काठमाडौं — एक नीजि औषधी पसलमा अन्दाजी १७ बर्षकी नुवाकोट घर भएकी मनिषा पाण्डे (नाम परिर्वतन) असुरक्षित गर्भपतनका लागि औषधी लिन आइन । चिकित्सकको सल्लाहविना नै सिधै पसलबाट उनले असुरक्षित गर्भपतन गर्नका लागि औषधी लिएर गइन। यसरी सानै उमेरकी किशोरीले गर्भपतन गर्ने औषधि किनेर लैजादाँ म आश्र्चर्यचकित भए ।
मौतिदेवीस्थित सो औषधी पसलका संचालक आफूकहाँ दैनिक १६, १७ बर्षका चार पाँच जना किशोरीहरु असुरक्षित गर्भपतनको औषधी लिन आउने गरेको बताउँछन । “कतिलाई त यसरी खानु हुदैन स्वास्थ्यमा असर पुग्छ भनेर सम्झाइ बुझाइ गर्ने कोसिस गर्छु,” उनले भने, “ कतिले यो औषधी पहिलो पटक खाएको हो अब गर्दिन भन्छन् कोही त धेरै मर्कामै परेर धेरै पैसा दिन्छु दिनुन भन्ने जस्ता कुरा गर्छन ।” उनले एउटै मानिस ३/४ पटक सम्म पनि औषधि लिन आउने गरेको बताए ।
शहर बजार होस वा ग्रामिण भेगमा यस्ता असुरक्षित साधनद्धारा गर्भपतन गराउँनेको संख्या बढ्दो छ । छोरा पाउँने आशामा गोरखा कि सम्झना तिवारीको (नाम परिर्वतन) परिवारले भूर्ण पहिचान गर्दै ४ पटक सम्म गर्भपतन गराएको उनी बताउँछिन । यसरी बारम्बार गर्भपतन गराउँदा विगत एक वर्ष देखि गर्भ नबसेकोले काठमाडौं उपचारका लागि आएकी उनी ३ छोरीकी आमा हुन् । छोरा छोरी जे भएपनि आफूलाई भेदभाव नलागे पनि परिवारको दबाबमा आएर गर्भपतन गराउदै आएको उनले बताइन । गाह्रो हुदैन दिदि मेरो प्रश्न थियो भाबुक हुदै उनि भन्छिन् “गाह्रो त कति हो कति तर सहनै पर्यो । उपचार गराउन जादा अस्पतालमा सबैकुरा सोध्छन् साचो कुरा भन्नै पर्यो धेरै पटक गर्भपनत गरेका कारणले पाठेघरमा समस्या भएको चिकित्सक बताउँछन् । तर घरमा सधै किचकिच हुन्छ छोराको लागि कि नाती चाहियो कि अर्को बुहारी भित्राउछु भनेर सासु करकर गर्नु हुन्छ आफ्नो ज्यान आधा भइसक्यो ।”
माथि लेखिएका उदाहरणले हाम्रो देशमा अझैपनि भ्रुण पहिचान गर्दै होस् वा असुरक्षित यौन सम्पर्कबाट लुकिछिपी र आमरुपमा असुरक्षित गर्भपतन गराउनेको कमी भने छैन बुझ्न सकिन्छ ।
असुरक्षित गर्भपतनले निम्त्याउने समस्या:
वरिष्ठ स्त्री रोग विषेशज्ञ तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन् 'चिकित्सक सल्लाह नगरि जथाभाबि रुपमा असुरक्षित गर्भपतनको तरीका अपनाउदाँ कुनै न कुनै जीवनकालमा स्वास्थ्यमा जटिल समस्या आउँछ ।'
उनले सुरक्षित गर्भपतनका लागि सरकारले नै कानुन अनुसार छुट दिएको जानकारी दिदै कतिपयले थाहा पाएर पनि सुरक्षित गर्भपतन नगरेर आफूखुशी पसलबाट औषधी खादै गर्भपत गराउनको संख्या धेरै रहेको बताए ।
