काठमाडौं – पाठेघर सृष्टिको उद्गम विन्दु हो । पाठेघरमा नै भुण्र हुर्कन्छ । पाठेघर भएकै कारण शरीरिक रुपमा पुरुषभन्दा महिला फरक हुन्छन् । पाठेघर महिलाको अस्तित्वसँग जोडिएको हुन्छ । सृष्टिको उद्गम विन्दु मानिने पाठेघर हेरचाहमा विशेष ध्यान नदिदा महिलाले जीवनभर पीडा भोग्नु पर्ने हुन्छ । पछिल्लो समय धेरै महिलाहरु पाठेघरको समस्याबाट ग्रसित छन् । पाठेघरमा के कस्ता समस्याहरु आउँछन् ? यसका कारण र पाठेघर स्वस्थ्य राख्न के कुरामा ध्यान दिने भन्ने बिषयमा इशान बाल तथा महिला अस्पतालमा कार्यरत स्त्री रोग बिशेषज्ञ डा दिलासा तिमल्सिनासँग गरेको कुराकानीः
१. महिलाको जिवनमा पाठेघरको महत्व कति हुन्छ ?
महिलाहरुका लागि पाठेघरको महत्व धेरै छ । पाठेघर बच्चा जन्माउनका लागी मात्र नभई महिनावारी हुनका लागी पनि आवश्यक पर्छ । पाठेघर बिना महिला स्वस्थ्य हुन सक्दैनन् । त्यसैले महिलाका लागी पाठेघर महत्वपुर्ण छ ।
सामान्यतय पाठेघरको फैलावट सात देखि आठ सेन्टिमिटर (से मि) हुन्छ । महिलाले एउटा सन्तान (शिशु) जन्माएपछि पाठेघर तन्किएर अर्थात लम्बिएर नौं देखि दश से मि हुन्छ ।
२. पछिल्लो समय पाठेघरको समस्याबाट धेरै महिलाहरु ग्रसीत भएका छन् । पाठेघरमा के कस्ता समस्याहरु देखिन्छन् ?
पाठेघरको मुख, डिम्बाशय (ओभरी) र पाठेघर यि तिनवटा अंगलाई समग्रमा पाठेघर भनेर बुझिन्छ । यि तिन भागमा समस्या परे महिलालाई दुख दिने गर्दछ । पाठेघरमा देखिने केहि समस्याहरु यसप्रकार रहेका छन् ।
पाठेघरमा अैजेरो अर्थात मासु पलाउने
पाठेघर क्यान्सर
डिम्बाशयमा सिस्ट (पानीको फोका) पलाउने
डिम्बाशय ट्युमर (क्यान्सर)
पाठेघर मुखको क्यान्सर
सेतो पानी जाने
पाठेघरको संक्रमण (इन्फेक्सन)
३. कुनै पनि महिलाले आफ्नो पाठेघरमा समस्या भएको कसरी थाहा पाउने ? कस्ता लक्षणहरु देखिन्छन् ?
धेरैजसो महिलाले पाठेघरको काम बच्चा जन्माउने मात्र हो भनेर बुझेका हुन्छन् । त्यसैले त्यति हेरचाह गरिएको देखिदैन । कुनै पनि महिलाको पाठेघरमा समस्या आउँदा यस्ता लक्षणहरु देखिन सक्छन् ।
पाठेघर सुनिन्दा अत्याधिक पेट दुख्ने र रगत जाने जस्ता लक्षणहरु देखिन्छन् तर पाठेघर सुन्निएको छ वा छैन भनेर थाहा पाउनका लागी बिशेषज्ञसँग परिक्षण गराउनै पर्छ । त्यसका लागी भिडियो एक्सरे गरिन्छ । साथै कतिपय अवस्थामा बिशेषज्ञले योनीबाट हात हालेर पनि हेर्ने गर्छन् ।
महिनावारी भएपछि नगन्हाउने सेतो सफा पानी बग्ने समस्यालाई सामान्य मानिन्छ । तर सेतो पानी जाँदा गन्हाउँछ, योनी चिलाउँछ, फोका फोका जस्तो डावर देखिएमा त्यसलाई इन्फेक्सन भएको बुझिन्छ । इन्फेक्सनलाई उपचार गरिहाल्नुपर्छ । समयमा नै इन्फेक्सनको उपचार नगरेमा इन्फेक्सन फैलिदै गएर पाठेघरको मुखको क्यान्सर पनि हुन सक्छ । सामान्यतय पाठेघरमा समस्या भए देखिने लक्षणहरु यसप्रकार रहेका छन् ।
समयमा महिनावारी नहुने
महिनावारी हुदाँ अत्याधिक रगत बग्ने
महिनावारी हुदाँ अत्याधिक पेट दुख्ने
सेतो पानी बग्ने
योनी चिलाउने
यौन सम्पर्क गर्दा दुख्ने
यौन सम्पर्क गर्दा रगत देखा पर्ने
४. महिलाको पाठेघरमा यस्ता खाले समस्याहरु के कारणले आउन सक्छन् ?
