अस्पतालको कुरुप अनुहार देख्न नसकेर म त्रिवि शिक्षण अस्पतालको यो प्रतिविम्ब जस्ताको तस्तै सार्वजनिक गर्दैछु। सेतो एप्रोनले खुनी अनुहार ढाक्न सक्तैन र ढाक्न दिनु हुँदैन भनेर पनि म तपाईंहरु समक्ष यहाँ खाँटी सबुत पेस गर्दैछु
रघु मैनाली
जीवनकै भयानक निराशापूर्ण क्षण। त्रिवि शिक्षण अस्पतालमा कोरोना बिरामी र आफन्तहरुसँग पीडाले भरिएका चीत्कार छन्। अस्पतालमा यी चीत्कार सुनिदिनेसम्म पनि त्यहाँ कोही छैनन् र आतंकले भरिएको चकमन्नतामा त्यसै हराउँछन्। आफ्नो प्राण डाक्टरको दयामा छोड्न बाध्य र डाक्टरविरुद्ध कुनै फिराद गर्न नसक्ने अभागी कोरोना बिरामी र उनीहरुका विक्षिप्त आफन्त छन्। र, यहाँ यमराजको इच्छाअनुसार काम गर्न उद्यत दुराचारीहरु सेतो एप्रोन लगाएर बसेका छन्।
थालनीमै म कोरोना संक्रमितको उपचार गर्दागर्दै नेपालमा वीरगति प्राप्त गर्ने झन्डै चालीस जना डाक्टर तथा नर्सप्रति सअश्रु श्रद्धाञ्जली अर्पण गर्छु। कोरोना महाभारीको यो बिभत्स समयमा अनुपम र प्रशंसनीय कार्य गर्नु हुने थुप्रै डाक्टर तथा नर्सहरु हुनुहुन्छ, जसको नाम सुन्दा मात्र पनि एकाएक श्रद्धाले शिर झुक्छ। यस्तो बेला स्वास्थ्यकर्मीहरुको मनोबल बढाउनु मेरो कर्तव्य पनि हो। तर म यहाँ जे लेख्दैछु यसबारे सुरुमै ती सारा असल र होनहार स्वास्थ्यकर्मीहरुसँग कर जोडी क्षमा माग्दछु। र, डाक्टर हुनुको सामान्य मर्यादा पनि नभएकाहरुको चाहिँ मनोबल चकानाचुर होस् भनी भगीरथ प्रयास गर्नेछु। ख्याल रहोस्, मनको आवाज सधैं प्रतिज्ञा बन्छ।
म यहाँ जे भन्दैछु तपाईंलाई विश्वास गर्न त के सुन्दा पनि अतिरञ्जना लाग्न सक्छ। तर नांगाे सत्य यही हो। अस्पतालको कुरुप अनुहार देख्न नसकेर म त्रिवि शिक्षण अस्पतालको यो प्रतिविम्ब जस्ताको तस्तै सार्वजनिक गर्दैछु। सेतो एप्रोनले खुनी अनुहार ढाक्न सक्तैन र ढाक्न दिनु हुँदैन भनेर पनि म तपाईंहरुसमक्ष यहाँ खाँटी सबुत पेस गर्दैछु।
पहिलो, परिस्थितिजन्य सबुत :
त्रिवि शिक्षण अस्पतालमा १२ जना कोभिडका बिरामी राख्ने क्षमता भएको वार्डमा ५० जनाभन्दा बढीको भीड सधैं भइरहन्छ। बिरामी कुरुवाको कोभिड परीक्षण गर्नु त परै जावस् आउने र जानेको कुनै टुंगाे हुँदैन। समग्र शिक्षण अस्पताल नै कालिमाटीको तरकारी बजार वा तराईको साप्ताहिक हटियाभन्दा बढी कोलाहलपूर्ण छ। सहर र टोलमा लकडाउन गर्न सिफारिस गर्ने स्वास्थ्य मन्त्रालयले शिक्षण अस्पतालमा यो भीड कायम गर्नुलाई उचित नै ठानेको हुनुपर्छ। त्यसैले त यतिका क्षति हुँदा पनि कुनै पहल कहिल्यै गरेन। मलाई लाग्छ शिक्षण अस्पताल अनगिन्ती मानिसमा कोराना फैलाउने केन्द्रबिन्दु (इपिसेन्टर) बनेको छ। यो अपराधका विरुद्धमा किटानी जाहेरी हाल्ने ठाउँ कहीँकतै छैन, अपराधबाट पूर्ण उन्मुक्ति छ, घोर दण्डहीनता व्याप्त छ। विडम्बना! नेपालको संविधानमा चाहिँ लेखिएको छ– स्वास्थ्य सम्पूर्ण नेपालीको मौलिक हक हो।
