काठमाडौं - महिनावारी प्रत्येक महिनामा हुने यस्तो प्राकृतिक प्रक्रिया हो जसमा हर्मोनको प्रभावको कारणले डिम्बासयबाट डिम्ब निष्कासन भएपछि बिस्तारै बाक्लो हुदै गएको पाठेघरको भित्री तह तुहिएर योनीबाट रगत बग्छ ।
महिनावारी सम्बन्धी आफ्नो अवस्थाबारे जानकारी लिनुपर्छ जस्तैः महिनाको कतियौँ दिनमा महिनावारी हुने गरेको छ पहिचान गर्ने । रक्तस्राव कति दिन सम्म हुने गरेको छ यकिन गर्ने । रक्तस्राव हुने प्रक्रिया कस्तो छ पहिचान गर्ने ।
महिनावारी भएको बेला विद्यालय किन जाने ?
बालबालिकाले आधार भूत शिक्षा प्राप्त गर्ने ठाउँ भनेको विधालय नै हो ।
महिनावारी फरक दिन होईन यो प्रत्येक महिनामा हुने नियमित एवं सामान्य प्रक्रिया हो ।
यस्तो बेला विधालय गएर साथीसँगीहरु, अनुभवी शिक्षक शिक्षिकासँग खुलेर कुराकानी र सल्लाह गर्नाले डर मानसिक तनाव तथा चिन्ता हटाउन मद्दत पुग्छ ।
महिनावारी भएको बेला विधालय नगएमा एक वर्षमा कम्तिमा ५० दिन कक्षा अनुपस्थित भइने हुँदा यो बेला विधालय नजाँदा दैनिक पढाई र अतिरिक्त क्रियाकलापमा पछि परिनुको साथै आत्मसम्मानमा समेत असर पर्न जान्छ ।
महिनावारी भएको बेला ध्यान दिनुपर्ने कुराहरु
खानपानमा विशेष ध्यान दिनु पर्छ । हरियो सागपात, फलफुल तथा झोलिलो खाना प्रशस्त मात्रामा खानु पर्छ ।
चिल्लो,पिरो तथा बाहिर बजारको तयारी खाना खानु हुदैन ।
साबुन पानीले राम्रोसंग यौन अङ्ग तथा शरीरका सबै भागहरु सफा गर्नु पर्छ ।
सफा नरम कपडा वा सेनिटरी प्याड प्रयोग गर्नु पर्छ ।
कपडा वा सेनिटरी प्याड कम्तिमा ४-४ घन्टामा फेर्नु पर्छ ।
प्रयोग गरेको कपडा (टालो) राम्ररी साबुन पानीले सफा गरी घाममा सुकाउनु पर्छ ।
यौन अङ्गको भित्री भागमा साबुन लगाउनु हुदैन ।
पुरानो, ढुसी परेको र मैलो कपडा प्रयोग गर्नाले संक्रमण हुनसक्छ ।
रगत सफा गर्दा मलद्धारबाट योनी सफा गरे संक्रमण हुन सम्भावना बढ्न सक्छ । त्यसैले रगत सफा गर्दा योनीबाट मलद्धारसम्म गर्नुपर्दछ ।
प्रयोग गरेको सेनिटरी प्याडलाई पुन स् प्रयोग गर्नु हुदैन ।
महिनावारी भएको बेला गरिने व्यवहार
महिनावारी भएको समयमा किशोरी तथा महिलाहरुलाई छुट्टै वा एक्लै राख्न हुदैन । यसो गर्नाले उनीहरुमाथि यौनजन्य हिसां बिषालु किरा वा सर्पको टोकाई तथा संक्रमणको सम्भावना बढी भई ज्यान समेत जान सक्छ ।
महिनावारी भएको समयमा किशोरी तथा महिलाहरुलाई आफु बसिरहेकै स्थान अथवा सफा र घाम लाग्ने ठाँउमा बस्ने वातावरण बनाउनु पर्छ ।
महिनावारी फरक दिन हैन त्यसैले यो अवस्थामा किशोरी र महिलालाई फरक व्यवहार गर्नु हुदैन ।
योग, व्यायाम तथा हेरचाह
नियनित योग तथा व्यायाम गर्नु राम्रो हुन्छ ।
यसले डर र तनाब कम गर्न मद्दत गर्छ ।
महिनावारी भएको समयमा सामान्य पेट दुखेमा रबरको थैलीमा तातो पानी राखेर सेक्नु पर्छ तर अत्यधिक बढी रगत बगेमा वा पेट दुखेमा नजिकैको स्वास्थ्य संस्थामा जँचाउनु जानु पर्छ ।
महिनावारी सार्ने औषधि सेवन स्वास्थ्यका लागि राम्रो हुदैन ।