बर्ड फ्लू एभियन इन्फ्लूएञ्जा भाइरसको छोटकरी रुप हो। एसियाका विभिन्न देशमा भेटिएको यो भाइरसको पूरा नाम हाइली प्याथोजोनिक एभियन इन्फ्लूएञ्जा अर्थात् एचफाइभ एनवान हो। बर्ड फ्लू कुखुरा र पक्षीहरूको अति सङ्क्रामक रोग हो। यो जतिबेला जहाँ पनि फैलन सक्छ।
बर्ड फ्लू कुखुरा, हाँस, टर्की र जङ्गली चराचुरुङ्गीमा लाग्ने सरुवा रोग हो, र कहिलेकाहीँ सुँगुरमा पनि भेटिएको छ। यो रोग मानिसमा पनि सर्न सक्छ। यो रोग सर्वप्रथम सन् १९७८ मा पक्षीमा र सन् १९९७ मा मानिसमा देखिएको हो। बर्ड फ्लूको सङ्क्रमण भेटिएको विश्वको पछिल्लो ६६ औं मुलुक हो नेपाल।
मानिसमा कसरी सर्छ बर्ड फ्लू
मानिसमा यो रोगको संक्रमण प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा रोगी कुखुरा वा अन्य चरा प्रजातिको नजिक रहँदा फैलने गर्दछ । कुखुरा जिउँदो तथा मरेको जस्तो सुकैबाट सर्न सक्दछ । भाइरस मानिसको आँखा, मुख र नाकको माध्यमबाट सर्न सक्छ ।
हावापानीको माध्यमबाट यो भाइरस अत्यन्त द्रूत गतिमा फैलने र धेरैको ज्यान लिन सक्ने भएकाले बर्ड फ्लूलाई प्राणघातक रोग मानिएको छ ।
कस्ता लक्षण देखिन्छन्
चिकित्सकहरूका अनुसार मानिसलाई अरु फ्लू लाग्दा देखिने लक्षणजस्तै यसका लक्षण पनि हुन्छन्।
- मांसपेशीहरु दुख्ने
- रुघाखोकी लाग्ने
- नाक बाट पातलो पानी बग्ने
- कमजोर भएको अनुभव हुने
- ज्वरो आउने र टाउको दुख्ने
- मन आत्तिनु
- झाडापखाला लाग्नु
- पेटको तल्लो भागमा दुख्नु
- भोक नलाग्ने र बढ्ता तिर्खा लाग्ने
- श्वासप्रश्वासमा असामान्य परिवर्तन हुने
- थुकदा रगत देखिनु
- घाँटीमा जलन हुने
- निमोनिया हुने
चिकित्सकहरुका अनुसार कतिपय लक्षणहरू अचानक पनि देखिन सक्छन् । सामान्यतया भाइरसको सम्पर्कमा आएको तीनदेखि पाँच दिनमा देखिने चिकित्सकहरू बताउँछन्।
कसरी बच्न सकिन्छ
यी कुराहरूमा ध्यान दिन सके बर्ड फ्लुको सङ्क्रमणबाट जोगिन सक्ने चिकित्सकहरू बताउँछन् ...
- फर्ममा बर्ड फ्लु देखिएमा काम गर्नेले स्वास्थ्य परीक्षण गराउनुपर्छ
- पोल्टी फर्ममा काम गर्नेले जैविक सुरक्षामा ध्यान दिनुपर्छ
- खोरमा काम गर्दा आवश्यक मास्क, पन्जा तथा बुट लगाउनुपर्छ
- काम सकेर निस्किने बेला राम्ररी सरसफाइ गरेर मात्रै जानुपर्छ
- सङ्क्रमित कुखुराको मासु बजारमा आउन नदिनेतर्फ ध्यान दिनुपर्छ
- चल्ला र दाना खरिदकर्ताले विक्री गर्ने स्वास्थ्य प्रमाणित गराए वा नगराएको हेर्नुपर्छ
- व्यवसायीले दाना लगायतका सामग्री सँगसँगै कुखुराको ओसारपसार गर्नु हुँदैन
- बर्ड फ्लू नदेखिएका ठाउँबाट मात्रै पशुपक्षी तथा तिनका उत्पादन आयात गर्नुपर्छ
- फर्ममा कुखुरा वा चल्ला मर्न थालेमा सम्बन्धित निकायलाई तत्काल खबर गर्नुपर्छ
- मरेका कुखुरा चलाउँदा विशेष ध्यान दिनुपर्छ, राम्रोसँग तिनको व्यवस्थापन गर्नुपर्छ
- काँचो मासु चलाउने व्यक्तिले पनि ध्यान दिनुपर्छ, कहाँबाट मासु ल्याइएको हो भन्ने कुरा थाहा पाए झन् जाती हुन्छ
- कुखुराको मासु राम्ररी पकाएर खानुपर्छ, ७० डिग्री सेल्सियसमा मासु पकाउँदा भाइरस मर्ने भएकोले आत्तिनु पर्दैन
इन्फ्लुएन्जकाको कुनै पनि शंका लाग्ने बित्तिकै स्वास्थ्य संस्थमा सम्पर्क गर्ने र चिकित्सकको सल्लाह अनुसार गर्ने। चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्ने ।