दोस्रो, निर्लज्ज जालसाजीको कहालीलाग्दो सबुत :
संयुक्त राज्य अमेरिकाको तथ्यांक हेर्ने हो भने अस्पताल भर्ना भएका बिरामीको मृत्युदर ३५ प्रतिसतभन्दा कम छ। नेपालका केही अस्पतालको तथ्यांक हेर्दा अस्पताल भर्ना भएका बिरामीको मृत्युदर ६० प्रतिशत छ। त्रिवि शिक्षण यसबारे तथ्य बताउन चाहँदैन तर अस्पतालमा भर्ना भएका कोराना संक्रमितको मृत्युदर लगभग ९५ प्रतिशत रहेको अनुमान छ। यसको अर्थ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका एक सय जना कोभिड बिरामीमध्ये ९५ जनाको मृत्यु भइरहेछ।
मृत्यु हुनेको दर कहालीलाग्दो देखिएपछि अहिले त्रिवि शिक्षण अस्पतालले संरचनागत रुपमा नै जालसाजी सुरु गरेको छ। उसले निको हुने बिरामीको संख्या बढाउन उपचारमा सुधार ल्याउने प्रयत्न गर्नुको बदला वार्डमा भर्ना भएको बिरामी क्याबिनमा सर्दा डिस्चार्ज गर्ने प्रथा बसालेको छ र बिरामी सिकिस्त भएपछि अस्पतालले गर्न सक्ने अब अरु केही छैन घर लैजानुभए हुन्छ भनी डिस्चार्ज गर्न प्रेरित गर्ने जस्ता कुटिल चाल सुरु गरेको छ। यसले पनि त्रिवि शिक्षण अस्पतालका डाक्टर मात्र नभएर सिंगाे अस्पताल व्यवस्थापन नै बिरामीको स्वास्थ्यमाथि रणचण्डी बनेर ताण्डव मच्चाइरहेछ भन्ने कुरालाई सपाट चित्रण गर्छ। चोरका हजार दाउ भनेझैं उनीहरु पनि नयाँनयाँ दाउ खोज्नपट्टि तल्लीन छन्।
तेस्रो, अधम र चरम हेलचेक्र्याइँको सबुत :
बिरामीलाई दिइने अक्सिजनको फ्लो मिटरमा ‘डिस्टिल वाटर’ हाल्नु स्वास्थ्य विज्ञानको अनिवार्य सर्त हो। सामान्य पानीमा जीवाणु हुने हुँदा ती जीवाणुका कारण निमोनिया हुने खतरा रहन्छ भनेर फोक्सोमा सोझै पठाइने अक्सिजनको फ्लो मिटरमा ‘डिस्टिल वाटर’ हाल्नुपर्ने मान्यता र अभ्यास छ। निमोनियाको अभूतपूर्व खतरा निम्त्याउने कोरोनाबाट पीडित बिरामीलाई त्रिवि शिक्षण अस्पतालमा अक्सिजन दिदाँ अक्सिजनको फ्लो मिटरमा साधारण पानी हाल्ने काम गरिरहेका छन्। बिरामी ट्वाइलेट जाँदा प्रयोग गर्ने अक्सिजन सिलिन्डरको फ्लो मिटरमा पानी नै नराख्ने र पानी किन नराखेको भनी सोध्दा केहीबेरलाई त हो चाहिँदैन भन्ने जवाफ दिने गर्छन्।
थुप्रै डाक्टर र नर्सहरुको संगतबाट मैले थाहा पाएको ज्ञानचाहिँ सुख्खा अक्सिजन सोझै पठाउँदा फोक्सोलाई केही क्षणमै कक्रक्याउँछ भन्ने थियो। अझ कोभिड जस्तो खतरनाक निमोनिया गराउने बिरामीको उपचारमा स्वास्थ्य विज्ञान पढेर जनताको करबाट तलब खानेहरुको यस्तो असंवेदनशील हर्कत कति घातक हुन्छ भन्ने कुराको थप व्याख्या गर्नुपर्ने जरुरत नै पर्दैन।
