काठमाण्डू उपत्यकासहित देशका विभिन्न जिल्लामा कोभिड नियन्त्रण गर्न निषेधाज्ञा सुरु भएको एक महिना बितिसकेको छ। तर महामारी "अपेक्षित रूपले नियन्त्रणमा नआएको" स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताएका छन्।
डा. कृष्णप्रसाद पौडेल भन्छन्, "अवस्था सामान्य हुन समय लागिरहेको छ। निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पालनामा अझै जोड दिनुपर्ने देखिएको छ।"
परीक्षण गराउन गएकामध्ये ३० प्रतिशतको हाराहारीमा अझै दैनिक सङ्क्रमित भेटिनु "उच्च जोखिमकै अवस्था" रहेको प्रवक्ता पौडेल बताउँछन्।
कोभिडका कारण दैनिक मृत्यु पुष्टि गरिने सङ्ख्या वैशाख २६ यता १०० नाघेकोमा यसबीचमा दुई दिन मात्र १०० भन्दा कम भएको देखिन्छ।
यसबीचमा एकैदिन करिब १० हजार नयाँ सङ्क्रमित भेटिएका बेला जेठ ५ मा अहिलेसम्मकै धेरै २४६ जनाले कोभिडसँग सम्बन्धित कारणले ज्यान गुमाएको पुष्टि भएको थियो।
'उच्चबिन्दु पार'
स्वास्थ्य अधिकारी एवं जनस्वास्थ्य विज्ञहरूले यसबीचमा नेपालले कोरोनाभाइरस महामारीको दोस्रो लहरमा उच्चबिन्दु पार गरिसकेको औँल्याएका छन्।
काठमाण्डू विश्वविद्यालयमा जनस्वास्थ्य विभागकी सहप्राध्यापक डा. अर्चना श्रेष्ठले "अहिलेको समय प्राकृतिक रूपमै भाइरस कम फैलिने अवस्थामा" रहेको बताउँछिन्।
तर त्यसलाई जोखिम घटेको रूपमा बुझ्न भने नहुने उनको तर्क छ।
"हामीले जसरी घट्यो भन्ने सोचिरहेका छौँ, अवस्था त्यति सहज चाहिँ होइन। सहज अवस्था भन्नका लागि परीक्षण गराएकामध्ये ५ प्रतिशतभन्दा कममा सङ्क्रमण देखिनुपर्छ।"
यसअघि नेपालका स्वास्थ्य अधिकारीहरू एवं विज्ञले भारतमा सङ्क्रमण उच्चबिन्दुमा पुगेको एक महिनामा नेपालमा पनि सङ्क्रमणको सङ्ख्या उत्कर्षमा पुग्ने चेतावनी दिएका थिए।
"त्यो अवस्था चाहिँ हामीले पार गरिसकेको देखिन्छ। केही दिन लगातार ९,००० भन्दा धेरै सङ्क्रमित पाइएको समय हाम्रो उच्चबिन्दु थियो," इपिडिमियोलोजिस्ट समेत रहेकी डा. श्रेष्ठले बीबीसीलाई भनिन्।
"लकडाउन खुकुलो गर्दा व्यवस्थित उपायहरू अपनाएनौँ भने त्यो केही बढ्न सक्छ तर यो दोस्रो लहरमा सायद त्यस्तो उच्च सङ्क्रमण अब देखिँदैन।"
प्रभाव
यतिखेर नेपालका ४८ भन्दा धेरै जिल्लामा सक्रिय सङ्क्रमितहरू रहेको सरकारी विवरण छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलले निषेधाज्ञा कहिलेबाट खुलाउने भन्ने निर्णय अस्पतालको नियमित क्षमताले बिरामीको चाप धान्न सक्ने अवस्था आएपछि लिइने बताउँछन्।
उनले अस्पतालमा चाप 'पछिल्ला दिनमा केही सहज' भए पनि सामान्य अवस्थामा आइनसकेको बताए।
