सामान्यतया मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात् ब्रेन स्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश बिरामीलाई पक्षाघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ । ब्रेन स्ट्रोक हुँदा टाउकोको एकापट्टिको भागमा प्यारालाइसिस हुने, मुख बांगिने, बेहोस हुने, आँखा नदेख्ने आदि हुन्छ । मस्तिष्कको पूरै भागबाट रक्तसञ्चार बन्द भएमा मानिसको मृत्युसमेत हुन्छ ।
यसकारण जाडोमा जोखिम
गर्मी मौसमको तुलनामा जाडोमा बे्रन स्ट्रोक हुने समस्या ३० प्रतिशतले बढी हुन्छ । जाडो मौसममा कम व्यायाम गरिने, उच्च रक्तचापको समस्या बढ्ने गर्छ । यसले ब्रेन स्ट्रोकसँगै अन्य रोगको संक्रमणको खतरासमेत बढी हुन्छ । त्यस्तै, जाडोमा रगत गाढा हुने गर्छ । जसको कारण नसामा दबाब पर्ने, फुट्ने सम्भावनासमेत बढेर जान्छ । फलस्वरूप ब्रेन स्ट्रोकको जोखिमसमेत बढ्छ ।
कसलाई बढी जोखिम ?
जुनसुकै उमेरका मानिसमा पनि मस्तिष्कघात वा पक्षाघातको खतरा हुने गर्छ । यद्यपि, गर्भनिरोधक चक्की सेवन गरिरहेका महिला, मधुमेह, उच्च रक्तचाप र कोलेस्ट्रोलका बिरामीमा यसको जोखिम बढी हुन्छ ।
कसरी थाहा पाउने ?
ब्रेन स्ट्रोक हुँदा एक्कासि बेहोस हुने हुन्छ । अन्य समस्याका कारण बेहोस हुँदा मानिस एकैछिनमा आफैँ ठीक हुन्छ । तर, स्ट्रोक हुँदा लामो समयसम्म बेहोस हुने अर्थात् होसमै नआउने हुन्छ । अचानक मुख बांगिने, प्यारालाइसिस हुने, कमजोर महसुस हुने, एक्कासि आँखा नदेख्ने यसका मुख्य लक्षण हुन् ।
उपचार
बे्रन स्ट्रोक भएमा सकेसम्म छिटो उपचार गरिसक्नुपर्छ । जति छोटो समयमा उपचार गर्न सकियो, त्यति नै उपलब्धिमूलक हुन्छ ।
मस्तिष्कमा रगत भरिँदै गएको भए उपचार गर्न अझ हतार गर्नुपर्छ । रक्तसञ्चार बन्द भएर पक्षाघातको स्थिति आएमा ३ घन्टाभित्रमा अस्पताल पुर्याइसक्नुपर्छ ।
रोगको अवस्था हेरेर शल्यक्रिया वा औषधि सेवनबाट यसको उपचार सम्भव छ । यद्यपि, नेपालका अधिंकाश अस्पतालमा न्युरो सर्जन छैनन् । यो आवश्यकता पूर्ति गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।
कारण
ब्रेन स्ट्रोक हुनुका विभिन्न कारण छन् । अत्यधिक धूम्रपान गर्नु, बढी तनावयुक्त जीवन जिउनु आदि कारणले यसको जोखिम हुने गर्छ ।