चौथो, भुक्तभोगी र साक्षी प्रमाङ्गी सबुत :
शिक्षण अस्पतालमा काभ्रेका कोरोना संक्रमित राम उप्रेतीलाई पनि दु:खान्त नियति भोग्न हालसालै बाध्य पारियो। बिरामीका काका वरिष्ठ पत्रकार लक्षण उप्रेती भन्नुहुन्छ– जिउने सनातनी आशा लिएर त्रिवि शिक्षण अस्पताल पुगेका रामको सामान्य परीक्षणसमेत गरिएन। डाक्टरहरुको काम अक्सिजनको मात्रा दिनैपिच्छे बढाउने र स्टेरोइड दिने मात्र भयो।’
४३ वर्षको उमेरका लक्काजवान उप्रेतीले दुई हप्तासम्म शिक्षण अस्पतालमा डाक्टरका सामु प्राणको भीख मागिरहे। करुणा र सेवाभाव भन्ने यस्तो गुण हो जुन सच्चा डाक्टरको भावनाबाट कहिल्यै अलग्याउनै सकिँदैनथ्याे। तर करुणा र परोपकारको भावना नै नपलाएका ती ‘डाक्टरी हृदय’ ले उनको चीत्कार सुन्ने कुरै भएन। १६ दिनका दिन उनी सम्पूर्ण रुपमा हारे र आफन्तमाझ पीडादायी स्मृति छोडेर यी डाक्टरको अनुहार कहिल्यै नहेर्ने बाचासहित धर्तीबाटै अलप भए।
पाँचौं, पीडित हृदयको कारुणिक वकपत्र :
मेरा दाजु गुरुप्रसाद मैनालीलाई अघिल्लो दिन अलिअति ज्वरो आयो। यो शनिबारको घटना थियो। उहाँ स्वास्थ्यप्रति अति चनाखो हुनुहुन्थ्यो। भोलिपल्ट दिउँसो पीसीआर टेस्टका लागि स्वाब दिनुभयो। साँझ कोरोना पोजेटिभको रिपोर्ट आयो। त्यसको एक दिनपछि मंगलबार उहाँ डाक्टरको सल्लाहमा बस्नु राम्रो हुन्छ भनी त्रिवि शिक्षण अस्पताल जानुभयो। डाक्टरले होम आइसोलेसनमा बस्न लेखिदिए। हामीले घरमा नै अक्सिजन स्याचुरेसन हेरिरहर्यौं र डाक्टरले भनेअनुसारका दबाई सुरु गर्यौं। अक्सिजन स्याचुरेसन घट्दा पनि ९३/९४ भन्दा कम थिएन। बिहीबारसम्म पनि ज्वरो लगातार आइरहेपछि छैटौं दिन शुक्रबार सास फेर्न गाह्रो भएर होइन, ज्वरो लगातार आइरहेकाले फलोअपका लागि त्रिवि शिक्षण अस्पताल जानुभयो। उसले भर्ना गरिदियो।
डाक्टरले छाती क्लियर छ भने तर कुनै परीक्षण गरेनन्। त्यो रात अस्पतालमा अक्सिजन दिनुपरेको थिएन। भोलिपल्ट शनिबार बिहान सास फेर्न अलि गाह्रो भयो। हामीले वार्डबाट ५०७ नम्बर क्याबिनमा उहाँलाई सार्यौं। दुई लिटरका दरले अक्सिजन दिन सुरु गरे। तब पनि कुनै परीक्षण गरेनन्। दुई लिटरले नधानेपछि आइतबार बिहान अक्सिजन पाँच लिटरमा पुर्याएर र भर्ना भएको तेस्रो दिन मात्र ‘स्टेरोइड’ दिन सुरु गरे तर पनि सामान्य रक्त परीक्षण र एक्स–रे गरेनन्।