“ कहिलेकाही गर्भ पाठेघरमा नबसेर बाहिरी नलिमा पनि बसेको हुन्छ यसरी चेक नै नगराई औषधी पसलबाट सिटामोल किने जसरी गर्भपतन गर्ने औषधी किनेर खादाँ नली फुटेर ती महिलाको मृत्यु समेत हुन सक्छ,” उनी भन्छन, “स्वास्थ्य संस्थामा स्वास्थयकर्मीको सल्लाह विना गर्ने गर्भपतन कुनै पनि किसीमले सुरक्षित हुदैन ।” लिगं पहिचान गरेर गर्भपतन गर्नु पा गराउनुलाई गैरकानुनी मानिन्छ । साथै यस्तो अवस्थामा गर्भपतन गराए महिलाको स्वास्थ्य पनि गम्भिर असर पर्ने डा. गौतम बताउँछन् ।
असुरक्षित गर्भपतन गर्दा पाठेघर फुट्ने, चोटपटक लाग्ने र भविष्यमा पाठेघर सम्बिन्ध धेरै खाले रोगहरु लाग्नुका साथै अर्को निसन्तान जस्ता समस्याहरु आउने डा. गौतमले बताए ।
गर्भपतन परिवार नियोजनको विकल्प हैन:
कुनै पनि महिलाले १२ हप्ता सम्मको गर्भ चाहिनन् भने सुरक्षित गर्भपतन गर्न पाउँने कानूनी व्यवस्था रहेको छ ।
गर्भवति महिला र उनको पेटमा रहेको शिशुको मानसिक र शारीरिक स्वास्थ्यमा धेरै नराम्रो असर परेको छ भने त्यो गर्भ जतिबेला पनि फाल्न सकिने काठमाडौं मेडिकल कलेजकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा बरिष्ठ स्त्री तथा प्रसूति विशेषज्ञ डा.चन्दा कार्कीले बताइन । चिकित्सको सल्लाह नलिइ गरिने गर्भपतन महिलाको शरीरिक र मानसिक दुबैका लागि हानीकारक भएको उनी बताउछिन । “नचाहिने बच्चा गर्भ धारण नै गर्ने होइन तर कहिलेकाहि अनुच्छिक गर्भ बस्यो र गर्भवति महिलाले बच्चालाई जन्म दिनै नसकेको खण्डमा ठिक हो तर गर्भपतन परिवार नियोजनको विकल्प हैन भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको छ,” डा. कार्की भन्छिन, “ महिलाले मात्र परिवार नियोजनको साधन प्रयोग गर्नु पर्छ भन्ने छैन् पुरुषले पनि यो बारम्बार गर्भपतन गर्दा महिलाको सवास्थ्यमा नराम्रो असर पर्छ भन्ने कुरा बुझ्न आवश्यक रहेको छ । ”
४२ प्रतिशतले मात्र सुरक्षित गर्भपतन सेवा लिदै:
असोज १० गते १८ वर्ष अगाडि मुलुकी ऐनको ११ औं संशोधन मार्फत महिलाहरुले गर्भपतन गराउन पाउने प्रत्याभुति पाएका थिए । नेपालको कानुनले प्रजनन स्वास्थ्यको अधिकार सहित गर्भपतनको अधिकारलाई मान्यता दिएको छ ।