प्रायः महिलाको पाठेघरमा आउने विभिन्न समस्याका कारणहरुमध्ये केहि समान खालका हुन्छन् भने केहि अलग किसिमका हुन सक्छन्् । पाठेघरमा आउने विभिन्न समस्याका केहि कारणहरु यसप्रकार छन् ।
यौनांगको सरसफाईमा ध्यान नदिदाँ पाठेघर इन्फेक्सन हुन सक्छ । पिसाबको इन्फेक्सनबाट पनि पाठेघर इन्फेक्सन हुन सक्छ । एक भन्दा धेरै व्यक्तिसँग र कलिलो उमेरमा नै यौन सम्पर्क गर्नाले पनि पाठेघर इन्फेक्सन हुनसक्छ । कलिलो उमेरमा यौन सम्पर्क गर्दा पनि पाठेघरमा समस्या आउन सक्छ । कलिलो उमेरका महिलाको शरीर र भजाइना पनि राम्रोसँग विकास भइसकेको हुदैँन । साथै किटाणुसँग लड्नका लागी इम्युनिटि पावर ( किटाणुसँग लड्ने क्षमता) पनि कम हुन्छ । त्यसैले कहिलो उमेरमा यौन सम्पर्क गर्दा इन्फेक्सन हुने सम्भाबना उच्च हुन्छ ।
पाठेघरको तिनवटा लेयर (पत्र) हुन्छ । पाठेघर सुन्निएको भए महिनावारी गडबडि हुने गर्छ । त्यस्तै, पाठेघरमा मासु पलाएमा पनि पाठेघरको साइज ठुलो हुनुका साथै सुन्निन सक्छ ।
५. ओभरीमा सिस्ट के कारणले आउँने गर्छन् ?
सिस्ट विभिन्न प्रकारका हुने गर्छन् । महिनावारी हुदाँ हर्मोन असन्तुलन भएर सानो दुई देखि तिन सेमिको सादा पानीको सिस्ट हुन्छ । यस्तो किसिमको सिस्ट महिनावारी भएपछि सुकेर जान्छ । पाँच सेमि भन्दा कमको सिस्ट भएमा त्यति अत्तिहाल्नु पर्देन । तर सिस्टको साइज ५ सेमि भन्दा बढि छ साथै रगत जमेको छ भने उपचार गराउनुपर्ने हुन्छ । यो समस्या ओभरीमा भएका सेल्सहरु राम्रोसँग विकसित हुन नपाएर रगत जम्मा भएर हुने गर्छ ।
ओभरीमा सेल्सहरु बढिरहेको हुन्छ । असामान्य रुपमा सेल्सहरु बढेमा कपाल, दाँत, हड्डि र पानी फोकाहरु बन्छ । त्यसलाई निकाल्नु पर्छ । यस्ता सिस्टहरुलाई दबाइले सुकाउदैँन । यस्ता सिस्टहरु एक पटक निकालेपछि फेरी पलाउँदैन भन्ने हुदैँन, फेरी पलाउँन सक्छ । त्यसैले छ महिना वा एक बर्षमा एक पटक परिक्षण गराइरहनुपर्छ ।
सिस्ट ठुलो भएमा दबाइले सुकाउदैँन शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । यस्ता सिस्ट निकाल्नका लागी हाल ल्याप्रोस्कोपि सर्जरी गर्न सकिन्छ । त्यस्तै कुनै सिस्टहरुमा पानीको फोका पनि हुदैन रगत जमेको पनि हुदैँन त्यहाँ कपाल, दाँत, हड्डि जमेको सिस्ट हुन्छ । यसलाई डरमोइड भनिन्छ । डरमोइड सिस्ट १० देखि २५ प्रतिशत महिलामा देखिन्छन् । यो २५ देखि ४५ बर्षको महिलामा देखिन्छ ।
पाठेघरकै इन्फेक्सन कम मात्रामा भएको पाइन्छ । धेरैजसो महिलामा पाठेघरको मुखको इन्फेक्सन हुने गर्छ । समयमा नै उपचार नगरे संक्रमण पाठेघरको मुख हुदै पाठेघरसम्म पुग्छ । इन्फेक्सन जाने बाटो बन्द भएमा पिप बन्छ । पिपलाई उपचार नगरे एबसेस बन्छ र त्यो डल्लो भएर बस्छ । एबसेसलाई पनि उपचार नगरे कुहिदै जान्छ र इन्फेक्सन फैलिन सक्छ साथै सेप्सिस पनि हुन सक्छ ।
६. धेरैजसो महिलाहरुमा पाठेघरको मुखको क्यान्सर भयो भन्ने पाठेघर नै फाल्नुपर्छ भन्ने धारणा हाबि भएको पाइन्छ । पाठेघर मुखको क्यान्सर भएमा कसरी उपचार गरिन्छ ?
