काठमाडौं - हाम्रो शरिरका विभिन्न अंगहरुको आफ्नो आफ्नै बिशेषताहरु छन् । साथै यिनिहरुले गर्ने काम पनि फरक फरक रहेका छन् । जिबिकोपार्जन गर्नका लागी हातको महत्वपुर्ण भुमिका हुन्छ । धेरैजसो मानिसले हातको घाउ वा चोटपटकलाई बेवास्ता गर्ने गरेको पाइन्छ । यसरी हातको चोटपटकलाई बेवास्ता गर्दा भबिष्यमा के कस्ता समस्याहरु आउन सक्छन् लगायतका बिषयमा ह्याण्ड सर्जन डा. सिलु श्रेष्ठसँग गरिएको कुराकानीको केहि सम्पादित अंशः
१. ह्याण्ड सर्जरी भन्नाले के बुझिन्छ ? नेपालमा यसको सुरुवात कहिलेबाट भयो ?
हात तथा माथिल्लो भाग अर्थात पाखुरासम्मको कुनै पनि समस्याको उपचार गर्नुलाई ह्याण्ड सर्जरी भन्ने बुझिन्छ ।
विश्वमा नै ह्याण्ड सर्जन जनशक्ति विकसित भएको धेरै समय भएको छैन । तर पछिल्लो केहि समय यता विकसित देशहरुमा ह्याण्ड सर्जन एक छुट्टै बिशेषज्ञ जनशक्तिको रुपमा विकसित भएका छन् । नेपालको सन्दर्भमा भन्ने हो भने ह्याण्ड सर्जरीको उपचार यहि समयबाट सुरु भयो भन्न सकिदैँन । अर्थोपेडिक सर्जन र प्लास्ट्रिक सर्जनले बर्षै देखि ह्याण्ड सर्जरी सम्बन्धि सेवा दिदैं आईरहेका छन् । तर पछिल्लो समय यसलाई नै स्पेशिफिक गरेर ह्याण्ड सर्जरीको विकास भएको हो ।
२. ह्याण्ड सर्जरीबारे कमै व्यक्तिहरु मात्र जानकार यसको कारण के होला ?
नेपालमा स्पेसिफिक स्वास्थ्य जनशक्तिको अवधारण सुरु भएको धेरै समय भएको छैन । ह्याण्ड सर्जरी सम्बन्धि सेवा पहिला जनरल सर्जनले दिदैँ आइरहेका थिए । केहि समयपछि छुट्टिएर अर्थोपेडिक सर्जरीको विकास भयो । अर्थोपेडिक भित्र पनि थुप्रै विभागहरु छन् । अर्थोपेडिक सर्जनले नै ह्याण्ड सर्जनको काम गर्दै आइरहेको भएकाले पनि होला ह्याण्ड सर्जरीबारे कमै व्यक्तिहरु जानकार छन् । साथै नेपालमा ह्याण्ड सर्जन जनशक्ति पनि एकदमै कम छन् । ह्याण्ड सर्जरीबारे कम व्यक्तिहरु जानकार हुनुमा यो पनि एक कारण हुनसक्छ ।
३. हातको चोटपटकमा ह्याण्ड सर्जनको भुमिका कस्तो हुन्छ ?
हात हाम्रो शरीरको एकदमै युनिक अंग हो । चार खुट्टे जनावार भन्दा मानिस फरक हुनुमा हात पनि एक कारण हो । दैनिक कार्यको लागी हाम्रो हात महत्वपुर्ण अंग हो । हातले राम्रो काम गर्न धेरै प्रकारको नशाले काम गरेको हुन्छ । हातमा विभिन्न किसीमका नशा र माशंपेशिहरु हुन्छन् । नशाहरु पनि विभिन्न प्रकारका हुन्छन्, जस्तै रगत सञ्चाल हुने, छोएको थाहा पाउने, औलाहरु चलाउन मिल्ने लगायतका नशा, हड्डि र माशापेशिहरु पनि हुन्छन् । बिरामीको हातमा के समस्या भएको हो त्यसको आधारमा उपचार गर्नुपर्ने हुन्छ ।
हड्डि सम्बन्धि समस्या भएमा अर्थोपेडिक सर्जनको आवश्यकता पर्छ । रगतको नलिमा समस्या भएमा माइक्रोस्कोपिबाट हेरेर सिलाई गर्नुपर्ने हुन्छ । बाहिरी छाला गुमेको अवस्थामा प्लास्टिक सर्जरी गरेर ढाक्नुपर्ने हुनसक्छ । ह्ण्याड सर्जरीको तालिममा अर्थोपेडिक सर्जरी, प्लास्टिक सर्जरी र माइक्रोसर्जरी पनि समाबेश हुने भएकाले एउटै सर्जनले यो सबै संरक्षणको उपचार गर्न सक्छन् । त्यसैले हातको चोटपटक उपचारमा ह्याण्ड सर्जनको भुमिका एकदमै ठुलो हुन्छ ।
४. कस्तो अवस्थामा ह्याण्ड सर्जरी गनुपर्ने हुन्छ ?