समान सम्बर्दन परिपूर्ती गर्दै गुणस्तर सर्वसुलब पहुच योग्य सेवा बनाउँने अवधारणका साथ सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ जारी गरि लागु समेत गरिसेकेको छ । स्वास्थ्य सेवा विभागकी वरिष्ठ जनस्वास्थ्य अधिकृत निशा जोशीका अनुसार गर्भपतनले कानुनी मान्यता पाएको १८ वर्ष बितिसक्दा पनि अहिले केवल ४१ प्रतिशत महिलाहलाई मात्र सुरक्षित गर्भपतनले कानुनी मान्यता पाएको थाहा छ । भने ४२ प्रतिशत महिलाले मात्र यो सेवा उपभोग गरिरहेका छन् । अझै पनि ५८ प्रतिशत महिला तथा किशोरीले असुरक्षित गर्भपतन गदै आइरहेका छन ।
सुरक्षित गर्भपतन गर्न पाउने कानुन बनि सक्यो तर धेरै मानिसलाई यसबारे थाहा छैन भन्ने प्रश्नमा डा.जागेश्वर गौतम भन्छन् “ हरेक मानिसलाई विभिन्न माध्यमबाट अब आवश्यक परेको खण्डमा सुरक्षीत गर्भपतन गर्न पाइन्छ भनेर सू-सुचीत गर्नु पर्छ । असुरक्षित गर्भपतनबाट महिलालाई जोगाउन र सुरक्षित गर्भपतनका बारेमा विद्यालय तहको पाठ्यक्रममै यस सम्वन्धी विषय समेटिन आवश्यक छ । ”विश्वमा प्रत्येक वर्ष २ करोड ५० लाख महिलाले असुरक्षित गर्भपर्तन गराउँछन् । यसबाट प्रतिवर्ष ४४ हजार महिलाको मृत्यु हुन्छ भने ५० लाख महिलामा दीर्घकालीन समस्या निम्तिने विभिन्न अध्ययन अनुसन्धानले देखाएको छ ।
नेपालको हालको तथ्याकं अनुसार ४ हजारको हाराहारीमा चिकित्सक, नर्स तथा अनमिहरुलाई तालीम प्रदान गरि करिब १५ सय स्वास्थ्य संस्थाहरुबाट सुरक्षित गर्भपतन सेवा संचालन भइहेको जनस्वास्थ्य निशा जोशीले बताइन । यस्ता संस्थाहरुबाट १३ लाख महिलाहरुले सेवा लिएका छन् । हाल सुरक्षित गर्भपतनले महिलाहरुको मौलिक हकलाई सुनश्चित गर्नुका अलावा नेपालका महिलाहरुले विभिन्न समस्याबाट ज्यान गुमाउने मध्ये ५ औ स्थानमा रहेको मातृमृत्युदरमा कमी ल्याउन उल्लेखनिय भूमिका समेत खेलेको छ ।
के छ ऐनमा
नेपालमा विस २०५९ सालदेखिमा सरकारले गर्भपतनलाई कानुनी मान्यता प्रदान गरेको थियो । तर, सुरक्षित गर्भपतन सेवाको सुरुवात भने २००४ मा भएको हो । जस अनुसार महिलाको मन्जुरीमा १२ हप्ता सम्मको गर्भ, जबरजस्ती करणी र हाडनाता करणीबाट हुन गएको १८ हप्ता सम्मको गर्भ र गर्भपतन नगराएमा गर्भको कारणले महिलाको जीवन र स्वास्थ्यमा खतरा पर्ने भएमा, शारिरीक तथा मानसिक रुपले महिलाको अवस्थ्यामा असर पर्ने भएमा र विकलाङ्ग बच्चा जन्मन सक्ने भएमा योग्य चिकित्सकको रायले जुनसुकै अवधिको गर्भ गर्भपतन गर्न पाईने व्यवस्था छ ।
त्यस्तै, जबर्जस्ती करणी वा हाडनाताबाट रहन गएको गर्भ पनि महिलाको मञ्जुरीमा २८ हप्तासम्म गर्भपतन गराउन पाइने व्यवस्था ऐनमा छ । डा.चन्दा कार्की भन्छिन् “२८ हप्तासम्म गर्भपतन गर्न पाउँने नियम एक किसिमले ठिक पनि हो बलात्कारबाट गर्भ बसेको खण्डमा महिला मानसिक रुपबाटै बिच्छित हुन्छिन् त्यो बच्चालाई जन्म दिएर कँहा राख्ने हाम्रो समाजमा त्यस्तो व्यवस्था कहाँ छ र यो अवस्थामा गर्भपतन गराउँन जरुरी हुन्छ । ”