पाठेघरको मुखको क्यान्सर हुनै बितिकै पाठेघर फाल्नुपर्छ भन्ने हुदैँन । क्यान्सर भएको व्यक्ति कुन स्टेजमा छ ? उसको उमेर कत्ति भएको छ ? त्यसको आधारमा उपचार प्रक्रिया अगाडि बढाइन्छ । बिरामी सुरुवाती चरणमा नै पुगेको छ भने मेडिकल अर्थात औषधिले पनि व्यवस्थापन गर्न सकिन्छ । त्यस्ता बिरामीहरु सुरुमा हरेक तिन तिन महिनामा फलोअपका लागी अस्पताल जानु पर्छ । त्यसपछि बिरामीको अवस्था हेरेर छ छ महिना र बर्ष दिनको अन्तरालमा फलोअपका लागी बोलाउने गरिन्छ ।
कुनै महिलाको पाठेघरको मुखको क्यान्सर भएको छ । क्यान्सर धेरै फैलिएको छैन, उनको विवाह पनि भएको छैन वा बच्चा जन्माउने योजना भएमा पाठेघर बचाएर शल्यक्रिया गर्न सकिन्छ । यदि बच्चा जन्माउने योजना छ क्यान्सरको पनि अन्तिम चरणमा छ भने ज्यान बचाउनका लागी पाठेघर फाल्ने अवस्था पनि आउँन सक्छ । पाठेघर फाल्ने वा जोगाउने यि सबै कुराको निर्धारण बिरामीको अवस्था र उमेर हेरेर गरिन्छ ।
त्यस्तै, महिलामा दुईवटा डिम्बाशय हुन्छ । त्यसमध्ये एउटा डिम्बाशयको क्यान्सर भएको छ । क्यान्सर फैलिएको छैन भने एउटा डिम्बाशय फालेर अर्को बचाउँन सकिन्छ । यसो गर्दा भविष्यमा बच्चा जन्माउने क्षमता हुन्छ ।
क्यान्सरको शल्यक्रिया गरेपछि समय समयमा किमोथेरापी र रेडियो थेरापी पनि दिनुपर्ने हुन्छ ।
७. प्रजनन उमेरका महिलाको पाठेघर फाल्नुपरेमा महिलाको स्वास्थ्यमा कुनै प्रभाब पार्छ कि पार्देन ?
महिलाको शरीरमा डिम्बाशयले विभिन्न किसिमका हर्मोन उत्पादन गर्छ । महिनावारी कहिले हुने भन्ने सबै हर्मोनले गर्दा हुन्छ । महिनावारी हुदाँ रगत बग्नका लागी पाठेघर एउटा ढोका मात्र हो । सामान्यतय महिनावारी हुदाँ ३ देखि ७ दिनसम्म रगत बग्छ ।
महिनावारी हुनका लागी डिम्बाशय हुनु जरुरी हुन्छ । डिम्बाशय नै नभए महिनावारी हुदैन । डिम्बाशय सहित पाठेघर फाल्यो भने उसको शरीरमा हर्मोन नभएर महिनावारी सुकेको महिलाको जस्तै हुन्छ । किनकि डिम्बाशयले हर्मोन उत्पादन गर्छ । हर्मोनले महिलाको शरीरको सबै कार्य गर्छ ।
त्यस्तै, प्रजनन् उमेरमा डिम्बाशय सहित पाठेघर फालेमा हड्डी कमजोर हुन्छ । सामान्य शारीरिक व्यायम गर्दा नै हड्डि भाचिने सम्भाबना धेरै हुन्छ । पाठेघर मात्र फाल्दा त्यति धेरै समस्या हुदैन तर डिम्बाशय अर्थात दुईओटा ओभरी चाहिँ बचाउनुपर्छ ।
८.पाठेघरमा आउने यि समस्याको उपचार कसरी गरिन्छ ?
