"मैले खोप लगाउन नचाहनुको कारण अति सामान्य छ: यसले मलाई राम्रो गर्ने कुरा देख्दिनँ," मस्को अस्पतालकी मुटुरोग विशेषज्ञ भिक्टोरिया (नाम परिवर्तन) भन्छिन्।
रुसी खोपको प्रभावकारिताबारे उनलाई विश्वास छैन त्यसैले उनले खोप कार्यक्रमको पहिलो छ महिना बेवास्ता गरिन्।
तर हालै मस्कोका नगरप्रमुखले केही खास किसिमका सरकारी जागिरेहरूले अनिवार्य खोप लगाउनुपर्ने घोषणा गरेका छन्। चिकित्सकहरूलाई पनि उक्त नियम लागु हुन्छ।
डा. भिक्टोरियाले यसबारे दुई दिनसम्म विचार गरिन् अनि खोप नलगाई प्रमाणपत्र किन्ने निर्णय गरिन्। उनले खोप लगाएको नक्कली प्रमाणपत्र किनिन्।
मस्कोभरि डेल्टा भेरिअन्ट देखा परेको र दैनिक वृद्धिदर बढिरहेकोबारे उनी चिन्तित भए पनि उनी खोपले गर्ने असरहरूबारे बढी चिन्तित छिन्।
सामान्य रूपमा भिक्टोरिया खोपविरोधी होइनन्। उनी र उनका सन्तानले अन्य रोगविरुद्ध नियमित खोप लगाएका छन्।
तर तीन वटै रुसी खोपले दर्ता प्रक्रियाका लागि हतार गरेको उनलाई लाग्छ।
यद्यपि विदेशमा बनेका अन्य खोप पाए के गर्ने भन्ने प्रश्नमा पनि उनी लगाउनेबारे यकिन गर्न सक्दिनन्।
अस्पताल व्यवस्थापनले सबै कर्मचारीले खोप लगाउनुपर्ने बताएपछि भिक्टोरियाले स्थानीय खोप क्लिनिकमा सम्पर्क गरिन्।
त्यहाँ करिब ७० डलर तिरेर स्पुत्निक खोपको एक मात्रा लगाएको पुष्टि गर्ने कागज बनाइन्। त्यसको २४ घण्टामा सरकारी दर्ता वेबसाइटमा उनले खोप लगाएको पुष्टि भयो।
अबको तीन सातामा उनले दोस्रो मात्रा पनि लगाएको भनेर वेबसाइटमा देखा पर्नेछ। उनले आफ्ना आधा सहकर्मी र साथी खोपप्रति यसै गरी अनिच्छुक रहेको बताइन्।
"केही अज्ञात कुराको डर हो," उनले भनिन्। "सरकारप्रतिको हाम्रो अविश्वासले पनि यसमा भूमिका खेलेको छ।"
अधिकारीहरूले रुसको सबैभन्दा बढी प्रयोग भएको र पहिलो स्पुत्निक खोपले तीन वटा परीक्षण पार गरेको विषयलाई जोड दिन्छन्।
उनीहरूले यो खोप अतिसुरक्षित रहेको र प्रभावकारिता पनि ९१ प्रतिशतभन्दा बढी रहेको दाबी गर्छन्।
तर थुप्रै रुसीहरू त्यो विश्वास गर्दैनन् र केही त नक्कली प्रमाणपत्र किन्न खोजिरहेका छन्।
यदि उनीहरूसँग भिक्टोरियाको जस्तै खोप लगाएको प्रमाणपत्र बनाउने क्लिनिकमा चिनजान छैन भने अनलाइन समाधान फेला पार्न सक्छन्।
हालैका सातामा "खोप प्रमाणपत्र किन्नेबारे"का अनलाइन खोजी अकासिएका छन्।
किरिल एउटा रेस्टुरेन्टमा काम गर्छन्। उनलाई उनका व्यवस्थापकले खोप लगाउन भन्नेछन् भनेर चिन्ता लागेको छ। तर उनी लगाउन चाहँदैनन्।
"म र मेरी श्रीमती बच्चा जन्माउन खोज्दैछौँ," उनले भने। "कसलाई थाहा छ र खोपका कस्ता असर हाम्रो शरीरमा पर्छन्।"
सेर्गेइ (नाम परिवर्तन) एक जना सम्पत्तिबारे काम गर्ने एजेन्ट हुन्।
"सिद्धान्तत: म खोपविरोधी होइन, म केवल रुसी खोप लगाउन चाहन्नँ। पश्चिमा देशमा बनेको खोप रुसमा प्रतिबन्धित भएकोले म जब सक्छु तब प्रमाणपत्र किन्नेछु।"
