काठमाडौं- सामान्यतया मोटोपन भनेको शरीरमा अनावश्यक बोसोको मात्रा जम्मा भएर मानिसको उचाइको अनुपातमा तौल बढी हुनु हो ।
तौल बढ्न थाले पछि सुरुमा मानिसको पेट ठूलो भएको जस्तो देखिन्छ । कम्मरमा मासुको मात्रा बढेर झुण्डिन थाल्छ र कम्मरको साइज ठूलो हुँदै जान्छ । पाखुरा र फिलाहरु पनि मोटो हुँदै जान्छ । गाला तथा च्यापुमा पनि मासु बढ्दै गएको देखिन्छ । छिटो हिड्दा, भ¥याङ चढ्दा, भारी सामान बोक्दा स्वाँ स्वाँ हुने जस्ता समस्याहरु बढ्दै जान्छन् ।
सामान्यतया मानिसहरु पातलो वा अत्याधिक मोटो छ भन्ने हेर्दा पनि त्यति राम्रो देखिदैन । तर कुनै व्यक्ति धेरै मोटाएको छ वा दुब्लाउदै गएको छ भने के कारणले तौल कम वा बढ्दै गइरहेको थाहा पाउन आवश्यक हुन्छ ।
उचाइ अनुसार तौल बढि वा कम छ भनेर यसरी थाहा पाउन सकिन्छः
सवैभन्दा सजिलो तरिका चाहिँ उचाइको नापमा९सेमी० १०० घटाउनु नै हो । कुनै व्यक्तिको उचाइलाई सेन्टी मिटरमा नाप्ने र त्यसमा १०० घटाउँदा जति आउँछ त्यो अंक वरावरको तौल ९किलो ग्राम० सामान्य वा ठिक्क मानिन्छ । जस्तोः उदाहरणको लागि कसैको उचाइ १६० सेमी छ भने , त्यसमा १०० घटाउँदा ६० बाँकी रहन्छ । यदि उक्त व्यक्तिको तौल ६० किलोग्रामको आसपासमा छ वा ५८ देखि ६२ किलो ग्रामका बीचमा छ भने तौल सामान्य मान्न सकिन्छ । उचाइको आधारमा जति जति तौल बृद्धि हुँदै गयो मोटोपनले शरीमा पु¥याउन सक्ने हानीको खतरा पनि बढ्दै जान्छ ।
वर्तमान अवस्थामा मोटोपन वृद्वि हुनुका मुख्य कारणहरु मध्ये कम हिडाइ, बढी खाना, मैदा, बोसो र जंक फुड नै हुन् ।
मोटोपनका कारण लाग्ने रोगहरु
मोटोपनका कारण धेरै किसिमको रोगहरु लाग्ने सम्भावना हुन्छ । घुँडा तथा जोर्नीहरु दुख्ने समस्या देखि लिएर मुटुको रोग सम्म हुनसक्छ । मोटा व्यक्तिहरुलाई मधुमेह लाग्ने सम्भावना धेरै हुन्छ । मधुमेह लागि सकेपछि मिर्गौला, कान र आँखामा पनि समस्या देखा पर्न सक्छ । मोटोपन र उच्च रक्तचाप पनि एक आपसमा सम्वन्धित छन् । उच्च रक्तचापले पनि मिर्गौैला र मुटुमा समस्या पार्छ ।
विभिन्न तथ्यांकहरुले देखाए अनुसार विकसित देशमा ज्यादा खाना, व्यायामको कमिले गर्दा मोटोपन बढेर मुटु रोगका समस्या बृद्धि भई मृत्युको कारण बन्न पुगेको छ । मोटोपनको कारणले विभिन्न किसिमका क्यान्सरहरु पनि हुन सक्ने कुराहरु प्रकाशमा आइसकेका छन् । मोटोपनका कारण महिलाहरुमा पाठेघर, पाठेघरको मुख, स्तन, अण्डाशय, पिसाबथैली, ठूलो आन्द्राको क्यान्सर हुन सक्छ । पुरुषलाई मोटोपनका कारण प्रोस्टेट क्यान्सर हुने सम्भावना धेरै हुन्छ । खुट्टाका रगतका नसाहरु सुनिने, घुँडा दुख्ने, ढाड दुख्ने आदि समस्याहरु पनि मोटोपनका कारण देखापर्छन ।
