बच्चा जन्मिनासाथ उसको श्वासप्रश्वासको मूल्यांकन गर्ने र उसको नाभी काटी नवजात शिशुलाई तल्कालै कृत्रिम श्वासप्रश्वास दिनुपर्छ । बच्चाको स्वास्थ्यका बारेमा चिकित्सक–नर्स सबै चनाखो भएर बस्नुपर्ने हुन्छ । जन्मनासाथ प्रयोग भएका कतिपय कपडा भिजेका हुन्छन् । यस्तो कपडालाई बच्चाको शरीरबाट हटाउनुपर्छ ।
बच्चा नजन्मिदासम्म जति चिन्ता हुन्छ, जन्मिसकेपछि झन् बढी चिन्ता हुने गर्दछ । बच्चाले जन्मिएपछि सामान्य रूपले श्वास लिएको छ÷छैन ख्याल गर्नुपर्दछ । बच्चाको नाभीमा केही नलगाउने र यसलाई सफा र सुक्खा बनाएर राख्नुपर्छ । अभिभावकले शिशुलाई संक्रमणबाट बचाउन नाभीको सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।
शिशु जन्मिनासाथ नाभी काट्ने गरिन्छ । गरिब, अशिक्षा र अज्ञानताका कारण अझै धेरै मानिस बच्चाको नाभी काट्दा घरायसी औजारहरू, खुकुरी, चुलेसी, कैँची, ब्लेड आदि प्रयोग गरेको पाइन्छ । यसको प्रयोग गरेर बच्चाको नाभी काट्दा संक्रमण हुने गर्दछ ।
विशेषगरी, सबैले ध्यान दिनुपर्ने र जान्नुपर्ने कुरा भनेको नाभी काट्दा निर्मलीकृत औजारको मात्र प्रयोग गर्नुपर्दछ । मुख्यतया धागोले नाभीलाई राम्रोसँग बाँधेको खण्डमा संक्रमणबाट जोगाउन सकिन्छ ।
शिशुको नाभीबाट रगत आएको छ वा छैन हेर्ने । बच्चाको नाभीमा केही पनि नलगाई खुला छोडिदिनुपर्दछ । बच्चामा संक्रमण हुने स्थान नाभी नै भएका कारण छुँदा पनि हात राम्रोसँग धोएर मात्रै छुने गर्नुपर्दछ ।
हाम्रो गाउँघर या कतिपय सहरी क्षेत्रमै पनि बच्चा जन्मनासाथ सफा गरेर कपडामा सुताउने चलन अझै पनि पाइन्छ । तर, यसो गर्नु बच्चाको स्वास्थ्यका लागि हानिकारक मानिन्छ । विशेषगरी, न्यानो पारेर शिशुलाई आमाको नांगो छातीमा टाँसेर राख्ने अनि न्यानो र सुक्खा कपडाले छोपिदिने गर्नु उत्तम मानिन्छ ।