नेपालमा कोभिडको पहिलो लहरको तुलनामा दोस्रो लहरमा बालबालिकाहरू उच्च रूपमा सङ्क्रमित देखिएको र उनीहरूका लागि खोपको उपलब्धता समेत नरहेका कारण सम्भावित तेस्रो लहर आउँदा १८ वर्ष मुनिका बालबालिकाहरू बढ्ता जोखिममा पर्ने आकलन गरिएको स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताएका छन्।
यसै सन्दर्भमा मन्त्रालयले जेठ २१ गते सबैखाले अस्पताल तथा स्वास्थ्य संस्थाहरूका नाममा परिपत्र गर्दै कम्तीमा २० प्रतिशत शय्या कोभिड बिरामी बालबालिकाका लागि प्रयोग हुनेगरी तयारी अवस्थामा राख्न भनेको थियो।
"पहिलो लहरमा निकै कम बालबालिका सङ्क्रमित भएका थिए तर दोस्रो लहरमा उनीहरू भाइरस सार्ने माध्यमको रूपमा पाइए," उक्त पत्राचार गर्ने गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले बीबीसीसँग भने।
"बारम्बार भाइरसको संसर्गमा पुग्दा त्यसले समस्या ल्याउन सक्ने देखिन्छ।"
चिन्ता
पछिल्लो लहरमा कुल सङ्क्रमितमध्ये ८ प्रतिशत हाराहारीमा बालबालिकाहरू रहेको पाइएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन्।
डा मदनकुमार उपाध्याय भन्छन्, "सङ्क्रमित बालबालिकाहरूमा कोभिडका बेला केही भएजस्तो नदेखिए पनि त्यो सकिएपछिका विभिन्न स्वास्थ्य समस्या देखिन थालेका छन्।"
बालबालिकाको बढ्दो सङ्क्रमित हुने दर देखिएसँगै मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन (एमआईएस-सी) भनिने समस्याहरू शरीरका विभिन्न अङ्गमा देखिन थालेको डा उपाध्याय बताउँछन्।
एमआईएस-सीका कारण मुटु, फोक्सो, मिर्गौला, मस्तिष्क, छाला, आँखा वा पेटसम्बन्धी समस्याहरू देखिन सक्ने अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)को वेबसाइटमा जनाइएको छ।
त्यसमा एमआईएस-सी ठ्याक्कै के कारणले हुने स्पष्ट नभए पनि त्यस्ता धेरै बालबालिकाहरू कोरोनाभाइरसबाट त्यसअघि सङ्क्रमित भएको पाइएको उसले जनाइएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालकी एकजना वरिष्ठ बालरोग विशेषज्ञ डा सुधा बस्नेतले भाइरसको पछिल्लो लहरमा कोभिडका असर बालबालिकामा स्पष्ट देखिएको बताउँछिन्।
उनी भन्छिन्, "अघिल्लो पटक सङ्क्रमित बालबालिकाहरू विभिन्न रोगसाथ अस्पताल आइपुग्थे भने यस पटक कोभिडको निमोनिया भएर आएका बालबालिका धेरै मात्रामा देखिए।"
डा बस्नेतले एमआईएस-सी कोभिड लागेको दुई/तीन सातापछि देखिने शारीरिक समस्या भएको बताउँदै दोस्रो लहरमा थोरै बालबालिकामा त्यस्तो देखा परेको बताउँछिन्।
"तर हाम्रो तयारी त्यस्तो अवस्थाको लागि आवश्यक छ।"
के साँच्चै तेस्रो लहर आउँछ?
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले नेपालमा कोभिडको पहिलो लहरमा धेरै सङ्क्रमितमा लक्षण नदेखिएको र देखिने धेरैमा समेत मध्यम खाले पाइएको बताउँछन्।
तर दोस्रो लहरमा लक्षणहरू कडा र धेरैजस्ता अस्पताल नै भर्ना गर्नुपर्ने अवस्थामा पुग्नुले आफूहरूलाई तेस्रो लहरका लागि सजग गराएको उनीहरूको भनाइ छ।
"भाइरसको उत्परिवर्तनहरू भइरहेका छन् र नयाँ नयाँ भेरिअन्ट देखिन थालेका छन्। जसविरुद्ध खोपकै प्रभावकारिताको दर घटिरहेको भनिएको छ," डा मदनकुमार उपाध्याय भन्छन्।
"उमेर समूहकै हिसाबले समेत पहिलो लहरमा वृद्धवृद्धा र दीर्घरोधी धेरै प्रभावित भएकामा यस पटक युवाहरूमा गम्भीर असरहरू धेरै देखियो। अब झन् बालबालिकालाई खोप लगाउने तत्कालको तयारी पनि छैन। त्यसैले हामीले तयारी थाल्नुको विकल्प छैन।"
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले आफ्नो तयारीलाई तेस्रो लहर आउने निश्चित अवस्थाको रूपमा नबुझ्न आग्रह गरेको छ।
तर अवस्था धेरै नियन्त्रणमा आइसकेका विभिन्न देशमा पुनः नयाँ लहर सुरु भएको र त्यहाँ समेत बालबालिकाहरूलाई सुरक्षित राख्न आग्रह गरिएका सन्दर्भलाई हेरेर त्यस्तो तयारी थालेको जनाइएको छ।
नेपालका धेरै अस्पतालहरू बालमैत्री नभएका कारण समेत अवस्था बिग्रने खण्डमा पुनः सङ्कट देखा नपरोस् भन्नका लागि त्यसो गरिएको मन्त्रालयका अधिकारीहरू बताउँछन्।
वरिष्ठ बालरोगविज्ञ डा बस्नेत समेत त्यसलाई स्वाभाविक मान्छिन्।
उनी भन्छिन्, "सबैतिर बालरोग विशेषज्ञ नै चाहिन्छ भन्ने पनि होइन। यसको उपचारको एउटा विधि-मापदण्ड बनिसकेकाले अन्य चिकित्सकहरूलाई नै पनि सामान्य मार्गनिर्देश गर्दा बालबालिकालाई स्वास्थ्य स्याहार गर्न सक्छन्।"
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले अवस्थालाई मध्यनजर राखेर अझै केही समय स्कुले विद्यार्थीका कक्षा अनलाइन सञ्चालन गर्नुपर्ने आफूहरूले ठानेको बताउँछन्।
खोप र स्वास्थ्य मापदण्डको पालनाको विषय अझै ठूलो प्राथमिकतामा राखेर बालबालिकालाई जोगाउने कामलाई प्राथमिकता दिनुपर्ने उनीहरू बताउँछन्।
बिबिसी