कुष्ठरोग भनेको विशेषगरी छाला र नसामा देखिने रोग हो । यो एउटा आँखाले देख्न नसकिने लेप्रा भन्ने किटाणुबाट हुने सरुवा रोग हो । तर यो ज्यादै कम मात्रामा सर्छ । सँगै बस्दैमा, खाँदैमा, हिँड्दैमा यो रोग सर्दैन । उपचार नगरी निकै लामो समय सँगै बस्दा भने यो रोग सर्ने सम्भावना धेरै हुन्छ । यो रोग लाग्दा रातो तथा हल्का फुस्रो रङ्गको दाग देखिने, अनुहारको छाला बाक्लो हुने, छालामा गिर्खा देखिने, स्नायुमा असर गर्दा हात खुट्टामा छुदाँ थाहा नहुनेुका साथै मांशपेशी पनि कमजोर हुने हुन्छ ।
नियमित उपचारबाट कुष्ठरोग पूर्णरुपमा निको हुन्छ, एक मात्रा बहुऔषधि सेवन गरेमै ९९.९ प्रतिशत किटाणु निस्कृय भइ रोग निको हुन्छ । कुष्ठरोगको उपचार स्वास्थ्य संस्थामा निःशूल्क पाइन्छ । यदी समयमै उपचार नगरेर अपांगता हुन सक्ने संभावना रहन्छ । उपचारपछि पनि लामो समयसम्म छुँदा थाहा नहुने दाग रहन सक्छ ।
कसरी सर्छ
धेरै चिकित्सकहरूले रोगीको नाक तथा मुखबाट निस्किएका सिँगान, र्यालको माध्यमबाट यो रोग सर्छ भन्ने विश्वास गरिन्छ । विशेष गरी, सङ्क्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा यो रोग सर्ने सम्भावना बढी हुन्छ । त्यसैगरी, सङ्क्रमणले अति बढी गाँजेका रेगीको फाटेको छालाबाट निस्केको पानीको सम्पर्कमा आउँदा पनि यो रोग सर्ने सम्भावना हुन्छ । खतरनाक कुरा के छ भने यो रोग लगाउने किटाणु माइक्रो ब्याक्टेरियम लेप्री कम तापक्रममा धेरै दिनसम्म पनि बाँच्न सक्छ । कुष्ठरोग यसरी नै सर्छ भन्ने अहिलेसम्म कुनै पनि अनुसन्धानले स्पष्ट धारणा राख्न सकेको छैन ।
लक्षणहरु
शरीरमा छुँदा थाहा नहुने फुस्रो वा हल्का रातो दाग देखिनु ।
आखीभौँ लगायतका रौँहरू झर्नु ।
हातखुट्टाका औँला कमजोर हुँदै खुम्चिएर अंगभंग हुनु ।
खुट्टा निरन्तर झमझमाउनु ।
हातखुट्टा छुँदा थाहा नहुनु ।
स्नायु सुन्निनु वा दुख्नु ।
मांसपेशी कमजोर हुनु ।
कानको लोती बाक्लो हुनु ।
अनुहार र शरीरमा गिर्खाहरू देखिनु ।
छाला चम्किलो र चाक्लो हुनु ।
उपचार
चिन्ह र लक्षणको आधारमा कुष्ठरोग दुई प्रकारले विभाजन गर्न सकिन्छ । पौसी व्यासिलेरी (कम किटाणु भएको) मल्टिव्यासिलरी (बढी किटाणु भएको) जस अनुसार कम किटाणु भएकाले ६ महिना र बढी किटाणु भएकालाई १२ महिना औषधि नियमित सेवन गर्नु पर्दछ ।
हालसम्म बहुऔषधिबाट उपचार पूरा गर्नेको संख्या १८०००० भन्दा बढी छ । कुष्ठरोगका बिरामीको नजिकमा रहने जो कोहीले पनि कुष्ठरोगको परीक्षण गराउनु पर्छ ।
एजेन्सी