२८ हप्ताको गर्भपतन गर्ने सम्बन्धी व्यवस्था कुनै पनि चिकित्सकले कार्यान्वयन नगर्ने डा. जागेश्वर गौतम बताउँछन् । उनि भन्छन् “ २२ हप्ता भन्दा पछिको गर्भपतन गर्नै हुँदैन । २७ हप्तासम्ममा त ज्युँदो बच्चा जन्मिन्छ । हामी जन्मनयोग्य बच्चा मार्न सक्दैनौं ।”
२०७५ साल भदौ ३१ मा संसदबाट पारित भएको ऐन असोज २ गते नै प्रमाणीकरण भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो ऐन कार्यान्वयनका लागि निर्देशिका बनाएको छ ।
कृपा संस्थाको तथ्याकं अनुसार नेपालमा सन् २०१४ मा करिव ३ लाख २३ हजार गर्भपतन भएको अनुमान गरिएको छ । यो संख्या १५ देखि ४९ वर्ष उमेर समूहका प्रति हजार महिलाहरुमा ४२ गर्भपतन हुन आउँछ । नेपालका प्रजनन् उमेरका प्रति एक हजार महिलाहरुमा अनिच्छित गर्भको दर ६८ प्रतिशत रहेको थियो । यो दर दुर पश्चिमाञ्चल विकास क्षेत्रमा प्रति एक हजारमा ४७ प्रतिशत थियो भने, मध्यमाञ्चलमा ८५ प्रतिशत हेको थियो ।
सुरक्षित गर्भपतको नेपालमा के छ पछिल्लो तथ्याकंः
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण माहाशाखाका अनुसार आर्थिक वर्ष २०७५ / ७६ मा सुरक्षित गर्भपतन सेवा लिनेहरुको संख्या ९५ हजार ६ सय ७३ रहेको छ । जसमध्ये ६३ हजार ५ सयले मेडिकल सेवाद्धारा सुरक्षित गर्भपतन गराएका थिए भने ३२ हजार १ सय ७३ जनाले सर्जिकल सेवा मार्फत सुरक्षित गर्भपतन गराएका छन्। २० वर्ष उमेर समुह भन्दा मुनीका सुरक्षित गर्भपतन गराउँनेको संख्या १० हजार १ सय ९३ छ भने २० वर्ष भन्दा माथीका ८५ हजार ४ सय ८० रहेका छन् ।
त्यस्तै आर्थिक वर्ष २०७६ / ७७ मा सुरक्षित गर्भपतन सेवा लिनेहरुको संख्या ८५ हजार ४ सय ९२ रहेको छ । जसमध्ये ५८ हजार ५ सय ८२ जनाले मेडिकल सेवाद्धारा सुरक्षित गर्भपतन गराएका थिए भने २६ हजार ९ सय १० जनाले सर्जिकल सेवा मार्फत सुरक्षित गर्भपतन गराएको थिए । २० वर्ष भन्दा मुनीका सुरक्षित गर्भपतन गराउँनेको संख्या ८ हजार २ सय २३ छ भने २० वर्ष भन्दा माथीका ७७ हजार २ सय ६९ रहेका छन् ।
लकडाउन अवधिभर नेपालमा सुरक्षित गर्भपतन गर्नेको संख्या २२ हजार ७ सय ६९ जनाले गराएका छन् । जसमध्ये २० वर्ष भन्दा मुनीका २ हजार २ सय २१ रहेको छ भने २० माथीका २० हजार ५ सय ४८ रहेका छन् ।