काठमाडौं- हामी सबैलाई थाहै छ मानव शरीरको सबैभन्दा ठूलो अगंका रुपमा कलेजोलाई लिइन्छ । पाचन प्रणालीमा कलेजोको ठूलो भूमिका रहन्छ । लगभग १ दशमलव ३६ किलोग्राम तौलको एउटा वयस्क मान्छेको कलेजोले मेटाबोलीजममा सहयोग गर्दछ । हामिले खाने खाना पचाउन र पोषण सोस्न पित्तथैली र कलेजोले सँगै कार्य गर्दछन् । मानव शरीरका लागि कलेजो स्वस्थ्य हुनु धेरै आवश्यक छ तर अहिलेको अस्वस्थ्यकर खानपान र जीवनशैलीले मानव अंगहरुमा धेरै असर पुर्याइरहेको छ । कलेजोलाई स्वस्थ्य राख्नका लागि हामीले के गर्न सक्छौं ? कलेजोमा आउँने समस्या र यसबाट कसरी छुटकारा पाउँन सकिन्छ ? भन्ने विषयमा केन्द्रित भएर ह्याम्स अस्पतालमा कार्यरत कलेजो रोग विशेषज्ञ डा.अच्युत बीक्रम हमालसँग गरिएको कुराकानीः
मानव शरीरका लागी कलेजोको महत्व कति छ ?
मानव शरीरका लागि कलेजो एकदमै महत्वपूर्ण अंग हो । कलेजोले बिष हरण गर्ने काम गर्छ । यसले शरीरमा टक्सिन (बिषादी पदार्थ) निकालेर शारीरिक प्रक्रियालाई अगाडि बढाउने काम गर्छ । साथै रगत जम्ने प्रोटिन बनाउने काम कलेजोले गर्छ । जसले गर्दा रगत बग्न केही समयमा रोकिन्छ । त्यसकारण पनि मानव शरीरका लागि कलेजोको महत्वपूर्ण भुमिका रहेको छ ।
बयस्क उमेरमा व्यक्तिको कलेजोको तौल १ देखि डेड के.जी. सम्म हुन्छ । कलेजोको महत्वपूर्ण काम भनेको हामीले खाने खाना व्यवस्थापन गर्ने हो । दोस्रो रगतको व्यवस्थापन गर्नका लागि पनि कलेजोको भूमिका रहेको हुन्छ । कोलट्रोलको व्यवस्थापन पनि कलेजोले नै गर्ने हो । त्यसकारण कलेजोको महत्व धेरै छ ।
मानव शरीरका लागि यसको महत्व धेरै भएकै कारणले गर्दा पनि मानव सभ्यतामा कलेजोमा धेरै अध्ययन अनुसन्धान भइरहेका छन् ।
कलेजोमा के -कस्ता समस्याहरु आउँन सक्छन् ?
सामान्यतयाः कलेजोको समस्या लिएर आउँने धेरै बिरामीमध्ये जन्डिसका बिरामीहरु नै हुन्छन् । हेपाटाइटिस ए, बी, सी बाहेक अन्य संक्रमणहरु पनि कलेजोमा हुन सक्छ ।
कलेजो इन्फोक्सन अर्थात हेपटाइटिस ए, बी सी यी विभिन्न प्रकारका रोगहरु ठिक हुन पाएनन् भने कलेजोलाई असर गर्न सक्छ । रगत उल्टि हुनु, दिसामा रगत देखिनु, पेट फुल्ने, शरीरमा निलो निलो डाबर र रातो रातो टिकटिक जस्ता दागहरु देखिनु, त्यस्तै बढि रक्सी सेवन गर्ने व्यक्तिहरुमा जन्डिस र सिरोसिस जस्ता समस्याहरु पनि देखिरहेका हुन्छन् ।
कलेजो बिग्रिनुमा खानपानको भूमिका कस्तो हुन्छ ?
आजभोली अस्वस्थ्यकर खानपानका कारण मोटोपना जस्ता समस्याहरु बढ्दै गइरहेका छन् । मोटोपनाको सम्बन्ध सिधै कलेजोसँग जोडिएको हुन्छ । मोटोपनाले कलेजोलाई धेरै असर गर्छ । तर पातलो मानिसमा कलेजोको समस्या नै हुदैन भन्न खोजेको होइन । पातलो व्यक्तिमा पनि कलेजोको समस्या हुन्छ तर मोटो व्यक्तिको तुलनामा पातलो व्यक्तिमा कलेजोको समस्या कम हुन्छ ।
मोटोपना बढ्दै गएपछि जसरी शरीरमा बोसो लाग्छ त्यसरी नै कलेजोमा पनि बोसो जम्दै जान्छ । त्यो बोसो लामो समयसम्म जम्दै गयो भने कलेजोका कोषिकाहरु इन्जुरी हुन्छ । जसका कारण (पुनर्जनन) फेरि रिजेनुरेसन हुन नपाउँदै कलेजोमा बोसो जमेकै कारण रि इन्जुरीमा जान्छ ।
त्यस्तै कलेजो बिग्रीनुमा जथाभावी रुपमा एलोपेथिक र जडिबुटि औषधिहरु खानु पनि अहिलेको समयमा मुख्य कारण बनेको छ ।
लिभर सिरोसिस भनेको के हो ?
