गर्मी मौसमसँगै बालबालिका झाडापखालाको जोखिममा हुन्छन् । झाडापखालासँगै बालबालिकामा जलवियोजनको समस्या आएमा मृत्यु नै हुन सक्छ । त्यसैले झाडापखालाको उचित उपचार गर्न जरुरी हुन्छ । लगातारको झाडापखालाले बालबालिकाको शरीरमा आवश्यक पानीको मात्रा कम हुन्छ । जसका कारण अन्य रोग पनि लाग्न सक्छ । यसकारण बालबालिका झाडापखालाको जोखिममा हुन्छन् ।
बालबालिकामा रोगप्रतिरोधी क्षमता कम हुन्छ । जसका कारण विभिन्न संक्रमण देखा पर्ने गर्छ । प्रदूषित वातावरण, फोहोर पानी, फोहोर सागसब्जी र फलफूलका कारण उनीहरूलाई रोटा भाइरस संक्रमणको खतरा हुन्छ । झिँगामार्फत पनि यस्तो भाइरस सर्न सक्छ । फोहोर छोएर हात राम्रोसँग नपखाली खाँदा पनि यस्तो भाइरस पेटमा प्रवेश गरी भिन्न समस्या निम्त्याउँछ । यो दिसा–पिसाब र अन्य फोहोरमा हुने कीटाणु हो ।
के हो झाडापखाला ?
२४ घन्टा अर्थात् एक दिनमा तीनपटक वा सोभन्दा बढी पानीजस्तो पातलो दिसा भएको अवस्थालाई सामान्यतया झाडापखाला भनिन्छ । विषाणु, जीवाणु र परजीवीका कारण झाडापखाला लाग्ने गर्छ ।
झाडापखालामा जलवियोजन
बालबालिकामा केही र कडा जलवियोजन हुने गर्छ । कडा जलवियोजनका कारण आलस्य, बेहोसीपन हुनुका साथै आँखा गाडिने र सुक्खापनको समस्या हुन्छ । मुख र जिब्रोमा पनि सुक्खापनको समस्या देखिन्छ । त्यस्तै, यस्तो अवस्थामा तरल पदार्थ र पानीसमेत पिउन नसक्ने अवस्था सिर्जना हुन्छ । जलवियोजन भएमा पिसाब नहुनेलगायतका गम्भीर समस्या देखिन्छन् ।
झाडापखालाको उपचार
झाडापखालामा डायरिया या कडा जलवियोजन भएको अवस्थामा आइबी फ्लुयड्स लिनुपर्छ । यसले शरीरमा पानीको कमी हुनबाट रोक्छ । डिहाइड्रेसनका कारण केही खानपिउन नसक्ने बालबालिकालाई आइबी फ्लुयड्स चढाउने गरिन्छ ।
भाइरल र डायरिया संक्रमण निको पार्न परोबायोटिक्स दिइन्छ र ब्याक्टेरियल संक्रमणका लागि एन्टिबायोटिक । त्यस्तै, ५ वर्षभन्दा कम उमेरका बालबालिकालाई जिंक चक्की १४ दिनसम्म दिइन्छ ।
बच्न
झिँगा बसेको, बासी, नछोपेको खानेकुरा प्रयोग नगर्ने र हात सफा गरेर मात्र खाने ।
बच्चालाई मात्र नभएर घरको वातावरण पनि सफा राख्ने । उमालेको पानी मात्र प्रयोग गर्ने बानीको विकास गर्ने ।
राम्रोसँग पखालेर मात्र फलफूलको सेवन गर्ने । बासी, तारेको, भुटेको, पिरो र मसलेदार खानाको प्रयोग नगर्ने ।
रोटा भाइरसविरुद्धको भ्याक्सिन लिइरहने । अमिलो, आलु, भन्टा, कोबी, अचारको प्रयोग नगर्ने ।
बच्चा जन्मेको ६ महिनासम्म आमाको दूध मात्र खुवाउने । ९ महिना पूरा भएपछि दादुराको
खोप लगाउने ।