उनीहरुले हामीलाई हरेक पटक छाती सफा (क्लियर) छ डराउनु पर्दैन भनिरहे। अक्सिजनको मात्रा बढाउँदै लैजाने अनि डाक्टरले बिरामीलाई चेक नै नगरी छाती क्लियर छ भन्दा उनीहरुप्रति हामीलाई विश्वासै लाग्न छोड्यो र वरिष्ठ पत्रकार दाइ मोहन मैनाली र मलगायत परिवारका सबैले परीक्षणका लागि जोड गर्यौं। कस्तो विडम्बना! बिरामीको परीक्षण गरिदेउ न भनी अस्पतालमा डाक्टरलाई शक्ति केन्द्रहरुबाट भनसुन गराउनुपर्यो। गुरु दाइले शिक्षा मन्त्रालयबाट केही समय पहिला अवकाश लिनुभएको हुँदा शिक्षा मन्त्रालयका उहाँका साथीहरुले अस्पतालमा भनसुन गर्नुभयो। हामीले पनि विभिन्न ठाउँमा हारगुहार गर्यौं।
अस्पताल भर्ना भएको चौथो दिन सोमबार बिहान बल्ल छातीको एक्स–रे र रक्त परीक्षण लेखिदिए। अनि रिपोर्ट नै नआई उनीहरुले एन्टिबायोटिक चलाए र अक्सिजन १० लिटरका दरले दिन सुरु गरे। बेलुकी रिपोर्ट आयो। हामीले चासो राख्यौं। एक्स–रे रिपोर्टमा गम्भीर प्रकृतिको निमोनिया देखिएछ। त्यसपछि आफ्ना नालायकी ढाक्न कोभिड युनिटका इन्चार्ज डा. शन्तकुमार दासले आफ्नो दुर्बुद्धिका सिल्ली चालबाजी सुरु गर्दै उल्टै हामीलाई फट्कार्नुभयो– ‘तिमीहरुले बिरामीलाई ढिलो ल्यायौ।’ यो कुरा सुनेपछि त्यहाँका डाक्टरहरुको स्वभाव पाशविक र हिस्रंक लाग्न थाल्यो। अस्पताल र डाक्टरप्रतिको हाम्रो विश्वास बिजुली वेगमा चकानाचुर भयो। हाम्रा मनमा डाक्टरहरुप्रति भएको सम्मान भावको ठाउँका ठाउँ हत्या भयो अनि घृणाले राज गर्यो।
मलाई पूर्ण हेक्का छ– स्वास्थ्य विज्ञानका सारा आविष्कार कोरोनासामु निरीह छन्। कोरोनाविरुद्धको लडाइँमा स्वास्थ्यकर्मीका ज्ञान अपर्यात छन्। जसरी पनि डाक्टरले बिरामी बचाउन पर्छ भने अघोरी आग्रह हाम्रो थिएन। तर डाक्टरले बिरामी बचाउन इमानदार प्रयास गर्छन् भन्ने चाहिँ हाम्रो दृढ अपेक्षा थियो। अस्पताल भर्नाको तीन दिनसम्म बिरामीको सामान्य परीक्षणसम्म नगरी हामीलाई उल्टै बिरामीको छाती ‘क्लियर’ छ भन्दै भ्रममा राखे। चौथो दिन जोडबल लगाएर एक्स–रे गराउँदा जब गम्भीर निमोनिया देखियो, तब डा. सन्तकुमार दासले बिरामी ढिलो ल्यायौ भनी हामीमाथि आरोप थोपरेर उम्कने दुष्प्रयास गर्नुभयो। हामीलाई त्यसपछि त ती डाक्टरहरुले बिरामीप्रति लापरबाही मात्र गरेको होइन उनीहरु सेतो एप्रोनमा सजिएका अधम, नीच र दुष्टसमेत रहेछ भन्ने लाग्यो।
हामीलाई पूर्ण यकिन भयो– सेतो एप्रोन लगाएर डा. सन्तकुमार दासहरुको अवतारमा यमराज हामीमाथि कुटिल छल गर्दैछ। त्यसपछि जतिसक्दो चाँडो यस्ता छलीको नजरबाट आफ्नो बिरामीलाई बचाउनुपर्छ भन्नेमा हाम्रो ध्यान गयो। उनीहरुको त्यो बहुलठ्ठी र बकवासपूर्ण बर्बराहट सुनिसकेपछि त्यहीँ उपचार निरन्तर गर्नु थप अनर्थकारी दुर्भाग्यलाई पर्खनु मात्र हुने थियो। हामी तत्काल शिक्षण अस्पतालबाट बिरामी डिस्चार्ज गर्ने तर्फ लग्यौं।
