शिशुहरुलाई बिस्तारै थपथपाउँदा वा मसाज गर्दा उनीहरुको पीडा कम हुने एक अध्ययनले देखाएको छ ।
साना बच्चाको टाउको, निधार, पिट्ठ्यूँ, छातीसहितका भागमा बिस्तारै हातले थपथपाउँदा मस्तिष्कमा पीडाको सञ्चार गर्ने गतिविधि कम हुने र त्यसले गर्दा उनीहरुमा दुखाईको अनुभव कम हुँदै जाने अध्ययनमा देखिएको हो ।
अक्सफोर्ड विश्वविद्यालय र लिभरपुल जोन मोरिस विश्वविद्यालयले गरेको अनुसन्धानको क्रममा ३२ शिशुको परीक्षणका लागि रगत लिने क्रममा मस्तिष्कको गतिविधिको अध्ययन गरिएको हो ।
आधा शिशुलाई त्यसक्रममा निधानमा नरम ब्रसले बिस्तारै चलाइएको (मसाज वा थपथपाइएको) थियो । त्यसो नगरिएका आधा शिशुको तुलनामा उनीहरुको मस्तिष्कमा पीडाजन्य गतिविधि ४० प्रतिशत कम देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।
अनुसन्धानकर्ता रिबेका स्लेटरका अनुसार शिशुमा गरिएको छुवाई वा हुलुका मजासको कुनै ‘साइड इफेक्ट’ देखिएको छैन र यसले पीडा कम गर्ने औषधिको जस्तै काम पनि गरेको छ ।
यसका लागि एक सेकेण्डमा अधिकतम तीन सेन्टिमिटरसम्म भागमा चलाउन सकिने अनुसन्धानकर्ताले बताए । यसको अर्थ शिशुलाई गरिने मसाजको प्रभाव राम्रो रहेको देखिएको छ ।
तर त्यसका लागि अभिभावकले न्युरोबायोलोजिकल सिस्टम बुझेमा झन राम्रो हुने अनुसन्धानकर्ता प्राध्यापक स्लेटरले बताइन् । तर शिशु हुर्किँदै जाँदा पनि मसाजको प्रभाव उस्तै रहन्छ कि परिवर्तन हुन्छ भन्ने बारे स्पष्ट भएको छैन ।