काठमाडौं - दम रोग सामान्यता सबै उमेरको व्यक्तिमा देखिन्छ तर खास गरेर दम रोग बच्चा र बृद्धामा बढि भेटिएको पाइन्छ । दम रोग एक वशाणुगत रोग पनि हो । दम रोग लाग्नुको कारण र यसबाट बच्नका लागि के गर्न सकिन्छ यस्तै जिज्ञासाहरु मेटाउनका लागि बरिष्ठ फिजिसियन डा. प्रभाव उपाध्याय सँग गरिएको कुराकानी को आधारमाः
दम सामान्यतया बच्चाहरुमा बढि देखिने र त्यस पछि उमेर ढल्केको व्यक्तिमा बढि लाग्न रोग हो । उमेरका हिसाबले दम दुई किसिमको हुन्छ । बच्चाहरुमा लाग्ने दमलाई सामान्य भाषमा भन्नु पर्दा आस्थमा भन्छौँ र उमेर अलि बढि भएको मान्छेहरुमा सि.ओ.पि.डि भन्छौँ यो प्राय: जसो चुरोट खाने मान्छेलाई अथवा जो मान्छेहरु धुवा धुलोमा बढि हिड्ने गर्दछन् उनहरुलाई लाग्ने गर्दछ । त्यसै अनुसार कारणहरु भन्नु पर्दा बच्चाहरुमा जुन बच्चा उमेर नपुगि जन्मेका हुन्छन् ( ९ महिना नपुगी जन्मेका हुन्छन ) जुन बच्चाहरुमा कुपोषण हुन्छ जन्मिसके पछि राम्रो सँग खान नपाउँदा , राम्रो सँग हुर्किन नपाउँदा त्यस्तो बचचालाई प्राय दम लाग्ने सम्भावना हुने गर्दछ ।
कतिपय दम वंशाणुगत पनि हुन्छ । कुनै आमालाई अथवा बुवालाई दम छ भने त्यो बाट जन्मने बच्चालाई पनि दम हुने शंका हुन्छ । अलि उमेर पुगेकालाई दम हुनुको मुख्य कारण चुरोट हो । जुन व्यक्तिले चुरोटको अधिक सेवन गर्दछन् त्यस्तो व्यक्तिको फोक्सोमा असर गरि सि.ओ.पि.डि वा दम हुने गर्दछ ।
उमेर पुगेका मानिसहरुमा दम हुनुककको अरु कारण भनेको धुवा, धुलो हो । पहिला पहिला खाना पकाउदा दाउराको प्रयोग गरिन्थियो । सानो भान्छामा जाँहा हावा राम्रो सँग बाहिर भित्र गर्न पाउदैन त्यस्तो ठाँउमा दाउराले निकालेको धुवा पनि चुरोटकै धुवा समान हुने भएकाले यस्तो ठाँउमा काम गर्ने व्यक्तिलाई पनि दम हुने गर्दछ । दम हुने मुख्य मौसम भनेको अलि जाडो लाग्ने समयमा वा मौसम परिवर्तन हुने बेलामा प्रायः बढि लाग्दछ अथवा दम भको मानिसको दम बढ्ने गर्दछ ।
बढि उमेर भको मान्छेलाई पिसाबको इन्फेक्सन भयो वा पेटमा जुका पर्यो भने दम बढ्ने गर्दछ । कतिपय व्यक्तिहरुलाई दम भई सकेको छैन् तर औषधिको सेवन पश्चात दम देखापर्ने गर्दछ । दमबाट बच्ने उपाय भनेको आफुलाई चिसो बाट जोगीएर न्यानो राख्ने , चिसो ठाँउमा बस्नु भएन र बच्चाहरुलाई दम ऐल्र्जीको कारणले हुने भएकोले आफुलाई के कुरामा ऐल्र्जी छ त्यो थाहा पाउने र त्यस्तो कुराहरुबाट टाडा बस्ने , धुवामा जानु भएन , यदि जानुछ भने माक्सको प्रयोग गर्ने, धेरै बेर सम्म नबस्ने र उमेर बढि भएको मानिसहरुले खानपानमा राम्रो सँग ध्यान दिनुपर्ने । रोग सँग लड्ने प्रतिरक्षाप्रणालि बलियो बनाउँने र चुरोट , खैनिको सेवन नगर्ने ।