छैटौं, स्वास्थ्य जगतको सांस्कृतिक, शैक्षिक र नैतिक पतनको सबुत :
सिकिस्त बिरामी डिस्चार्ज गर्ने कुरा गर्दा उनीहरुको अनुहारमा कुनै ग्लानी थिएन। लाग्थ्यो, बिरामी र आफन्तहरुलाई छकाउन सक्नु नै उनीहरुको पेसागत योग्यता, धर्म र संहिता हो। बिरामी डिस्चार्ज गर्ने बेलामा ‘कहिलेदेखि बिरामी हुनभएको’ भनेर सोध्न थाले। उनीहरुसँग बिरामी भर्ना हुँदा लिएको ‘केस हिस्ट्री’ समेत रहेनछ। बिरामी भर्ना गर्दा दिएको पीसीआर रिपोर्ट उनीहरुले हराएछन् र डिस्चार्ज हुने बेलामा फेरि मागे। हामीले ‘उपचार गर्न नचाहिने पीसीआर रिपोर्ट अब किन चाहियो?’ भन्यौं तर त्यो रिपोर्ट बिना डिस्चार्ज गर्न नमिल्ने उर्दी सुनाए।
यी तथ्य स्वास्थ्य जगतको सांस्कृतिक, शैक्षिक र नैतिक पतनका क्षतविक्षत अवशेष हुन् भन्ने महसुस भयो। मैले सुनेको थिएँ– स्नेह नभएको नाता र निष्ठा हराएको पेसाले पाइलापाइलामा अनिष्ट निम्त्याउँछ। त्रिवि शिक्षण अस्पतालमा हरेक दिन ठीक यस्तै भइरहेछ। राज्यले दोब्बर भत्ता तोकेर कोभिड उपचारमा प्रमुख बनाएर खटाएका डा. सन्तकुमार दास मात्र होइन, कोभिड उपचारमा खटिएका भनिएका त्रिवि शिक्षण अस्पतालको टोली नै संवेदना हराइसकेका जल्लादहरुको झुण्ड रहेछ भन्ने सोच पलायो।
हामीले अर्को अस्पतालमा बिरामी सार्न लागेको कुरा थाहा पाएपछि छेवैको क्याबिनमा रहेका कोरोना संक्रमितका आफन्तमा नमज्जाको बेचैनी छायो। विवशताका आँसु तपक्क झार्दै उनीहरुले भने– ‘हामी अनेत्र लैजान पनि सक्तैनौं, यहाँ सामान्य परीक्षण छैन, उपचार छैन, अस्पतालको यही पाराले बिरामी बाँच्ने कुनै सम्भावना छैन। प्राणको भीख माग्दै उपचारको आशामा हामी अस्पतालमै प्रत्येक क्षण मर्न लाचार छौं।’
हामीले दाजु गुरुप्रसाद मैनालीलाई बचाउन हरसम्भव प्रयास गर्यौं। ह्याम्स अस्पतालमा १० दिन आईसीयू र भ्यान्टिलेटरमा राखेर सम्भव भएसम्म स्वास्थ्य विज्ञानका सबै विकल्प प्रयोग गर्यौं। यसका लागि डाक्टर अर्जुन कार्कीको नेतृत्वमा धेरै डाक्टर, आफन्त, साथीभाइ र शुभचिन्तकले अथक प्रयास गर्नुभयो। तर त्रिवि शिक्षण अस्पतालले चार दिनसम्म बिरामीमाथि गरेको छल हाम्रा लागि अपूरणीय कष्ट र पीडा बन्यो। त्रिवि शिक्षण अस्पतालले सिर्जना गरेको दर्द र पीडा पखाल्न मसँग अहिले आँसु पनि पर्याप्त छैनन्। हामी शोकमा छौं र उहाँको अनन्त महाप्रस्थान सहज रहोस् भनी हार्दिक कामना गरिरहेछौं। यस दु:खद् क्षणमा म ठूलो स्वरले सार्वजनिक रुपमा डंका फुक्न चाहन्छु– तपाईंहामी डाक्टरका हातबाट चैं कदापि मारिनु हुन्न।
