काठमाडौं- डिमेन्सिया (बिर्सिने रोग) एक प्रकारको मानसिक रोग हो । डिमेन्सिया भएमा दिमाखको साइजमा परिर्वतन आउन थाल्छ । र निरन्तर परिर्वतन भई बढ्दै जान्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) को तथ्यांक अनुसार ५ करोड मानिसहरुलाई अल्जाइमर हुने गर्दछ । भने हरेक बर्ष १ करोड मानिसमा डिमेन्सिया देखिने गरेको अनुमान गरिएको छ । सन् २०२५ सम्ममा करिब ८ करोड मानिसहरुलाई डिमेन्सिया हुन सक्ने डब्लु एच ओ को तथ्याकंमा उल्लेख गरिएको छ ।
डिमेन्सिया विभिन्न प्रकारका हुन्छन् । त्यसमध्ये अल्जाइमर डिमेन्सिया, भास्कुलर डिमेन्सिया, पार्किन्सन्स डिमेन्सिया, लिब्युबडि डिमेन्सिया, मिक्स डिमेन्सिया, अल्कोहल सम्बन्धि डिमेन्सिया लगायत अन्य थुप्रै डिमेन्सिया हुने गर्दछन् । बिशेषगरी ५० प्रतिशत मानिसहरुलाई अल्जाइमर डिमेन्सिया हुने गर्दछ । डिमेन्सिया बिस्तारै बढ्दै जाने रोग हो ।
डिमेन्सियाका शुरुवाती लक्षणहरुः
तत्कालका घटनाहरु सम्झन नसक्ने
बोल्दा शब्दहरु नआउने
दैनिक गरिरहेको काम सम्झ्न नसक्ने
सिपहरु सम्झन गाह्रो हुने
दोस्रो अवस्थामा देखिने लक्षणहरुः
खाना बनाउने तरिका याद नआउने
शौचालय गए नगएको याद नहुने
आफु बसेको स्थान र समय सम्झन नसक्ने
अरुले भनेको कुरालाई बुझ्न वा बिश्लेषण गर्न नसक्ने
तेस्रो अवस्थाका लक्षणहरुः
स्मरण शक्ति कमजोर हुने आफु बसेको स्थान र समय नै बिर्सने
शौचालय गए नगएको, शौच कहाँँ गरेको थाहा नहुँने
कपडा कसरी लगाउने बिर्सने
आफ्ना सिपहरु बिर्सने
अरुमा निर्भर हुने
भ्रममा पर्ने
डिमेन्सिया बंशानुगत र वातावरणिय कारणले हुने गर्दछ । यो बिशेषगरी ६५ बर्ष पछाडि देखापर्ने समस्या हो तर ६५ बर्ष अगाडि नै देखापर्यो भने यसले भयाबह रुप लिन सक्छ ।
डिमेन्सिया भएका मानिसले आफैलाई हानि पुर्याउने जस्ता व्यवहार देखाउने गर्दछन् । जसका कारण ज्यान पनि जान सक्छ । अन्तिम चरणमा पुगेको अवस्थामा हिंस्रक व्यबहारहरु देखापर्दछन् । त्यसैले आफु र अन्य व्यक्तिलाई हानि पुर्याउन सक्छन् ।
प्रत्येक डिमेन्सियाका लक्षण फरक फरक हुने गर्दछ । त्यसैले उपचार पनि फरक हुन्छ । उच्च रक्तचाप, थाइराइड, टाउकोमा पानी जमेर भएको डिमेन्सिया र भिटामिनको कमीका कारण हुने डिमेन्सिया उपचार गरेर निको पार्न सकिन्छ ।
अन्य डिमेन्सियालाई लक्षण अनुसार हिंस्रक व्यवहार भएका व्यक्ति र स्मरण शक्ति कमजोर भएको व्यक्तिलाई छुट्टा छुटै औषधि दिइन्छ ।
औषधिय उपचार बाहेक म्युजिकल थेरापि, आर्ट थेरापि दिनुपर्छ किनकि डिमेन्सियामा पनि व्यवहारीक र मनोवैज्ञानिक समस्याहरु हुने गर्दछन् ।
स्मरण शक्तिमा समस्या आएको छ वा ध्यान दिन सकेको छैन भने बिशेष अभ्यास गराउनुपर्छ । यि बाहेक पहिला जानेका सिप बिर्सेको छ भने तिनलाई पुन सिकाउनुपर्छ ।
केही औषधिको सेवन गरेर नियन्त्रण गर्न सकिन्छ, तर पूर्ण रूपमा निको हुँदैन । डिमेन्सिया भएका मानिसलाई परिवारको साथको एकदमै आवश्यक हुन्छ ।
(डा.रमन कोइरालासँग गरिएको संवादको केहि अंश । उनि ह्याम्स अस्पतालमा न्युरोसाईक्याट्रिकका रुपमा कार्यरत छन् ।)