हात देखि पाखुरासम्मको समस्या जस्तै कुनै व्यक्तिको जन्मजात हात जोडिएको, हात तथा औंला बिग्रिएको छ, बाङ्गिएको, चोटपटक लागेर समयमा नै उपचार नपाएको, उपचार गराउँदा बिग्रिएको, नशा सम्बन्धि समस्या भएमा सर्जरी गर्नुपर्ने हुन्छ । ह्याण्ड सर्जनले नशा सम्बन्धि सुक्ष्म अर्थात माइक्रोस्कोपि सर्जरी गर्ने भएकाले कुनै पनि ठाउँको नशाको उपचार गर्न सक्छन् ।
केहि व्यक्तिहरुको जन्मजात नै हात जोडिएको वा पाँच वटा औंला भन्दा बढि हुने जस्ता समस्या हुन्छन् । औलाहरु बाङ्गो टेडो हुने समस्याको पनि ह्याण्ड सर्जन उपचार गर्ने गर्छन् ।
५. ह्याण्ड सर्जरी कसरी गरिन्छ ?
ह्याण्ड सर्जन भनेको उपचार गराउने सर्जन मात्र होइनन् । बिरामीको पुर्नस्थापन गराउने भन्ने उनिहरुको धारणा हुन्छ । पुर्नस्थापन भनेको बिरामी हुनु भन्दा पहिलाकै अवस्थामा फर्काउनु हो । त्यो गर्न नसके कम्तिमा दैनिक गर्ने काम गर्न सहज बनाउने हो ।
हाम्रो हातको नलिहरु एकदमै मसिना हुन्छन् । जसका कारण नाङ्गो आँखाले सजिलै देख्न सकिदैन । त्यसैले हचुवाको भरमा उपचार गर्नुपर्ने हुन्छ । यसरी उपचार गर्दा आउटकम राम्रो नआउँन सक्छ । ह्याण्ड सर्जनले सुक्ष्म यन्त्रहरु लगाएर शल्यक्रिया गर्ने भएकाले आउटकम राम्रो आउने गर्छ ।
६.चोटपटक लागेर अस्पताल नपुर्याएसम्मको अवस्थामा बिरामीको हेरचाह कसरी गर्नुपर्ने हुन्छ ?
धेरैजसो बिरामीहरु हातमा चोटपटक लागेपछि बढि रगत बगिरह्यो भनेर नजिकैको स्वास्थ्य संस्थामा आकस्मिक कक्षमा भर्ना हुन्छन् । आकस्मिक कक्षमा भर्ना भएपछि रगत बग्न नदिन नशालाई बाधिने काम गरेको हुन सक्छ । यसो गर्दा छेउको थाहा पाउने नशा तथा औला हात चलाउने नशाहरु बाधिने विभिन्न डर हुन्छ । ती बिरामीहरु लामो समयपछि मात्र ह्याण्ड सर्जनको पुग्ने गर्छन् । जसका कारण ह्याण्ड सर्जनलाई पनि शल्यक्रिया गर्न गाह्रो हुन्छ ।
कुनै पनि व्यक्तिको हात काटिए पछि हात माथि ठडाएर राख्ने अनि राम्रो सँग प्याकिंग गरेमा रगत बग्न रोकिन्छ । सामान्यतय सबै व्यक्तिले यो बुझ्न जरुरी हुन्छ । हाम्रो समाजमा हातमा चोटपटक लागेमा सानो चोट हो भनेर बेवास्ता गर्ने गरिन्छ । तर हातमा चोटपटक लागेपछि जतिसक्दो छिटो अस्पताल पुग्नु पर्छ । बिरामीलाई अस्पताल पुर्याउनु अघि अस्पतालमा सम्पर्क गरेर जादा झनै प्रभाबकारी हुन्छ किनकि बिरामीलाई अस्पताल पुर्याउने समयमा असपतालमा सबै तयारी भइसकेको हुन्छ । जसका कारण बिरामीले छिटो उपचार पाउँछन र उपचार सफल हुने सम्भाबना पनि अधिक हुन्छ । हात अथवा औंला पुरै चुडिएकोे छ भने गिलो कपडा अथवा गजमा बेरेर प्लास्टिक ब्यागमा हाल्ने अनि आइस बक्समा राखेर ल्याउँदा जोडिने सम्भाबना राम्रो हुन्छ ।
७. हातमा चोटपटक लागेको कति समयमा अस्पताल पुर्याएमा ह्याण्ड सर्जरी गर्न सकिन्छ ?
