काठमाडौं - जन्मिएको २८ दिन सम्मको शिशुलाई नवजात शिशु भनिन्छ । यो अवस्थामा शिशुको बिशेष स्याहार गर्नुपर्छ ।
शिशु जन्मनासाथ सफा तथा नरम कपडाले पुछेर न्यानो कपडा लगाइदिनुपर्छ । शिशु जन्मेको एक घण्टाभित्र नवजात शिशुलाई आमाको बेगौती दूध खुवाउनु पर्दछ । त्यसका साथै समय समयमा शिशुलाई स्तनपान गराउनुपर्छ ।
स्वास्थ्यकर्मीको सल्लाह अनुसार शिशुको नाइटो सफा राख्नुपर्छ । साथै नाइटोमा सङ्क्रमण हुन नदिन क्लोरहेक्साडिन मल्हम लगाइदिनु पर्छ ।
नवजात शिशुलाई २४ घण्टासम्म नुहाइदिनु हुँदैन । स्वस्थ शिशुलाई चिकित्सकको सल्लाह र मौसम अनुसार हप्तामा दुई पटक मन तातोपानीले नुहाइदिन पर्छ । तर अस्वस्थ र कम तौल भएको शिशुलाई नुहाउदाँ अन्य समस्या आउन सक्ने भएकाले स्वास्थकर्मीको सल्लाह अनुसार मात्र नुहाउनु पर्छ ।
सुत्केरी भएको पहिलो, तेस्रो र सातौं दिन नवजात शिशु वा सुत्केरी आमा दुबैको स्वास्थ्य परीक्षण गराउनुपर्छ । त्यसबाहेक अन्य समयमा नवजात शिशु वा सुत्केरी आमामा केहि जटिलता देखिएमा उपचारका लागि तुरुन्तै स्वास्थ्य संस्था लैजानु पर्छ ।
नवजात शिशुलाई पहिलो पटक क्षयरोग विरुद्धको बि.सि.जी ( Bacillus Calmette–Guérin) खोप जन्मने वित्तिकै लगाउनु पर्छ । त्यसैगरी एक बर्षभित्र शिशुलाई डी.पी.टी ( Diphtheria Pertussis Tetanus) , हेपाटाइटिस बी र दशौं , छैठौं र चौधौं हप्तामा तीन पटक हिब (Haemophilus influenzae type B) सुइ लगाउनु पर्छ । दादुरा र रुबेला बिरुद्धको खोप भने दुई मात्रा लगाए पुग्छ त्यसै गरि पोलियो थोपा तीन पटक खुवाए पुग्छ ।
शिशुलाई भोक लागेको समयमा स्तनपान गराउनुपर्छ । स्तनपान गराइरहेकी आमाले पर्याप्त मात्रामा पौष्ट्रिक आहार खानु पर्ने हुन्छ ।
कम तौल (२.५ किलोभन्दा कम) भएको शिशु जन्मिएमा विशेष प्रकारको स्याहार गर्नुपर्छ । नवजात शिशुमा यस्ता जोखिमका संकेत देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा लैजानु पर्छः
छिटो छिटो सास फेरेमा (प्रति मिनेट ६ पटक वा सोभन्दा बढी)
कडा कोखा हानेमा
सुस्त, बेहोस् वा चालमा कमि आएमा
आमाको दूध राम्ररी चुस्न नसकेमा
हात र खुट्टा छाम्दा चिसो भएमा
ज्वरो आएमा, निधार, काखी र पेट छाम्दा तातो भएमा
नाइटो पाकेको वा छालामा पीप भरिएका फोकाहरू भएमा