यसबीचमा अधिकांश सरकारी अस्पतालहरू कोभिड अस्पतालका रूपमा तयार पारिएकाले त्यहाँ बहिरङ्ग र अन्य नियमित स्वास्थ्य सेवा प्रभावित भएका पाइन्छन्।
लकडाउनका बेला आवागमन ६० देखि ७० प्रतिशतका हाराहारीमा मात्र घटेको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार घरबाहिर निस्किँदा मास्क लगाउने मानिसहरू ७५ प्रतिशतजति छन्।
कडा निषेधाज्ञा हुँदा सामान्यतया दुई सातामा सङ्क्रमणको साङ्लो भङ्ग हुने ठानिने भए पनि मानिसहरू स्वयं सचेत नहुँदा त्यसको प्रतिफल अपेक्षित रूपले नआइरहेको स्वास्थ्य अधिकारीहरूको मत पाइन्छ।
"मुख्य मुख्य ठाउँमा प्रहरीलाई झुक्याउने र गाउँघरमा निषेधाज्ञा नटेरेर सामाजिक कार्यक्रमहरू गरिँदा मानिसहरू सङ्क्रमित भएका छन्," प्रवक्ता डा. पौडेलले भने।
काठमाण्डू विश्वविद्यालयकी डा. अर्चना श्रेष्ठका अनुसार ८० देखि ९० प्रतिशत आवागमन रोकिएका निषेधाज्ञाहरूले छिटो नतिजा दिने गरेको तर नेपालमा त्यसो हुन सकेको छैन।
उनले भनिन्, "सङ्क्रमित हुने दर ५ प्रतिशतभन्दा कममा झार्न सकिएको भए बल्ल हामीले त्यसको प्रवृत्ति केलाउँदै सहज ढङ्गले नियन्त्रणका प्रयास गर्न सक्थ्यौँ।"
कोभिड-१९ विरुद्धको खोप पाउनेहरूको सङ्ख्या नबढाउँदासम्म निषेधाज्ञा वा लकडाउनले मात्र सङ्क्रमणको साङ्लो भङ्ग गर्न कठिन हुने विज्ञहरूले बताउँदै आएका छन्।
परीक्षण किन कम?
महामारीको यस लहरमा पहिलेभन्दा फरक किसिमले सङ्क्रमण गाउँगाउँसम्म व्यापक रूपमा फैलिएको पाइएको स्वास्थ्य अधिकारीहरूले बताउने गरेका छन्।
उनीहरूको वास्तविक अवस्था बाहिर थाहा नभइरहेको र पहिले जसरी अहिले सङ्क्रमितका 'कन्ट्याक्ट ट्रेसिङ' अर्थात् सङ्क्रमितको संसर्गमा आएका व्यक्ति पहिचान गर्ने काममा जोड नदिइँदा वास्तविक अवस्था बाहिर नआएको भन्दै विज्ञहरूले आलोचना गरेका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेल समेत समुदाय स्तरमा पर्याप्त परीक्षण हुन नसकेको स्वीकार गर्छन्।
उनको भनाइ छ, "परीक्षण गराउन आवश्यक सबै जाँचका लागि नगएको अवस्था सही हो। लक्षण देखिएकाहरू मात्र परीक्षण गराउन जाने प्रवृत्ति देखिन्छ। र उनीहरूमध्ये धेरै पोजिटिभ देखिने नै भए।"
तर अधिकांश ग्रामीण भेगलाई लक्षित गरेर पठाइएका ११ लाखभन्दा धेरै एन्टिजन किटका विवरण समयमा नआउने र त्यहाँ परीक्षणका लागि नै समेत चासो नदिइनु दुवै त्यसका अन्य कारण रहेको स्वास्थ्य अधिकारीहरूको भनाइ पाइन्छ।
काठमाण्डू विश्वविद्यालयकी डा. श्रेष्ठले कम परीक्षण भएको भए पनि त्यसले नेपालको समग्र अवस्थाको चित्र भने देखाइरहेको बताउँछिन्।
बिबिसी