काठमाडौं - कुनै पनि गर्भवती महिलाको मन्जुरीमा कानुनले मान्यता दिए अनुसार सुचिकृत स्वास्थ्यकर्मीद्धारा सूचीकृत स्वास्थ्य संस्थामा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ । यस बाहेक अरुबाट लिइएको गर्भपतन सेवा असुरक्षित हुन्छ ।
के के समस्याहरु हुन सक्दछन् ?
सरकारी एवं गैरसरकारी स्तरबाट सुरक्षित गर्भपतन सेवाहरु जिल्ला एवं समुदाय तहसम्म पुर्याइएको भएता पनि केही महिलाहरुले असुरक्षित तरिकाले जस्तै जडिबुटीको प्रयोग, सुचिकृत नभएको स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबाट असुरक्षित गर्भपतन गराइरहेको छन् ।
यसरी असुरक्षित तरिकाबाट गर्भपतन गराउँदा निम्न समस्याहरु हुन सक्छन् :
बाँझोपन हुन सक्ने ।
गर्भपतन पूर्ण रुपमा नभई बढी रगत बग्ने ।
पाठेघरमा संक्रमण हुने ।
पाठेघरमा चोटपटक लागेर पाठेघर नै निकाल्नुपर्ने अवस्था आउन सक्ने ।
महिलाको मृत्यु समेत हुन सक्ने ।
असुरक्षित गर्भपतनबाट हुनसक्ने माथिका समस्याहरुबाट महिलाहरुलाई धेरै दिन अस्पतालमा बस्नुपर्ने हुनाले परिवारलाई आर्थिक र सामाजिक समस्या पनि हुन सक्छ । असुरक्षित गर्भपतन गर्नाले महिलाको ज्यानै जान सक्ने हुनाले असुरक्षित गर्भपतन कदापि गराउनु हुदैँन ।
सुरक्षित गर्भपतन गर्ने तरिकाहरु के-के हुन् ?
सुरक्षित गर्भपतन दुई तरिकाबाट गर्न सकिन्छ
१. औषधिको प्रयोगद्धारा :९ हप्ता (६३ दिन) सम्मको गर्भलाई औषधीको प्रयोगद्धारा सुरक्षित गर्भपतन गर्न सकिन्छ ।
२. उपकरणको प्रयोगद्धारा :१२ हप्तासम्मको गर्भलाई साधारण उपकरणको प्रयोगद्धारा सुरक्षित रुपमा गर्भपतन गर्न सकिन्छ ।
विशेष अवस्थाहरुमा १२ हप्ताभन्दा माथिको गर्भलाई पनि औषधिद्धारा (MI) र उपकरणद्धारा (D&E) सुरक्षित साथ गर्भपतन गर्न सकिन्छ । हाल यो सेवा केही जिल्ला, अञ्चल, क्षेत्रिय र विशेष सुविधायुक्त अस्पतालहरुमा उपलब्ध छ ।
माथिका सबै विधिहरु गर्भपतन गराउँदा ९८ प्रतिशत प्रभावकारीता छ र साथै यी विधिहरुबाट गर्भपतन गर्दा कुनै चिरफार गर्नु पर्दैन ।