त्रिवि शिक्षण अस्पतालमा मानव अस्तित्वमाथि बेरोकटोक भइरहेका आततायी हर्कतका यी प्रतिनिधि सबुत मात्र हुन। यस्तो लाग्छ– पशुपतिनाथ मन्दिरमा डामेर छोडेको साँढे र त्रिवि शिक्षण अस्पतालको कोभिड युनिटका डाक्टर समान रुपमा उन्मत्त छन्। जसरी पशुपतिमा डामेर छोडेको साँढले दस नंग्रा खियाएर लगाएको कलकलाउँदो बाली खाए पनि किसान टुलुटुलु हेर्न बाध्य हुन्छन् ठीक त्यसैगरी त्रिवि शिक्षण अस्पतालका यी डाक्टरहरुले प्रत्येक क्षण बिरामीलाई मृत्युको मुखमा धकेल्दा पनि बिरामी र आफन्त चुपचाप सहन विवश छन्।
डाक्टरले बिरामीलाई उपचारको भुलभुलैयामा पारेर वा छकाएर मृत्युको मुखमा धकेल्छन् भन्ने कुरा मेरो कल्पनाभन्दा बाहिरको विषय थियो। तर यस्तो विषाक्त घटना त्रिवि शिक्षण अस्पतालमा छ्यासछ्यास्ती देख्न र भोग्न दुवै पर्यो। यो उनीहरुको निजी नालायकी मात्र होइन, नेपाली जनताको स्वास्थ्यमाथि चलाइएको नांगाे अत्याचार र आततायी अपराधसमेत हो। मलाई विश्वास नलागेर आफैंलाई पटकपटक चिमोटेँ तर नांगाे सत्य यही थियो। अनि मैले निष्कर्ष निकालेँ– जसरी मन्दिर प्रांगणमा आयोजना गर्दैमा सबै कार्य पवित्र हुँदैनन् त्यसैगरी अस्पतालमा सेतो एप्रोन लगाउँदैमा डाक्टरले गर्ने कार्य सबै सत्कर्म हुँदा रहेनछन्। हावाले गति बिरायो भने आकाशमा केहीबेर बबन्डर मच्चाउने गर्छ। तर डाक्टरले मति बिराए भने लामो समयसम्म समाजमा अथाह पीडा र कष्ट उत्पन्न हुने रहेछ।
जनताको पैसाबाट त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मीले सामान्य अवस्थामा समेत ५० प्रतिशत थप तलबभत्ता लिने गरेका छन्। कोरोना महामारीको भत्ता त छँदैछ। यावत् सबुतका आधारमा अब निर्धक्क भन्नुपर्ने हुन्छ– त्रिवि शिक्षण अस्पतालका डाक्टरहरु तलबी गोठाला मात्र हुन्। तलबी गोठालाहरु मालिकको आँखा छल्नुमा नै आफ्नो धर्म र बुद्धिमानी ठान्छन्। त्यसैले तलबी गोठाला र सच्चा स्वास्थ्यकर्मीबीच तुलना हुन सक्तैन। मलाई विश्वास छ– सच्चा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सेवा कर्तव्य मात्र होइन मानव करुणाको कठोर संकल्प हो। आस्तिकहरुको भाषा सापट लिँदै म दोहोर्याएर भन्छु– सच्चा डाक्टर र नर्सहरु सेतो भेषमा जनकल्याणका लागि अस्पतालमा अवतरित देवीदेवता हुन। शास्त्रका अनुसार देवीदेवताका ठिमाहा सन्तान भनेका पिचास हुन्छन्। यी डाक्टरहरुको हर्कत हेर्दा त्रिवि शिक्षण अस्पतालमा चाहिँ देवीदेवता होइन, नरपिचासहरुले सेतो भेष धारण गरेका छन् भन्न लाचार छु।