पाठेघरको इन्फेक्सनको उपचार उपचार
सुरुमा पाठेघरको इन्फेक्सन कस्तो छ भनेर निक्र्रोल गर्नुपर्छ । सेतो पानी जाने समस्या छ भने कस्तो प्रकारको सेतो पानी गइरहेको छ भनेर हेर्नुपर्छ । कोहि महिलाको दहिको डल्लो जस्तो हुन्छ कोहि महिलाको सिगाँन जस्तो चिप्लो हुन्छ । त्यस्तै, बिरामीको यौनी चिलाइरहेको छ वा छैन हेर्नुपर्छ । त्यसको आधारमा दबाई (औषधि) दिइन्छ । पाठेघरको इन्फेक्सन औषधिबाट निको पार्न सकिन्छ ।
ओभरी सिस्टको उपचार
सामान्य किसीमको सानो सिस्ट भएमा त्यसलाई केहि गर्नुपर्दैन । त्यस्ता बिरामीलाई ६ महिनापछि फलोअपलाई बोलाइन्छ । सिस्ट सुकेर गयो भने डराउनुपर्दैन । यदि सिस्ट ५ सेमि भन्दा बढेर गए उपचार गर्नुपर्छ । सिस्टमा रगत जमेको छ, त्यसको साइज सानो छ भने एण्टिबायोटिकले ठिक हुन्छ । सिस्ट ठुलो छ, बढ्दै गइरहेको छ साथैे बिरामीलाई एकदमै दुखिराखेको छ भने अर्को बिकल्प खोज्नुपर्छ । कहिलेकाहि सिस्ट बढ्दै जाँदा बटारिन्छ । जसका कारण बिरामी जटिल अवस्थामा आउँछ । त्यसैले आकस्मिक अस्पताल आउने गर्छन् । यस्तो अवस्थामा शल्यक्रिया गरेर सिस्ट निकाल्नुपर्ने हुन्छ ।
९. पाठेघरको बारेमा हरेक महिलाले जान्नैपर्ने बिषयहरु के के हुन् ?
पाठेघरलाई महिलाले त्यति महत्व दिदैनन् । पाठेघरलाई बिशेष हेरचाह गर्नुपर्ने हुन्छ ।
कलिलो उमेरमा बालबालिका नजन्माएको राम्रो हुन्छ ।
बच्चा जन्माउदा पहिलो दोस्रो सन्तानको बिच जन्मान्तर राख्नुपर्छ । कम्तिमा २ देखि ३ बर्षको अन्तराल हुनुपर्छ ।
धेरै बच्चा जन्माउँदा पनि पाठेघरमा समस्या हुन सक्छ ।
शारीरिक सम्पर्क गर्दा कण्डमको प्रयोग गर्नुका साथै बिज्ञको सल्लाह लिनु पनि जरुरी हुन्छ ।
योनी सरसफाइमा ध्यान दिनुपर्छ ।
समय समयमा जनरल परिक्षणका गरिरहनुपर्छ ।
२१ बर्ष नाघेका महिलाले पाठेघरको मुखको पानीको जाँच अर्थात प्याप स्मेर टेष्ट गराउनुपर्छ ।
१०. पाठेघर स्वस्थ्य राख्न के कुरामा ध्यान दिनुपर्छ ?
पाठेघर स्वस्थ राख्न हाइजिन मेन्टेन (शारीरिक सरसफाई व्यवस्थापन) गर्नुपर्छ ।
स्वस्थकर खानेकुरा खानुपर्छ ।
योनी सधै सफा राख्नुपर्छ ।
कलिलो उमेरमा (२० बर्ष अघि) यौन सम्पर्क गर्नुहुदैँन ।
एक भन्दा धेरै व्यक्तिसँग शारीरिक सम्पर्क राख्नु हुदैन ।
परिवार नियोजनको अस्थायी साधन कण्डमको प्रयोग गनुपर्छ । कण्डमको प्रयोगले एच आइ भि लगायत अन्य यौन संक्रामक रोगहरुबाट बचाउँछ ।