काठमाडौं - स्तनपान आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो ।
स्तनपानले बालबालिकालाई उनीहरुको जीवनको उत्कृष्ट शुरुवातको सम्भावना दिने बिशेषज्ञहरु बताउँछन् । आमाको दूध शिशुका लागि अमृत समान हुन्छ। स्तनपान शिशु र आमा दुवैको स्वास्थ्यका लागी राम्रो हुन्छ।
शिशु जन्मिएको एक घण्टाभित्रै आमाको दूध चुसाउनुपर्ने चिकित्सकहरु बताउँछन । आमाको पहेँलो बिगौती दूधमा रोगसँग लड्न सक्ने तत्व हुन्छन् । यो नवजात शिशुका लागि पहिलो खोप सरह हुने बिज्ञहरु बताउँछन ।
हरेक नवजात शिशुलाई ३ घण्टाको अन्तरालमा माग बमोजिम स्तनपान गराउनुपर्छ । शिशु जन्मिएको छ महिनासम्म आमाको दूध मात्र खुवाउनुपर्छ । शिशुलाई चाहिने पानीसमेत आमाको दूधमा हुने भएकाले छ महिनासम्म आमाको दूधबाहेक पानी पनि खुवाउनु हुदैँन ।
नवजात शिशुलाई कति मात्रामा दुध खुवाउने भन्नेबारे धेरै आमाहरु जानकार नहुन सक्छन् । यस सम्बन्धि विज्ञको सुझाव यस्तो छ ।
जन्मेको पहिलो दिन २० देखि ३० मिलिलिटर (मि ली) दुध ३ घण्टाको अन्तरालमा स्तनपान गराउनुपर्छ । त्यसको १ हप्ता सम्म पत्येक दिन ५ मिली बढि स्तनपान गराउनुपर्छ ।
एक हप्ताको हुदाँ सम्म ५० देखि ६० मि ली ३ घण्टाको अन्तरालमा स्तनपान गराउनुपर्छ । साथै हरेक हप्तामा १५ मि ली बढाउदै जानुपर्छ ।
एक महिना हुदाँसम्म ९० मि ली ३ घण्टाको अन्तरालमा खुवाउनुपर्छ । त्यस्तै हरेक महिना प्रत्येक मात्रामा ३० मि ली बढाउदै जानुपर्छ ।
यो सुत्र अनुसार शिशुलाई हरेक २४ घण्टामा अधिकतम ९६० मि ली दुध खुवाउनुपर्छ ।