उपल्लो डोल्पामा हेलिकप्टरबाट स्वास्थ्य सामग्रीसहित औषधि लगिएको छ।
दुई सातादेखि डोल्पाका तीन गाउँपालिकामा कोरोनाजस्तै लक्षण भएका बिरामी भेटिएपछि समस्या परेको भन्दै गाउँपालिकाले सहयोग मागेको थियो।
आइतबार हेलिकप्टरबाट स्वास्थ्य सामग्रीहरू लगिएको हो।
डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिका भित्रका गाउँमा सर्वसाधारण ज्वरो र रूघाखोकी लागेर धमाधम बिरामी पर्न थालेका थिए।
तीन गाउँपालिकाले संयुक्तरूपमा डोल्पो जनजाति विकास केन्द्रमार्फत विज्ञप्ति निकाल्दै सहयोग मागेका थिए।
जनजाति विकास केन्द्रका अध्यक्ष क्याल्पो थापा भोटेकाअनुसार अल्टिच्युट प्रोजेक्टको सहयोगमा खरिद गरिएका २३० केजी अतिआवश्यक औषधि, जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य विभागबाट पाएको दुई थान अक्सिजन कन्सन्ट्रेटर र हिक्यापबाट सहयोग प्राप्त स्वास्थ्य सामग्रीहरु शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङमा हेलिकप्टरबाटमार्फत पठाइएको छ।
नोम्याड्स क्लिनिकको आर्थिक सहयोगमा सोही हेलिकप्टरमा डोल्पो टुल्कु च्यारिटेबल फाउन्डेसनको सहयोगमा प्राप्त भएको ८०० थान हेपाटाइटिस बीको भ्याक्सिन र डोल्पो बुद्ध गापाको आम्चीका औषधिहरु सोही गाउँपालिकाको केन्द्र धो तरापमा पुर्याइएको छ।
कोभिड परीक्षणका लागि १००/१०० थान कोभिड एन्टिजेन किटहरु पनि दुईवटा गाउँपालिकामा पठाइएको छ।
गाउँगाउँमा कोभिड फैलिएका आशङ्काले उपल्लो डोल्पाको तीन पालिकामा रोग र भोक दुवैबाट हुनसक्ने समस्या टार्न सङ्घीय र प्रदेश सरकार तथा विभिन्न गैरसरकारी संस्थामा सहयोगका लागि डोल्पो जनजाति विकास केन्द्रको अध्यक्षले अपिल गरेका छन् । रासस