बाल्यकालमा मोटोपन भएपछि किशोर अवस्थामा पनि मोटोपन रहिरहन्छ । अत्यधिक मोटोपन साथै जंक फुडले गर्दा किशोरीहरुको महिनावारीमा पनि समस्या पर्न सक्छ । विवाह पछि पनि गर्भ रहन गाह्रो हुन्छ । किशोरहरुको पनि मोटोपनले धेरै समस्या ल्याउँछ । हिड्न दौडन गाह्रो हुन्छ र यसले गर्दा उनीहरुलाई मुटु रोग, मधुमेह पनि हुन सक्छ । भविष्यमा घुँडा दुख्ने, कुर्कुच्चा दुख्ने, कम्मर दुख्ने, महिलाहरुमा काँध दुख्ने आदि समस्या पनि देखापर्न थाल्छन् ।
मोटो व्यक्तिहरुको सामाजिक जीवनमा पनि समस्या पर्छ । अरुहरुले पनि गिज्याउने ट्वाल्ल परेर हेर्ने हुनाले उनीहरुलाई बाहिरको व्यक्तिहरुसँग बोल्न मन नलाग्ने हुनसक्छ । यसरी समाजिकीकरणमा समस्या आए पछि डिप्रेसन जस्ता मानसिक समस्या पनि हुनसक्छ ।
भारतमा गरिएको एक अध्ययन अनुसार झण्डै ६ करोड भारतीय महिलाहरुमा अति मोटोपन पाइएको छ । एक अध्ययन अनुसार प्यासिफिक आइसल्याण्डका ७० प्रतिशत, सिंगापुरका ११ प्रतिशत र अमेरिकाका २८ प्रतिशत मानिस मोटा छन् । त्यसै गरी इरानमा १० प्रतिशत वयष्क र बहराइनमा २९ प्रतिशत मानिसमा मोटोपन छ । मोटोपनको बृद्धिले उनीहरुको स्वास्थ्य र उत्पादनमा पनि समस्या भइरहेको छ ।
विश्व स्वास्थ्य संघका अनुसार खानामा बढी मासु र चिल्लो समावेश हुनु तथा हिँडाई कम गर्नु नै मोटोपनका मुख्य कारण हुन् । प्रायः मानिसलाई मोटोपनाबाट छुट्कारा पाउन निकै गाह्रो हुन्छ । खाना खाएर मज्जासँग सुतेपछि वा तेल मसला हालेको मासु खाएर बियर पिएपछि जति तौल बढ्छ त्यति सजिलोसँग तौल घटाउन गाह्रो हुन्छ । वियर, मासु र तारेको आलुको स्वाद त जिब्रोमा यसरी बसेको हुन्छ कि त्यसको अघि पछि हुने दुःखाई पनि वास्ता गरिदैन ।
यस्ता मानिसलाई खाना कम गर्न कठिनाइ भइरहेको हुन्छ भने व्यायाम तिर प्रायः ध्यान नै जाँदैन । व्यायाम गरे पनि खानाको अनुपातमा व्यायाम पुगिरहेको हुँदैन, जसले गर्दा मोटोपन घट्नेभन्दा बढ्ने नै भइरहेको हुन्छ । कतिपय मानिसलाई बोसोयुक्त खाना र वियरबाट हुने मोटोपनको कारणले उत्पन्न उच्च रक्तचापले गर्दा पक्षघात भइसकेको हुन्छ तर पनि उनीहरु यस्ता खानेकुराको त्याग गर्दैनन् । वास्तवमा उनीहरु बिस्तारै आत्महत्या गरिरहेका हुन्छन् ।
नेपालका सरकारी कर्मचारीहरुको बीचमा गरिएको अर्को एक अनुसन्धानमा ३३ प्रतिशत सरकारी कर्मचारी मोटोपन र केही अति मोटोपनको सिकार भएको पाइएको छ ।
मोटोपनले ल्याएको मुटुको रोग, मधुमेहको समस्या, त्यसपछि हुने मिर्गौलाका समस्यासँगै ढाड र घुँडा दुख्ने समस्या पनि आउँछ । अर्कोतिर मोटोपनको कारणले गर्दा कतिपय महिलाहरुलाई गर्भधारण गर्न पनि समस्या हुन्छ भने मोटो मानिसलाई कुनै शल्यक्रिया गर्नुप¥यो भने शल्यक्रियापछि तंग्रिन पनि धेरै समय लाग्छ ।