भक्तपुर- सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेलमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण गरी स्थानान्तरण गर्ने भएको छ। नेपाल र भारतबाट आउने बिरामीको चाप बढ्दा भवन अभाव भएपछि मन्त्रिपरिषद्ले झौखेलमा अस्पतालको भवन निर्माण गर्ने निर्णय गरेसँगै कहाँ बन्ला भन्ने अन्योल हटेको छ।
सरकारले साविक झौखेल गाविसको वडा नं ३ को कित्ता नं १ मा रहेको छ रोपनी एक आना दुई पैसा, सोही ठाउँमा रहेको कित्ता नं ११३ को २५ रोपनी पाँच आना दुई पैसा गरी करिब ३२ रोपनी क्षेत्रफल रहेको उक्त सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने कार्यनीति, २०७१ (संशोधनसहित)को दफा १२ (४) र दफा ५ को देहायको खण्ड (ग) बमोजिम ३० वर्षका लागि भाडामा दिने निर्णय गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए ।
मन्त्रिपरिषद्को निर्णयसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको भूमि व्यवस्थापन तथा अभिलेख विभागले यही जेठ १७ गते भूमिसुधार तथा मालपोत कार्यालयलाई मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि पत्र पठाएपछि जिल्ला मालपोत कार्यालय भक्तपुुरले २०७८ जेठ १८ गतेदेखि २१०८ जेठ १७ गतेसम्म जग्गा लिजमा दिने सम्झौता गरेको छ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भक्तपुरका निवर्तमान सांसद एवं पूर्वमन्त्री महेश बस्नेत, एमाले जिल्ला अध्यक्ष बचन देउजा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापासहितको पहलमा झौखेलमा उक्त अस्पताल निर्माण गर्ने निर्णय गराउन सफल भएको नगरप्रमुख मिश्रले बताए।
चाँगुनारायणकै दुवाकोटमा वीर अस्पतालसमेत निर्माण गर्न नेता बस्नेतकै नेतृत्वमा नगरप्रमुख मिश्र, जिसस प्रमुख गेलालसहितको टोलीको लामै पहलपछि सरकारले आगामी तीन वर्षभित्र अस्पतालको सबै भवन निर्माण गरेर पूर्णरूपमा सञ्चालनमा ल्याउने गरी बजेटसमेत विनियोजन गरेको छ।
विसं २०७५ साउन २१ गते चाँगुनारायणकै वडा नं ७ बागेश्वरीको ७० रोपनी जग्गा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई दिने नगरपालिकासहित सरोकारवाला निकायले सहमति गर्दै सरकारलाई पत्राचार गरेको तर अस्पताल प्रशासनले उक्त जग्गा अस्पतालका लागि टाढा भएको, पायक नपरेको र अन्त जग्गा नपाए मात्रै विकल्पको रूपमा राख्ने भन्दै चासो नदिएपछि अन्यत्र जग्गा खोजी भएको थियो।
रासस