अझ एउटा सचेत पेसाकर्मी भएकाले लामो समयदेखि नेपाली स्वास्थ्य सेवाको मानक संस्थाका रुपमा त्रिवि शिक्षण अस्पताललाई मैले ग्रहण गरेको थिएँ। त्यही विश्वास अस्तिसम्म पनि मेरो मनमा अत्यन्त प्रगाढ थियो। तर बरबर हिउँ परिरहेका बेला सेताम्य बाटो भएर १६ हजार फिटभन्दा बढी उचाइको हिमाली यात्रा पार गर्दा पनि मेरो मनले त्यति चिसो अनुभव कहिल्यै गरेको थिएन, जति चिसो अनुभूति त्रिवि शिक्षण अस्पतालका यस्ता बेइमानी र बदनियतपूर्ण घटनाले मलाई गरायो। यस अस्पतालप्रतिको मेरो विश्वास एकाएक झर्यामझुरुम भयो।
विश्वास नै त्यस्तो शक्ति हो जसले सडकमा फालिएको ढुंगालाई पनि देउता बनाउँछ र विश्वास गुमेपछि मन्दिर पनि भुत्याहा घरमा परिणत हुन पुग्छ। अहिले त्रिवि शिक्षण अस्पताल र यहाँको कोभिड युनिटका डाक्टर तथा नर्सहरुप्रतिको मेरो मनोभावना ठ्याक्कै विश्वास गुमेको मन्दिरजस्तै दिउँसै तर्साउने खण्डहर भएको छ।
चिकित्सा तथा स्वास्थ्य सेवाका कर्तव्यहरुलाई बद्नाम गर्न र घृणा उब्जाउन उनीहरुका यस्ता हर्कत आफैंमा पर्याप्त छन्। मलाई लागिरहेछ– बिरामीको पीडामा आनन्द लिन तम्सिने यस्ता अधमहरुलाई डाक्टर मान्नु सारा असल स्वास्थ्यकर्मीहरुमाथि गिल्ला गर्नु हो। भनिन्छ– पीडाको कहिल्यै विगत हुँदैन। यस्ता कृतघ्न र स्वेच्छाचारी स्वभावहरुलाई बेलैमा नियन्त्रण नगर्ने हो भने सारा स्वास्थ्यकर्मी र सिंगाे स्वास्थ्य जगतले बुझे हुन्छ, यसको प्रलयकारी दुस्परिणाम सन्निकट छ।
एकदुई यस्ता व्यक्ति संस्थाको नेतृत्वदायी तहमा हुन्छन् भनेर हामी मौन बस्ने हो भने बेलैमा बुझे हुन्छ- पानीका बुँदबुँद मिलेर नै सागर बन्छ। एकदुई जनाका यस्ता दुष्कर्मबाटै सिंगाे स्वास्थ्य क्षेत्रमा अनिष्टको आरम्भ हुन्छ। यी एकदुई जना व्यक्ति नै भोलिको विष सागरका मुहान् हुन्। तसर्थ नेपाली शासक/प्रशासकहरुले नागरिकप्रतिको न्यूनतम जिम्मेवारी र जवाफदेहिता वहन गर्ने हो भने चिकित्साकर्मी हुनुको सम्पूर्ण मर्यादा गुमाइसकेका यस्ता व्यक्तिहरुलाई क्षणभर पनि अस्पतालमा नराखी बधशालातर्फ खटाउनु उचित हुनेछ।
हामी नेपालीले डाक्टरको यस्ता हेलचेक्राइँका कारण दिवंगत भइरहने प्रियजनको चीरशान्तिका लागि कहिलेसम्म अस्थि–कलश उठाइरहनुपर्ने हो? यो सम्झनाले मात्र पनि शरीर कम्पित हुन्छ। मान्छेको मन बहकिन सक्छ, दिमाग पूर्वाग्रही हुन सक्छ तर आत्मा न पूर्वाग्रही हुन्छ न त बहकिन्छ नै। आत्माबाट कि त श्राप निस्किन्छ कि आशीर्वाद वा प्रार्थना। निर्धो र पीडित आत्माबाट चाहिँ सदासर्वदा श्राप निस्किदो रहेछ। म सबै डाक्टरहरुलाई भनिरहेको छैन, त्रिवि शिक्षण अस्पतालको व्यवस्थापन र कोभिड युनिट डाक्टरहरु श्राप पाउन सम्पूर्ण रुपले योग्य छन्। अँजुलीभरी पानी राखेर मेरो जीवनभरको पेसागत निष्ठा र साधनाको सबै शक्तिले म हिजोआज उनीहरुलाई श्राप दिन बाध्य छु, केवल श्राप !
