काठमाडौं - गर्भवतीले खाएको खानाबाट पौष्टिक तत्व पाएर भुण्र हुर्किरहेको हुन्छ । भने शिशु जन्मिएपछि ६ महिना सम्म पनि आमाले खाएको पौष्टिक तथा सन्तुलित खाना स्तनपानको माध्यमबाट शिशुले खाइरहेको हुन्छ ।
गर्भवती महिला स्वस्थ रहनुका साथै स्वस्थ्य शिशु जन्माउनका लागी नियमित रुपमा खाइने खाना भन्दा पोषिलो खाने कुरा धेरै खानुपर्ने हुन्छ । गर्भवति महिलाले सबै खाने कुरा र भिटामिनहरु मिलाएर खादा सुत्केरीमा हुनसक्ने सुक्ष्म पोषक तत्वको कमीबाट बच्न सकिन्छ ।
गर्भवती र सुत्केरी आमाले खानपान यस्ता खाद्यपदार्थ वा पौष्टिक आहार समावेश हुनुपर्छ
अन्न वा जमिन मुनी फल्ने कन्दमूल
गेडागुडी, तेलहन बियाँ
दूध तथा दूग्ध पदार्थ
मासु, माछा र अण्डा
भिटामिन ए पाइने फलफूल , पाकेको मेवा, आँप, सुन्तला, गाजर र तरकारीमा फर्सी खानु पर्छ ।
सुत्केरी महिलालाई विशेष गरी ज्वानोको झोल, गेडागुडीको झोल, सुत्केरी मसला (मेथी, गुद, काजु, बदाम, छोकडा, बत्तिसा, मिश्री, सख्खर) लगायत थप पोषिलो खाना खुवाए शिशुलाई प्रशस्त मात्रामा दुध पुग्न सक्छ ।
सुत्केरी महिलालाई रक्तअल्पता हुनबाट बचाउनका लागी टुसा उमारेको गेडागुडी, हरियो सागपात, कुरिलो, च्याउ जस्ता खानेकुरा खुवाउनुपर्छ । शिशु जन्मिएपछि आमालाई ४२ दिन भित्र १ मात्रा भिटामिन ए क्याप्सुल खुवाउनुपर्छ । भिटामिन ए क्याप्सुल खानाले आमाको दूध थप पोषिलो बनाउँछ । जसले शिशुलाई स्वस्थ र बलियो बनाउँछ मद्दत गर्छ ।
शाकाहारी गर्भवती र सुत्केरी महिलाले टुसा उमारेको गेडागुडी, दूग्ध पदार्थ, भटमास, तेलहन (oil seeds and nuts) लगायतका खानेकुराहरु खानुपर्छ ।
गर्भावती र सुत्केरी महिलालाई उचित पोषण पाएनन् भने आमा तथा जन्मने शिशुको स्वास्थ्यमा पनि प्रतिकूल असर पर्न जान्छ । त्यसैले सुत्केरी र स्तनपान गराइरहेकी महिलालाई नियमित खाने खाना भन्दा बढि पोषिलो खाने कुरा खुवाउनु पर्छ ।
गर्भवती भएको चौथो महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म दिनको एक चक्कि आइरन फोलिक एसिड खानुपर्छ । आइरन फोलिक एसिड चक्कि सरकारी स्वास्थ्य संस्थामा निः शुल्क पाईन्छ ।
पहिलो चरणको गर्भवती जाँच गर्न जादाँ जुकाको औषधी (एलबेन्डाजोल) खानुपर्छ । गर्भवती महिला र शिशुलाई टिटानस र भ्यागुते रोगबाट बचाउन स्वास्थ्यकर्मीको सल्लाह अनुसार टिटि खोप पनि लगाउनुपर्छ । साथै शिशुलाई सुस्त मनस्थिति, होचो, पुड्को, छाला र कपालको समस्या, गलगाँड आदि हुनबाट बचाउन गर्भवती आमाले आयोडिनयुक्त नुन खानुपर्छ ।
बिशेषगरी गर्भवती र स्तनपान गराई रहेकी महिलाले धुम्रपान, मद्यपान गर्नु हुदैन । साथै चिकित्सकको सल्लाह बिना कुनै औषधि पनि खानुहुदैँन । त्यसबाहेक अन्य खानेकुराहरु सन्तुलन मिलाएर खान मिल्छ ।
सुत्केरी भएपछि माछा मासु घ्यु नै खानुपर्छ भन्ने गरिन्छ । माछा मासुमा पाइने खानेकुरा अन्य खानेकुराबाट पनि पाउन सकिन्छ । सुत्केरीमा यस्ता खानेकुरा धेरै खाएमा तौल धेरै बढ्छ । जसले गर्दा विभिन्न रोगहरु लाग्न सक्छन् ।
( प्रा. डा. जागेश्वर गौतमसँग कुराकानि )