- जनस्वास्थ्यबिद् डा. अरुणा उप्रेती
काठमाडौं - कोरोना सङ्क्रमणले जटिलतामाथि जटिलता थप्न थालेको छ। कोरोना लागेका बेला ‘कालो ढुसी’ को सङ्क्रमण हुने व्यक्तिको स्वास्थ्यमा जटिल समस्या उत्पन्न हुनसक्छ, मधुमेह भएका व्यक्तिलाई ‘स्टेरोइड’ औषधि चलाउँदा कालो ढुसी भएर आँखा बिग्रिनुका साथै ज्यान जान सक्छ ।
कोरोनाबाट सकेसम्म बच्न मास्क लगाउने र साबुनपानीले हात धुने बाहेक जीवनशैली र खानपानमा ध्यान दिनु पनि जरुरी छ। खानपान र जीवनशैली परिवर्तन गरेर एक–दुई दिनमै रोगसँग लड्ने शक्ति बढ्छ भन्ने पक्कै होइन। तर, दिगो रुपमा स्वस्थ रहन, भविष्यमा पनि कोरोना र कोरोनाजस्ता अन्य सङ्क्रमणबाट बच्न यसो गर्नुपर्छ भन्ने कुरा हामीलाई समयले सिकाएको छ।
पोषण र रोग प्रतिरोधात्मक शक्तिबारे जान्न र त्यसलाई व्यवहारमा उतार्न कोरोना सङ्क्रमण भएर घर बसेकालाई जति जरुरी छ, त्यति नै यो रोगबाट उठेर तङ्ग्रिन लागेकालाई पनि छ। यतातिर सजग भयो भने भविष्यमा उनीहरूलाई सङ्क्रमणको सम्भावना कम हुन्छ। हुन त मैले सम्भावनाकै कुरा गरेकी हुँ, किनभने कतिचोटी त अनेक तरिकाले बच्न खोज्दाखोज्दै पनि रोगले समातिहाल्छ। तर हामीले समस्या नहोस् भनेर प्रयत्न गर्न चाहिँ छाड्नु हुन्न।
शरीरको रोगसँग लड्ने शक्ति कोरोनाको बेला मात्र होइन अरू बेला पनि सुदृढ हुनुुपर्छ। क्षयरोगबाट बच्न पनि रोगसँग लड्ने शक्ति बलियो हुुनुुपर्छ। कुनै चोटपटक लागेर तङ्ग्रिन पनि रोग प्रतिरोधात्मक शक्ति बलियो हुनुपर्दछ। मधुमेह भएपछि रोगसँग लड्ने शक्ति कम हुुन्छ, त्यसैले मधुमेह सकेसम्म नहोस् भनेर प्रयत्न गर्नुपर्दछ।
अहिले कोरोनाकालमा सङ्क्रमण भएर घरमा बसेका मानिससँगै बिरामीले स्वस्थ जीवनशैली र खानपानको महत्त्वबारे बढी बुझ्ने मौका पाएका छन्। तर यो मौकाको कत्तिको उपयोग गर्छन्, हेर्न बाँकी छ।