काठमाडौं- सेतो दुबी शरीरमा छालालाई रङ दिने कोषहरुको कमि भएर देखापर्ने समस्या हो सेतो दागको रूपमा देखिने उक्त दुबीलाई चिकित्सकीय भाषामा ल्युकोडर्मा भनिन्छ । छालामा मिलेनोसाइट नाम कोषिका हुन्छ ।
उक्त कोषिकाले मिलेनिन पिगमेन्ट बनाउँछ । जसले बाहिरी प्रभावका कारण छालामा पर्न सक्ने असरबाट जोगाउँछ । विभिन्न कारणले उक्त कोषिका नष्ट भएमा छालामा सेतो दाग देखिन्छ । अर्थात्, छालामा रङ बनाउने कोषिका नष्ट हुनु नै सेतो दुबी हुनु हो ।
चिकित्सकीय दृष्टिमा सेतो दुबीलाई कस्मेटिक समस्याको रूपमा हेरिन्छ । कालो र गहुँगोरो छाला भएका मानिस बस्ने अफ्रिकी तथा एसियाली देशमा यस्तो समस्या बढी हुने गरेको पाइन्छ । यद्यपि, सेतो दुबीले स्वास्थ्यमा अन्य कुनै असर भने गर्दैन ।
निस्कने कारण
- छालामा सेतो दुबी देखिनुका दुई कारण छन्, जन्मजात र बाह्य ।
कतिपय अवस्थामा बच्चा जन्मेदेखि नै कुनै अंगमा मिलेनिन इन्जाइम उत्पादन नै हुँदैन । यो जुनसुकै अंगमा पनि हुन सक्छ । तर, शरीरमा के कारणले इन्जाइम उत्पादन हुँदैन भन्ने अझैसम्म कुनै कारण पत्ता लागेको छैन । ज्यादै थोरै मानिसमा वंशाणुगत गुणका कारण सोतो दुबी देखिने गरेको छ ।
- अधिंकाश मानिसमा बाहिरी प्रभावका कारण सेतो दुबी निस्कने गरेको छ । चोटका कारण कोषिका मर्ने गर्दा कतिपय अवस्थामा छाला सेतो हुन्छ । त्यस्तै, हाइड्रोकार्बन नामक केमिकलको प्रभावले गर्दा कोषिका हराउने गर्छन् ।
भ्रम
- कतिपय समाजमा सेतो दुबीलाई कुष्ठरोगको संज्ञासमेत दिइने गरिन्छ । सेतो दुबीलाई लिएर व्याप्त भ्रमका कारण सम्बन्धमा समेत समस्या आइरहेको छ ।
सेतो दुबी भएकालाई छुनुहुँदैन, सँगै बस्नुहुँदैन, उसले पयोग गरेका सामान प्रयोग गर्नुहुँदैन भन्ने भ्रम व्याप्त छ । तर, यसमा सत्यता छैन ।
किनकि, यो कुनै सरुवा रोग होइन । सेतो दुबी एक ठाँउबाट अर्को ठाँउमा सर्न सक्छ ।
यद्यपि, कुनै पनि कीटाणु नहुने भएकाले यो एक व्यक्तिबाट अर्कोमा भने सर्दैन । त्यसैले, यसलाई कुनै जटिल समस्याका रूपमा नहेरी सामान्य दागको रूपमा हेर्न आवश्यक छ ।
उपचार
- सेतो दुबीको उपचार सम्भव छ । यसको अवस्था हेरेर मल्हम लगाउन सकिन्छ । अंगअनुसार नरम र कडा खालका मल्हमको प्रयोग गर्नुपर्छ ।
- फोटोथेरापीबाट पनि सेतो दुबीको उपचार गर्न सकिन्छ । अल्ट्राभाइलेट रेको माध्यमले प्रभावित ठाउँमा सेक्ने गरिन्छ ।
त्यस्तै, ल्याबमा राखेर नयाँ कोषहरू निर्माण गर्न सकिन्छ । तर, यो सेवा सबै स्वास्थ्य संस्थामा उपलब्ध हुँदैन ।
- औषधि सेवन गरेरसमेत सेतो दुबीको उपचार हुन्छ । साथै, अवस्था हेरेर शल्यक्रियामार्फत पनि यसको उपचार सम्भव छ ।