काठमाडौं- कोरोना व्यवस्थापन निर्देशक समितिको बैठकले असार दोस्रो सातादेखि ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको छ। समितिको बुधबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम रोक्ने र अत्यावश्यक बस्तु उत्पादन तथा आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ गर्ने निर्णय गरेको हो।
बैशाख ३१ गतेबाट पुनः काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा असार ७ गतेसम्म थप गरिएको थियो।
‘अबको साता अर्थात असार ७ गतेसम्मको लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको बैठक समितिका एक सदस्यले बताए ।
सवारी साधनमा जोर र बिजोर, सरकारी कार्यालय सातामा दुई दिन बिदा, निश्चित क्षेत्र मात्रै खोल्नेलगायतका विकल्पमा छलफल गरी स्मार्ट लकडाउन गर्न लागिएको हो।
बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशिया जस्ता देशहरुमा हवाइ उडान पुनः संचालन गर्ने निर्णय गरेको छ।
त्यस्तै वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सरकारले क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ।
बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई सक्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने अभिव्यक्ति राखेका थिए।