ', मन्त्री खड्काले भने।
महाकाली प्रादेशिक अस्पताल भएपछि सेती अस्पतालझै सेवा सुविधा विस्तार, जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार निर्माणलगायतका कार्य हुने छन। प्रदेश सरकारको निर्णयपछि सुदूरपश्चिममा महाकाली र सेती दुई प्रादेशिक अस्पताल भएका छन्।
यसअघि प्रदेश सरकारले सेतीलाई प्रादेशिक र कैलालीको टीकापुरलाई उपप्रादेशिक अस्पताल बनाएको थियो। महाकाली अस्पताललाई टीकापुरसरह उपप्रादेशिक बनाउन प्रदेश सरकार इच्छुक देखिएको थियो। महाकाली अस्पताल व्यवस्थापनले उपप्रादेशिकमा विमति राखेपछि महाकाली अस्पताल बनाइएको थियो।
महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले प्रादेशिक बनाउनुपर्ने माग सम्बोधन गरिएको बताए। 'प्रादेशिक बनाउनुपर्ने माग विगतदेखि राख्दै आएका थियौँ। यसपटक मन्त्रीले माग पूरा गरिदिनुभयो', अध्यक्ष जोशीले भने।
चिकित्सक नहुने अस्पतालमा अहिले विशेषज्ञसहित २८ जना कार्यरत छन्। विसं २०३४ मा प्राथमिक स्वास्थ्य केन्द्रबाट स्थापना गरिएको महाकाली अञ्चल अस्पताल विसं २०४३ मा अञ्चल अस्पताल बनेको थियो।
रासस