काठमाडौं - अन्य सिजनको दाँजोमा मनसुन सिजनमा धेरै मानिस बिरामी पर्छन् । यो मौसममा कीटाणु सक्रिय हुने गर्दछन् । त्यसैले एक ठाउँबाट अर्को ठाउँमा कीटाणु फैलिने सम्भावना धेरै हुन्छ । पानीको माध्यमबाट कीटाणु एक ठाउँबाट अर्को ठाउँमा पुग्छन् ।
पानी नपरेका वेलामा पनि हावाले एक ठाउँबाट अर्को ठाउँमा कीटाणु लैजान्छ । रोगको संक्रमणले बिरामी, वृद्ध र बालबालिकालाई चाँडै च्याप्छ । त्यसैले यो मौसममा बच्चाको धेरै ख्याल राख्नुपर्छ । यो सिजनमा भाइरल ज्वरो, रुघाखोकी, पेट दुख्ने, हैँजा, झाडापखाला, मलेरिया, टाइफाइडजस्ता रोग लाग्न सक्छन् । हात–खुट्टा राम्रोसँग नधोई खानेकुरा खाँदा कीटाणु सीधै पेटमा पुग्छ र बालबालिकामा विभिन्न समस्या देखिन्छ । पानी र खानेकुरा सफा भएन भने टाइफाइड पनि हुन सक्छ ।
कसरी बचाउने ?
बच्चालाइ बाहिर लिएर हिड्ँदा छाता र रेनकोट लगाएर हिँडाउनुपर्छ । बच्चालाई भिज्न दिनुहुँदैन । बच्चा पानीले भिज्यो भने तातोपानीले नुहाएर, तातो सुप खुवाउनुपर्छ । पानीले भिजेको शरीर पुछेर मात्र छाड्दा चिसो लाग्ने सम्भावना रहन्छ ।
तातोपानी, तातो सुप, कालो चिया खुवाउँदा बच्चालाई चिसोबाट बचाउन सकिन्छ । पानीमा भिजेपछि शरीरभित्र र बाहिरको तापक्रम नमिल्दा बच्चा बिरामी हुन्छ । बच्चालाई राति सुत्ने वेलामा तातो तेलले शरीर मालिस गरिदिनुपर्छ ।
पानी पर्दा बच्चाको लुगा पनि भिजेको हुन्छ । दैनिक लुगा फेराउनुपर्छ । एउटै लुगा दोहो-याएर लगाउँदा इन्फेक्सन धेरै हुन्छ ।
हप्ताको २–३ पटक बच्चालाई नुहाइदिनुपर्छ । जसका कारण इन्फेक्सनको खतरा कम गर्न सकियोस् । बच्चाको हात धोइदिनुपर्छ । बच्चाले धुलोमा धेरै खेल्छन् । हात नधोई खाँदा धेरै रोग लाग्न सक्छन् । त्यसैले बच्चाको हातखुट्टा राम्रोसँग धोइदिनुपर्छ ।
बाहिरको खानेकुरा खुवाउनुहुँदैन । घरको सफा र स्वस्थकर खाना मात्र खुवाउनुपर्छ ।
बच्चाको नङ काटिदिनुपर्छ । बच्चाले धुलोमा धेरै खेल्ने हुँदा नङमा पनि धेरै कीटाणुहरू हुन्छन् ।