कलेजोमा जालो पलाउनु र कडापन आउँनु नै लिभर सिरोसिस हो । कलेजो त्यस्तो अंग हो जो फेरि पलाउन सक्छ तर यसमा कमी आएर कलेजोमा जालो पलाउँदै कडा हुनु नै लिभर सिरोसिस हो । जसले कलेजोको नरमपना हटाउदै कडापनमा परिणत गर्छ ।
लिभर सिरोसिसले गर्दा कलेजोको कार्यक्षमतामा कम हुँदै जान्छ । पछि गएर कलेजो र पाचनप्रणाली नलीको बीचमा हुने रक्तनलीको प्रेसर धेरै हुने, फुट्ने र रगत बग्न नरोकिने लगायत मानिसको मृत्युसम्म हुनसक्छ ।
यो रोगको स्थितिअनुसार रगतको जाँच, लिभरको कार्यक्षमताको जाँच, इन्डोस्कोपी, पेटको अल्ट्रासाउन्ड र सिटी इस्क्यान र एमआरआई र लिभरको बायोस्पी गर्नु राम्रो हुन्छ । सिरोसिस भएको व्यक्तिले मद्यपान ९रक्सी, जाँड० नछोडेमा यसले मृत्यु नित्याउन सक्छ ।
लिभर सिरोसिस के कारणले हुने गर्छ ?
नेपालको परिवेशमा लिभर सिरोसिस हुने मुख्य कारण भनेकै रक्सीको अत्याधिक सेवन गर्नु हो । अस्पतालमा भर्ना भएका कलेजोका बिरामीहरुमध्ये ५० प्रतिशत त रक्सी सेवन गरेरै त्यो अवस्थामा पुगेका हुन्छन् ।
त्यस्तै गाउँघरमा पुरानो विधि अपनाउँदै आफै विभिन्न किसीमका जडिबुटिहरुको सेवन गर्दा मिर्गौला र कलेजो खराब गराउँने वा कलेजोमा समस्या भएका बिरामीहरुले त्यसरी जडिबुटिको सेवन गर्दा अझै बढि कलेजो बिग्राने गर्छ ।
पुरुषले जति जाड रक्सी खाँदा कलेजो सिरोसिस हुन जान्छ । महिलाको हकमा हेर्ने हो भने अझ कम जाड रक्सी अर्थात आधा खाँदा नै कलेजो खराब गर्न सक्छ । सामान्यतया पुरुषले १६० ग्राम रक्सी खाए १० वर्षमा उसको कलेजो सिरोसिस हुन्छ भने महिलाले ८० ग्राम एम एल खाएमा १० बर्षमा सिरोसिस गराउँछ सक्छ ।
आमाबाट बच्चामा सजिलै सर्न सक्ने हेपाटाइटिस बी ले पनि लामो समयसम्म असर गरिरहेको छ भने पनि कलेजोलाई कडापन तिर लग्न सक्छ ।
जोर्नी दुख्नु वा बाथसँग सम्बन्धित रोगले पनि कलेजोलाई असर गर्न सक्छ । साथै केहि बंशाणुगत कारण पनि हुन सक्छन् ।
लिभर सिरोसिस हँदा के कस्ता लक्षणहरु देखिन्छन ?
कुनै पनि लक्षण नदेखिएता पनि नियमित अल्ट्रासाउड स्क्रिनीङ गर्दा पनि थाहा हुन्छ ।
रगतको जाचँ गर्दा वा रगतको कोषहरुमा कमी आएमा ।
सिरोसिस भइसकेको बिरामीहरुमा पटक पटक संक्रमण हुने सम्भावना बढेमा ।
सामान्य मानिसभन्दा १५ देखि १७ गुण बढि टिबी हुने सम्भावना हुन्छ ।
मुख, दिसाबाट रगत आउनु, पेट फुल्नु पटक पटक टक्सिनस हुनु ।
सिरोसिस पछि र नहुदै कतिपय अवस्थामा कलेजोको क्यान्सर पनि हुन सक्छ ।
कलेजोमा हुने धेरै संक्रमण ठिक हुने गर्छन ।
शरीर पहेँलो हुने (जन्डिस)
पेटमा पानी जम्ने
खुट्टा सुन्निने
पुरुषमा स्तन वृद्धि हुने (गाइनेकोमास्टिया)
प्रजननसम्बन्धी समस्या
मस्तिष्क अनियन्त्रित हुने
कलेजो सुन्निने
कस्तो अवस्थामा बिरामी अस्पताल आउँने गर्छन ?
