काठमाडौं- गर्भवस्था हरेक महिलाका लागि खास मानिन्छ । गर्भवति भएको थाहा पाउँने वित्तिकै प्रायः महिलाहरु स्वास्थ्य जाँच गराउँछन् तर कहिले काहि डाक्टरले ‘तपाईँको बच्चा ठाउँमा बसेको छैन भन्ने गर्छन् ।
बच्चा पाठेघरमा हुर्किन्छ तर, कहिलेकाहीँ बच्चा पाठेघरमा नबसी पाठेघरबाहिर बसिदिन्छ । यसबाहेक बच्चा कहिलेकाहीँ अण्डकोष, ग्रिवा, पाठेघरबाहिर पेटमा र गर्भासय र पाठेघरको बिचमा पनि बस्ने गर्दछ ।
पाठेघर भन्दा बाहिर किन बस्छ गर्भ ?
सामान्यतया हरेक महिना डिम्बासयबाट डिम्ब निस्केर डिम्बवाहिनी नलीमा आउँछ। योनीमा बसेको शुक्रकिट पाठेघर हुँदै डिम्बनलीमा आँउछ र फर्टिलाइजेसन हुन्छ तर फर्टिलाइजेसन हुने क्रममा अवरोध सिर्जना भयो भने भु्रण बाहिर बस्न सक्छ जसलाई एक्टोपिक गर्भावस्था भनिन्छ।
पहिले पाठेघरमा संक्रमण भएर ट्युबमा क्षति भएको छ भने
ट्युबको शल्यक्रिया गरिएको छ भने
बाँझोपनको उपचारबाट गर्भ रहेको छ भने
कप-टी को प्रयोगले
पहिलो बच्चा अप्रेन द्धारा निकालिएको छ भने
तर बच्चा के कारणले बाहिर बस्न सक्छ भन्ने सबै कारण पत्ता भने लागि सकेको छैन ।
कस्ता महिलाहरुमा यसको सम्भावना बढि मात्रामा हुन्छ ?
परिवार नियोजन साधनको प्रयोग गर्ने महिलाहरुमा भु्रण पाठेघर बाहिर बस्ने सम्भावना अन्य महिलामा भन्दा धेरै हुन्छ । विषेशगरी कपर-टि राखेको महिलामा गर्भ बस्यो भने त्यो भु्रण बाहिर बस्ने सम्भावना धेरै हुन्छ ।
कपर–टीले पाठेघरमा गर्भ रहन मात्र रोक्छ, पाठेघर बाहेकका अन्य ठाउँमा गर्भ रहनबाट जोगाउन सक्दैन। त्यसै गरि टेस्ट्युब बेबि राख्ने प्रक्रियामा गर्भ बाहिर बस्ने सम्भावना हुन्छ । पहिलो बच्चा अप्रेशन गरेर जन्माएको महिलामा र गर्भपतन गर्ने महिलामा पनि यस्को सम्भावना हुन्छ । कुनै महिलामा जन्मजात नै पाठेघर र नलि साना भएको अवस्थामा पनि बच्चा बाहिर बस्न सक्छ ।
पाठेघर भन्दा बाहिर बस्दा हुने जोखिम
आमा र बच्चा दुबै सकुसल र स्वस्थ्य हुनका लागि बच्चा पाठेघरमै बस्नु पर्छ । तर कहिलेकाहि भु्रण पाठेघर बाहिर बसिदिन्छ । जसकारण बच्चा त बाच्ने सम्भावना नै हुदैन र आमालाई पनि उत्तिकै खतरा हुन्छ ।
पाठेघरको तन्किने क्षमता हुन्छ, यदि पाठेघरभन्दा अन्य ठाउँमा भु्रण बसेको छ भने त्यो हुर्किंदै जाँदा उक्त ठाउँको तन्किने क्षमता कम भएर भ्रुण पेटमै फुटेर रगत जम्ने र बग्छ हुन्छ । यदि समयमै पत्ता लागेन भने आमाको ज्यान समेत जोखिममा हुन्छ र मृत्यु समेत हुन सक्छ ।
बच्चा पाठेघर बाहिर बस्दा कस्ता लक्षण देखिन्छन् ?
महिनावारी रोकिने
पेट दुख्ने
योनीबाट रगत जाने
अन्तिम महिनावारीको ४ देखि ८ हप्ता सम्म यस्ता लक्षण देखिन्छन् ।
यसको उपचार प्रक्रिया भनेको महिनावरी रोकिने बित्तिकै अस्पताल गएर भिडियो एक्सरे गरेर यदि भु्रण पाठेघर बाहिर बसेको छ भने जतिसक्दो छिटो अप्रेशन गरेर भु्रणलाई निकाल्नु पर्छ । यदि पहिलो चरण मै भु्रण बाहिर बसेको थाहा पाउँन सकियो भने त्यसलाई औषधीको माध्यमबाट पनि निकाल्न सकिन्छ ।
यो समस्याबाट बच्नका लागि सर्वप्रथम त ईन्फेक्सनबाट बच्नुपर्दछ र गर्भवति भएको थाहा पाउँने बित्तिकै अस्पताल जाँच गराउँन जानु पर्छ ।
(स्त्री रोग विषेशज्ञ डा. सविना पौडेल सँगको कुराकानीमा तयार परीएको उनि बिराट मेडिकल कलेजमा कार्यरत छिन् )