उनी र किरिल दुवै टेलिग्राम मेसेन्जरमा एउटा समूहसँग आबद्ध छन् जसले प्रमाणपत्र बिक्री गर्छ।
सिभिल इन्जिनियर ओलेग (नाम परिवर्तन) र उनकी पत्नी शिक्षिका एलिना (नाम परिवर्तन) पनि अनिवार्य खोप लगाउनुपर्ने वर्गमा पर्छन्।
उनीहरूलाई यो नियम मानवअधिकारविरुद्ध भएको भन्ने लाग्छ।
ओलेग स्पुत्निक खोपबारे विश्वास गर्दैनन् र "वैज्ञानिकहरूलाई जे भन्न निर्देशन दियो उनीहरूले त्यही भन्ने" दाबी गर्छन्।
एलिना पनि आफू "वैज्ञानिक प्रयोग" का लागि नभएको बताउँछिन्।
उनलाई गतवर्ष कोभिड भएको थियो र अहिलेसम्म सबै एन्टिबडी सकियो होला भनेर उनलाई चिन्ता लाग्छ। उनी पनि खोप नलगाई नक्कली प्रमाणपत्र बनाउने तयारीमा छिन्।
यी कागजातहरूको मूल्य ३९ देखि २०९ डलरसम्म पर्छ।
सरकारी दर्ता प्रणालीमा नाम राख्नका लागि सबैभन्दा बढी महँगो पर्छ।
सबैभन्दा सस्तो एउटा कागजमा दिने प्रमाणपत्रको पर्छ जुन काम नलाग्ने पनि हुन सक्छ किनभने मस्कोका अधिकारीहरूले हालसालै क्यूआर कोड भएकालाई मात्रै आधिकारिक प्रमाणका रूपमा लिने घोषणा गरेको छ।
तर कागजको प्रमाणपत्र बेच्नेहरूले पनि थप शुल्कका लागि सरकारी अनलाइन प्रणालीमा रहेको दाबी गर्छन्।
एक जना त्यस्तै विक्रेता रोमनले आफूले कागज प्रमाणपत्र मात्रै बेच्ने र त्यो डिजिटल प्रणालीमा नरहने स्वीकार गरेका छन्।
रोमनले आफूले खोपको एक मात्रा लगाएको बताए।
रुसमा नक्कली खोप प्रमाणपत्रको कालोबजारी मार्चमा बढ्न थालेको हो जब मानिसहरूले बिदामा विदेश घुम्न जाने विचार गरे र ती देशले खोप लगाएका मानिसलाई मात्रै आगमनको अनुमति दिने घोषणा गरे।
तर जुन महिनामा नयाँ प्रतिबन्धहरू लगाइएपछि कालोबजारी धेरै फस्टाएको छ।
साइबर सुरक्षा कम्पनी कासपियर्सकी ल्याबका दिमित्री गलोभले प्रमाणपत्रको प्रस्ताव गर्ने धेरै विज्ञापनहरू जाली व्यक्तिहरूले बनाएको र उनीहरूसँग सरकारी दर्ता प्रणालीको पहुँच नभएको बताइन्।
"केही मानिसहरूले यी सेवाहरू बेचिरहेका हुन सक्छन् र केहीले सरकारी तथ्याङ्कमा नाम थप्न पनि सक्छन् तर यो परीक्षण गर्न निकै कठिन छ। यो अनलाइन बजार होइन. जहाँ प्रत्येक विक्रेताको नामविरुद्ध स्टारको सङ्ख्या जाँच गर्न सकियोस्। यी वास्तविक जाली हुन् जसले तपाईँको फाइदा लिन सक्छन्," गलोभ भन्छन्।
एक डाक्टर दिमित्रीले आफ्नो क्लिनिकका लागि भनेर स्पुत्निक खोप मगाए। त्यही बेला उनले आफ्नो नाम पनि खोप लगाउने सूचीमा दर्ता गरे तर खोप भने नलगाई फाले।
त्यसको केही समयपछि उनकी आमाको कोभिडका कारण मृत्यु भयो। धेरै मानिसले उनले खोप लगाएकी थिइन् कि थिइनन् भनेर प्रश्न सोधे।
"आमालाई खोप लगाउन आश्वस्त नपारेको प्रति उनी दुखी भए," दिमित्रीका साथीले भने।
"उनी आफैँ पनि अब साँच्चै खोप लगाउन चाहन्छन्। तर उनी सक्दैनन् किनभने उनको नाम सरकारी प्रणालीमा खोप लगाइसकेको व्यक्तिका रूपमा दर्ता भइसकेको छ।"
बिबिसी