काठमाडौं - कोरोना भाइरस संक्रमण रोकथाम तथा आम नागरिकलाई निशुल्क स्वास्थ्य उपचार दिने उदेश्यले सरकारले ३९६ वटा अस्पताल तत्कालै निर्माण शुरु गर्ने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरिएको भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले असार भित्र सबै अस्पतालको टेन्डर प्रकृया अघि बढाएर आउने वर्षभित्र अस्पताल निर्माण प्रकृया शुरु गर्ने बताए ।
कोरोना भाइरस परीक्षणको दायरा बढाइएको र आवस्यक सामाग्री पुग्ने गरी क्षमताले भ्याएसम्म संक्रमण रोक्ने प्रयास गर्ने प्रतिवद्धता मन्त्री तामाङले गरे ।
उनी भन्छन्, वीर अस्पताललाई कोभिड नियन्त्रणको केन्द्रीय अस्पतालकोे रुपमा विकास भइरहेको र अन्य सबै प्रदेशमा त्यस्तो अस्पतालको व्यवस्थापन गरिन्छ ।
स्वास्थ्यमन्त्री तामाङले तेस्रो लहरको कोभिडको सामना गर्न पनि सरकारले तयारी गरिरहेको बताए ।
स्वास्थ्य बिमालाई नागरिकको सहज पहुँचमा पुर्याउन पनि काम गरिने उनले बताए ।
उनी भन्छन्, आगामी दिनमा सम्भव भएसम्म जनताको स्वास्थ्य उपचार निःशुल्क गर्ने बारे आवश्यक अध्ययन गरिनेछ । त्यस्तै, मन्त्रालयबाट हुने हरेक काम पारदर्शी रुपमा गरिने पनि उनले प्रतिवद्धता जनाए।
चुनौति र अवसर सँगै आउने भन्दै स्वास्थ्यमन्त्री तामाङले चुनौतिलाई अवसरको रुपमा ग्रहण गरेर काम गर्ने प्रतिवद्धता जनाए। साथै उनले अस्पतालको सरसफाई र गुणस्तरीय उपचारलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
मन्त्री शेरबहादुर तामाङले पनि सम्पत्ति सार्वजनिक गर्ने भएका छन् । उनले केही बेरमा मन्त्रालयको वेभसाइट मार्फत आफ्नो सम्पत्ति सार्वजनिक गर्ने बताएका छन् ।