काठमाडौं- गर्भपात (मिस्क्यारेज) एक आम समस्या हो । यो समस्या जो कोही महिलामा पनि हुन सक्छ । कतिपय अवस्थामा बारम्बार गर्भपात भएमा यसको मूल कारण पत्ता नलाग्न सक्छ । धेरैजसोमा यो पहिलो त्रैमासिकमा देखिन्छ भने कसैकसैमा त्यसपछि देखिन्छ।
धेरैजसो अवस्थामा गर्भपातको कारण पत्ता लगाउन गाह्रो हुन्छ । रिपोर्टमा सामान्य अवस्था देखिएपनि यस्तो समस्या भइरहेको हुनसक्छ । दुई पटक गर्भपात भएका ६५ प्रतिशत महिलाले तेस्रो पटकमा सफलता पाएका छन् । यसको कारण पत्ता लागे समयमै ठिक गर्न तिर लाग्नु पर्छ । कारण पत्ता नलागे पनि सकारात्मक भई प्रयास जारी राख्नुपर्छ ।
कारण
क्रोमोजम सम्बन्धि गडबडी हुन सक्छ । जुन परिवारबाट अनुवंशिक रुपमा आएको हुन सक्छ । यसलाई आइभिएफ प्रक्रियामा पहिचान र निराकरण गर्न सकिन्छ ।
गर्भाशयको बनोट असामान्य हुन सक्छ । कतिमा दुईवटा गर्भाशय देखिन्छ, कतिमा फ़ाइब्रोइड र पोलिप्स देखिन सक्छ, कतिमा गर्भ टाँसिने ठाउँमा घाउ वा कुनै असमान्यता हुन सक्छ । यस्ता समस्या गर्भधारण गर्नु पूर्व निराकरण गरेर अघि बढ्न सकिन्छ ।
इन्डोक्राइन सम्बन्धि समस्याले गर्भपात हुन सक्छ । पिसओएसको समस्या देखिएको हुन सक्छ । यस्तो अवस्थामा हर्मोनको मात्रा सन्तुलित गराउने प्रोजिस्ट्रोन सम्बन्धि औषधि सेवन गर्न सकिन्छ ।
रोग प्रतिरोधात्मक तत्वले पनि कहिलेकाँहि भ्रूणलाई परतत्वको रुपमा लिन सक्छ । एन्टीबडीले त्यसको विनास गर्न सक्छ । बारम्बार रगत जाँच गरेर, एस्पिरिन र हेरापिन जस्ता पदार्थ सेवन गरेर निराकरण गर्न सकिन्छ ।
वातावरणीय तत्व जस्तै विषाधि, औषधि, धुम्रपान, मध्यपान र जीवनशैली सँग सम्बन्धित मोटोपनाले पनि गर्भपात ल्याउन सक्छ ।
लक्षण
गर्भपातको लक्षण केहि महिलाहरुले मात्र अनुभव गर्छन् । योनीबाट निस्कने तरल पदार्थको रङ्ग गाढा हुँदै जान सक्छ । रातो रंग देखिन सक्छ । यस्तै वक्षस्थल नरम हुँदै जान सक्छ, बच्चा चलेको महसुस हुन बन्द हुनसक्छ । यस्तो अवस्थामा डाक्टरको सल्लाह लिनु उचित हुन्छ । यस्तो अवस्थामा आएको तरल पदार्थ सङ्कलन गर्न सकिएमा थप अध्ययनका लागि लाभकारी हुन्छ ।
परिक्षण
अङ्गको बनोट अध्ययन गर्न अल्ट्रासाउण्ड, एक्स रे आदिको प्रयोग गरिन्छ ।
रोग प्रतिरोधको कार्यप्रणाली सम्बन्धि अध्ययन गरिन्छ ।
हर्मोन र इन्डोक्राइनको परिक्षण गरिन्छ ।
क्रोमोजमको संख्या वा अन्य अनुवंशिक रोगको अध्ययन गरिन्छ ।
कस्ता सावधानी अपनाउने ?
गर्भपातबाट बच्न कुनै निश्चित उपाय नभएपनि हामीले जीवनशैली र खानपानमा ध्यान दिन सक्छौं । धेरै प्रतिकूल वातावरणमा काम नगर्ने, हानिकारक किरणबाट बच्ने, धुम्रपान र मध्यपानबाट टाढा बस्ने, स्वस्थ खानेकुरा खाने, तनाव कम लिने आदि ।
यस्तै सन्तान प्राप्तिको प्रयास गर्दा सकारात्मक भएर प्रयास गर्ने, केहि शंका लागेमा विज्ञको सल्लाह लिने । २-३ पटक प्राकृतिक रुपमा प्रयास गर्दा पनि सफल भएन भने विज्ञको देखरेखमा मात्र अर्को गर्भको प्रयास गर्ने ।