कलेजोको धेरै संक्रमण निको हुने गर्छ । हेपाटाइटिस बी भएर कसैलाई जन्डिस भयो भने ९५ प्रतिशत भन्दा बढि आफै निको हुने गर्छ । त्यसका लागि हामीले स्वस्थ्यकर खाना खानु पर्ने हुन्छ ।
प्रायः बिरामीहरु कलेजोमा संक्रमण फैलिसकेपछि अस्पताल आउँने गर्छन । त्यस्तै जथाभावि औषधी र जडिबुटिको सेवन गरेर कलेजोमा समस्या केहि बढेपछि अस्पताल आउँनेको संख्या पनि धेरै छ । कलेजोमा इन्जुरी भइसकेपछि निको हुनका लागि बिरामीले खानपानमा उत्तिकै ध्यान दिनु पर्ने हुन्छ ।
मोटोपना भएका व्यक्तिको कलेजोमा बोसो जमिरहेको हुन्छ । त्यस्ता व्यक्तिले रक्सी खाए अझै छिट्टो कलेजो खराब हुदै जान्छ । त्यसकारण जथाभावि खानापान गरेर संक्रमण लिएर अस्पताल आउँनु भन्दा पनि स्वास्थ्यमा असर पर्ने खालका खाने कुराहरु नखानु बुद्धिमता साबित हुन्छ ।
कस्तो अवस्थामा कलेजो प्रत्यारोपण गर्नु पर्ने हुन्छ ?
सिरोसिस भएर कलेजो खराब भएको छ भने पेटमा पानी बढिरहेको छ पानी पटक पटक तान्नु पर्ने अवस्था आयो भने,
मुखबाट बारम्बार रगत आयो नस्साहरु फुलिनबाट रोक्न सकिएन भने,
कलेजो समस्याका कारण बेहोसीपना बढ्दै गयो भने,
कलेजोको कारणले मिर्गौलालाई असर गरेको छ भने,
कलेजोकै कारणले छातीमा पानी जमेको छ र बिरामीलाई सास र्फेनमा समेत समस्या भइरहेको छ भने,
कलेजो प्रत्यारोपण गर्ने व्यक्तिले आफुसँग ४० प्रतिशत कलेजो राखेर बिरामीलाई ६० प्रतिशत कलेजो दिनु पर्ने हुन्छ । तर दाताकै कलेजोमा समस्या छ भने त्यस्तो अवस्थामा कलेजो दिन मिल्दैन ।
कुनै पनि कलेजोका बिरामीलाई तत्कालै (लगभग सात दिन भित्र) कलेजो प्रत्यारोपण गर्नु पर्ने अवस्था आएको खण्डमा नेपालमा त्यो सुविधा आइसकेको छैन् जसले गर्दा बिरामीले मृत्युवरण गर्छन । हाम्रै छिमेकी मुलुक भारतमा यो सुविधा आइसकेको छ तर नेपालमा यो सुविधा अझैपनि भित्रीएको छैन ।
कलेजो सुरक्षित राख्नका लागि हामीले के गर्नु पर्छ ?
सबै भन्दा पहिलो कुरा कलेजो सुरक्षित राख्नका लागि आफ्नो तौलमा ध्यान दिनु पर्छ । धुम्रपान, मद्यपानले कलेजोमा धेरै असर पुर्याउने भएकाले यसमा रोक लगाउँनुपर्छ । व्यायमहरु गर्ने, जथाभावी रुपमा एलोपेथिक र जडिबुटि औषधिहरुको सेवन गर्नुहुदैँन ।
त्यस्तै बयस्क उमेर मै आत्महत्या गर्ने उदेश्यले ८ वटा भन्दा बढि पारासिटामोल खायो भने पनि कलेजो इन्जुरी हुन सक्छ । सामान्यतय नदुख्ने औषधिहरुले कलेजोलाई धेरै असर गर्ने गर्छ । मुटुको, टीबीको, क्षारे रोगको औषधि सेवन गर्ने व्यक्तिले आफ्नो कलेजोमा कुनै असर परेको छ वा छैन भनेर जाँच गरिरहनु पर्छ ।