बिरामीको चोटपटकको आधारमा मात्र यति समयमा अस्पताल ल्याए सर्जरी गर्न सकिन्छ भन्न सकिन्छ । सबै केशहरु उस्तै हुदैँनन् त्यसैले यति समय एकिनका साथ भन्न सकिदैँन । तर चोटपटक लागेपछि सकेसम्म चाडो अस्पताल जानपर्ने हुन्छ । जति चाडों अस्पताल पुर्यायो त्यति नै उपचार सफल हुने सम्भाबना रहन्छ । एदि बिरामीको पुरै औँला चुडिएको छ भने ढिलो समयपछि असपताल पुग्दा सर्जरी सफल हुने सम्भाबना कम हुन जान्छ ।
हातको तल्लो वा माथिल्लो भाग कहाँ चोटपटक लागेको छ त्यसको आधारमा पनि उपचार कति सफल हन्छ भन्न सकिन्छ । नाडि भन्दा माथिको भागहरु पुरै काटिएको छ भने राम्रोसँग आइसमा राखेर १० देखि १२ घण्टा सम्म अस्पताल पुर्याएमा पनि जोडिन सक्छ । नाडि भन्दा तलको भाग काटिएको छ भने धेरैमा ६ घण्टाभित्र अस्पताल ल्याइसक्नुपर्ने हुन्छ ।
८. हातमा चोटपटक लागेमा बिरामीलाई अन्य चिकित्सककोमा उपचार गराउनु र ह्याण्ड सर्जनकोमा उपचार गराउनुमा के फरक पाउँन सकिन्छ ?
हात संरक्षण गर्नु एकदमै जटिल हुन्छ । यहाँ छोएको थाहा पाउने नशा रगत संञ्चालन हुने नशा र हातको औला चलाउने नशा लिगमेन्ट र हड्डि एकअर्कामा सम्बन्धित हुन्छन् । हात थोरै काट्दा पनि यि सबै नशालाई छोएको हुनसक्छ । हयाण्ड सर्जनको तालिममा हड्डि फिक्स गर्ने, टेन्डन सिलाउने, प्लास्टिक सर्जरी गर्ने सबै प्रकारको तालिम पाएको हुन्छ । हातले राम्रो काम गर्न यि सबै संरक्षणको उचित उपचार हुन जरुरी छ । त्यसैले कुनै व्यक्तिको हातमा विभिन्न कारणले चोटपटक लागेको छ भने ह्याण्ड सर्जनले उपचार गर्दा आउटकम राम्रो आउने सम्भाबना बढि हुन्छ ।
९. ह्याण्ड सर्जरी गर्दा काटिएको हात जोडिने सम्भाबना कति हुन्छ ?
ह्याण्ड सर्जरी गर्दा काटिएको हात जोडिने सम्भाबना बिरामीको चोटपटक कसरी लागेका होे, बिरामीको उमेर कती छ, अस्पताल कति समयअबधि भित्र आइपुगेको छ भन्ने कुरामा भर पर्छ । छुराले काटेर (क्लिन कट) समयमा अस्पताल आएको छ भने हात जोडिने सम्भाबना धेरै हुन्छ ।
बिरामीको हात चुडिएको छ र समयमा अस्पताल नपुर्याएमा उपचार सफल हुने सम्भाबना कम हुन जान्छ । त्यस्तै, बिरामीको उमेर ६० काटिसकेको छ । साथै दिर्घ रोग जस्तै मधुमेह र उच्च रक्तचाप भएमा पनि सफल उपचार हुने सम्भाबना कम हुन्छ ।
धुम्रपान गर्ने व्यक्तिहरुमा पनि ह्याण्ड सर्जरी गर्दा जोडिने सम्भाबना कम हुन्छ । अस्पताल ल्याउनमा ६ घण्टा भन्दा बढि समय लागेको छ, चुडिएको वा काटिएको हातमा धुलो वा माटो लागेको छ भने यस्तो अवस्थामा पनि जोडिने सम्भाबना कम हुन्छ ।
१०. कति पटक सम्म ह्याण्ड सर्जरी गर्न सकिन्छ ?
केश हेरेर हुन्छ । धेरैजसो एकै चोटि सबै काम सकाउने गरी गरिन्छ भने कुनै स्टेज गरेर गर्न पर्ने हुन सक्छ । कहिलेकाहि रगतको नलि जाम हुने वा रगतको ढिक्काहरु जम्ने हुन्छ । यस्तो अवस्थामा २४ घण्टा भित्र शल्यक्रिया गरेर सफा गरेर पुनरस्थापना गर्न मिल्छ ।
११. ह्याण्ड सर्जरीबारे आम मानिसले के बुझन् जरुरी छ ?
हात हाम्रो शरीरको एकदमै महत्वपुर्ण र बढि प्रयोगमा आउने अंग हो । त्यसैले हातमा आएका समस्यालाई बेवास्ता नगरौं । यस्ता समस्यालाई बेवास्ता गर्दा भविष्यमा समस्या बढदै जाने र खर्च पनि धेरै लाग्न सक्छ । त्यसैले सचेत रहनुहोस् ।
कुनै व्यक्तिलाई हातमा समस्या भएमा सबै ठाउँमा ह्याण्ड सर्जनहरु नहुन सक्छन् । तर सकेसम्म बिशेषज्ञसँग नै उपचार गराउने कोसिस गर्नुपर्छ जसका कारण बिरामीको समस्याको सफल उपचार गर्न सकिन्छ । एक चोटि शल्यक्रिया भएपछि दोहोरो शल्यक्रिया गर्नु परेमा शल्यक्रिया झन जटिल, महंगो र लामो पुर्नस्थापना लाग्ने हुन्छ ।