शास्त्रीय भाषामा भन्ने हो भने पिचास योनीका मासिनहरु सही बाटो देखाउनेहरुमाथि नै शंका गर्छन्, आक्रमण गर्छन् र सही मार्गबाट सदा भड्की रहन्छन्। मलाई थाहा छ– यो लेख पढेपछि केही तथाकथित स्वास्थ्यकर्मीहरुले मेरा भनाइलाई अतिरञ्जित लाञ्छना भनेर प्रचारबाजी गर्नेछन्, उत्ताउलो र बेसरम प्रतिवाद गर्नेछन्। यदि त्यसो गरे भने उनीहरुलाई म ठाडै ललकार्नेछु– अस्पताल र स्वास्थ्यकर्मीका यस्ता निन्दनीय हर्कतको सिकार हुन बाध्य पारिँदा मैले के बाँसुरी बजाउँदै बगैंचामा टहलिनुपर्थ्याे त? म विश्वस्त छु– सत्यलाई केही समय विचलित गराउन सकिएला तर सत्य सर्वदा अपराजित छ।
मैले कतै पढेको थिएँ– अनाचारी शत्रुसँग युद्ध लड्न निकै सावधानी अपनाउनुपर्छ। सम्पूर्ण विश्वासका साथ आफ्नो प्राण सुम्पन पुगिने डाक्टर स्वयं अनाचारी भयो भने त समाजमा एकपछि अर्को दर्दनाक पीडा र सत्यानाश शिवाय केही बाँकी रहन्छ भन्ने नै मलाई लागिरहेको छैन। त्यसैले म जोरदार शब्दमा भन्छु– मानव अस्तित्वमाथि खेलवाड गर्ने र मानव जीवनलाई विनाश गर्ने अधिकार डाक्टरलाई छैन र हुनु हुँदैन। तर मलाई अत्यास लागिरहेछ– यसरी डाक्टरबाटै सिकार भएर तपाईंहामी कति बाँचिएला? अहिलेको यक्ष प्रश्न पनि सायद यही हो।
मेरो मनले भनिरहेछ यस्ता दुष्कृत्यको परिणामबाट उनीहरुले उन्मुक्ति पाउनु हुँदैन। तर संकल्प हराएको राजनीतिक नेतृत्व र रकमी टिप्पणी लेख्दालेख्दा नपुंसक भइसकेको नोकरशाही तन्त्र यति पङ्गु छ, उसका बुँताबाट न्यायोचित कदमको अपेक्षा गर्नु नै व्यर्थ छ। मेडिकल काउन्सिल उनीहरुकै मतियार बन्ने गरेको तितो विगत सबैका सामु छ। त्यसैले यस्ता आततायी डाक्टर र अस्पतालको अत्याचारबाट आफ्नो ज्यान जोगाउन हामी आफैं चनाखो हुनुपर्छ। आखिर बाँच्नु त हामीले छ। त्यसैले जीवन रक्षाको होसियारीले घचघच्याएर तपाईंलाई यी कुरा सुनाएको हुँ।
यी मेरा निजी बिलौना र रुवावासी बिल्कुलै होइन। सुन्दा मात्र पनि हृदय भाउन्न हुने यस्ता कुरा तपाईंलाई भन्नुको मेरो एकमात्र इरादा हो– जीवनको आशा लिएर चाहिँ कोरोनाका बिरामीलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कसैले पनि नलैजानु होला। महान् सत्कर्म गर्ने थलोका रुपमा तपाईं, म लगायत साराले विश्वास गरेका अस्पताल र स्वास्थ्यकर्मीका बारेमा यसो भन्नुपर्दा मेरो मुटु नराम्ररी कुँडिएको छ तर म दु:खका साथ दोहोर्याउँछु– त्रिवि शिक्षण अस्पताल पुर्याएको बिरामी कोरोना भाइरस स्वयंले दया गर्यो भने मात्र फर्किए घर आउँछ नत्र केही दिनमा शव बनेर आर्यघाटतर्फको यात्रा नै उसको दु:खान्त नियति हुनेछ।
(नोट : पत्रकार रघु मैनालीको यो सामग्रीले स्वास्थ्य सेवाबारे एउटा गम्भीर प्रश्न सतहमा ल्याएकाले यसबारे थप बहस होस् भन्ने हेतुले यो लेख परिसंवादबाट साभार गरिएको हो – सम्पादक)