न्युमोनिया बिभिन्न प्रकार का जीवाणुहरूको संक्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबी हो। यसमा फोक्सोका कोषहरू सुन्निन्छन् अनि श्वासप्रश्वासमा बाधा पुग्दछ। केही भाइरसका प्रजातिहरूले कडा खालको न्युमोनिया गराउँदछन्। निमोनिया फरक–फरक कारणले लाग्छ । त्यसकारण पहिले कारण पत्ता लगाउन जरुरी हुन्छ । भाइरस, ब्याक्टेरिया र फंगल्सका कारण संक्रमण हुने गर्दछ । यिनै संक्रमणसँग जुध्न नसकेपछि फोक्सोको नियमित काममा असर पर्छ । ब्याक्टेरिया, भाइरस वा फंगल्सले फोक्सोको प्रतिरोधात्मक क्षमता नष्ट गर्छ र त्यसका टिस्युहरूमा संक्रमण फैलाउँदै जान्छन् । फोक्सोका टिस्युलाई संक्रमण गरेपछि पानी जम्ने, पिप जम्ने र कहिलेकाहीँ हावा जम्ने हुन्छ ।
निमोनियाको संक्रमण सबैभन्दा बढी ५ वर्षमुनिका बालबालिकाहरुलाई र उमेर ढल्कँदै गएका वृद्धहरुलाई हुन्छ, बालबालिकाहरुमा मृत्युको पहिलो कारक पनि निमोनिया नै हो। विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर हरेक बर्ष ५ वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु निमोनियाले गर्दा हुन्छ भने नेपालमा ५ वर्षमुनिका ३५ लाख बालबालिकामध्ये ५६ सय जनाको मृत्यु हुन्छ । मृत्यु हुनेमध्ये ९८५ बालबालिकाहरु विकासोन्मुख देशका हुन्छन् ।
प्रायः समुदायमा हुने निमोनिया २ महिना भन्दा कम उमेरमा अधिकांशमा स्ट्रेप्टोकोकस तथा इ कोली लगायतका ब्याक्टेरियाहरुले गर्दछन् । त्यसैगरी, ३ महिनादेखि पाँच बर्षसम्मका बालबालिकाहरुमा चाहिँ स्ट्रेप्टोकोकस निमोने, हिमोफिलियस इन्फ्लुएन्जा, स्टेफाइलोकोकस अरियस लगायतका ब्याक्टेरियाहरुले निमोनिया गराउँदछन् । त्यसैगरी, पाँच बर्ष भन्दा माथिका बालबालिकाहरुमा माइक्लोप्लास्मा निमोने र क्लामाइडिया भन्ने किटाणुको संक्रमण बढी हुन्छ । एचआईभी एड्स भएका बालबालिकाहरुमा निमोसिस्टिक जेरोभेकाइ, माइकोब्याक्टेरियम ट्युबरकोलोसिस ९क्षयरोगको जिवाणु र फङ्गसमा एस्परजिलोसिसको संक्रमणले बालिकाहरुमा निमोनिया गराउँदछन् ।
त्यसैगरी, उमेर ढल्कँदै गएका वृद्धको पनि फोक्सोका टिस्युहरूमा विभिन्न कारणले गर्दा असर पुगिरहेको हुन्छ । अझ उनीहरूमा कडा खालको दम, मुटुको रोगले पनि सताउने सम्भावना रहेको हुन्छ । यस्तो समस्या भएकालाई सामान्य चिसो वा रुघाखोकी लाग्दा पनि निमोनियाको संक्रमण चाँडै हुन सक्छ । स्वभावैले उमेर ढल्कँदै जाँदा रोगप्रतिरोधी क्षमतामा पनि कमी हँुदै जान्छ र निमोनिया संक्रमण चाँडै हुन्छ ।
कारणहरू
- फोक्सोमा भाइरस, ब्याक्टेरिया र फंगल्सको संक्रमण ।
- रुघाखोकी बिग्रिएर निमोनिया हुन्छ ।
- कहिलेकाहीँ रुघाखोकी नलागी अन्य समस्याका कारण पनि हुन सक्छ ।
- एकपटक निमोनिया भएको छ र पूर्ण रूपमा उपचार भएन भने पटक–पटक दोहोरिन सक्छ ।
- संक्रमित मानिससँगको असुरक्षित संसर्गबाट पनि निमोनियाको सम्भावना बढी हुन्छ ।
- फोक्सोसँग सम्बन्धित समस्या भएकाहरूलाई निमोनियाको उच्च जोखिम हुन्छ ।
निमोनियाका लक्षणहरु
- सुरुमा खोकी लाग्ने, नाकबाट सिंगान बग्ने र हल्का ज्वरो आउने ।
- साधारण रुघाखोकी लाग्ने र पछि छिटो छिटो सास फेर्ने सास फेर्न गाहो हुने कोखा हान्ने गर्दछ ।
- कडा किसिमको निमोनियामा ज्वरो १०२ फारेनहाइड भन्दामाथि आउँने हुन्छ ।
- यसमा बालबालिकाले खान र पिउन नसक्ने ।
- बालबालिका सुस्त वा बेहोस हुने ।
- आमाको दूध चुस्न नसक्ने हुन्छ ।
- कसै कसैमा सास फेर्दा अस्वाभाविक आवाज समेत आउने गर्दछ ।
रोकथाम
- धुवाँ–धुलोबाट बच्ने ।
- रुघाखोकी लागेका मान्छेको सम्पर्कमा नजाने ।
- रुघाखोकीमा हेलचेक्रयाइँ नगर्ने ।
- बच्चालाई निमोनियाको खोप दिने, कुपोषण हुन नदिने ।
- चिसोबाट जोगाउने, वृद्धलाई सामान्य इन्फेक्सन छ भने वेलैमा उपचार गराउने ।
- रोगप्रतिरोधी क्षमता कम भएकालाई पनि वेलैमा जाँच गराउने, लामो समय रुघाखोकी निको नभए रगत जाँच गराउने ।
- चुरोट, बिँडी नखाने, खाने गरेको छ भने बन्द गर्ने ।
- निमोनियाको औषधि चिकित्सकले दिएको समय अवधिभर नछोडी सेवन गर्नुपर्छ ।
बीचमा छोड्यो भने ब्याक्टेरियाको क्षमता औषधिको भन्दा बढ्न गई पुनः बल्झन सक्छ र सो औषधिले काम नगर्न सक्छ ।