काठमाडौं - वर्षा सुरु भएसँगै डेंगुको जोखिम बढेको छ। यस महामारीको समयमा आफ्नो स्वास्थ्यमा ध्यान दिन अझ जरुरी छ। त्यसमाथि डेंगुका लक्षण कोभिड १९ सँग पनि मिल्दोजुल्दो हुन्छन्।
कुनै व्यक्तिमा एक्कासी ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, आफ्नो दैनिकीमा रुचि नलाग्ने, खानपान वा अन्य काम कुरामा रुचि नलाग्ने, वाकवाकी लाग्ने वा बान्ता हुने, थकान महसुस हुने डेंगुका लक्षण हुन् ।
यस्ता लक्षण देखिएमा तुरुन्त अस्पताल वा स्वास्थ्य संस्थामा जानुपर्छ। साथै अनुमानका आधारमा जथाभावी औषधि सेवन गर्नुहुदैन । त्यस्तै यस्ता लक्षण देखिएमा चिकित्सकको सल्लाह र परामर्शलाई महत्व दिनुपर्छ ।
वर्षायाममा डेंगु र कोरोना दुवै रोगबाट सुरक्षित हुने उपायहरु
लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने र घरबाहिर जाँदा अनिवार्य रुपमा मास्क लगाउने
घर वरपर प्लास्टिक, सीसा, खपटा, सिडी, चिया खाएर फालिएका कप, नरिवलका बोक्रा आदि भए सफा गर्ने र पानी जम्न नदिने
खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने
पानीको नाली, ढल, पोखरीमा हप्ताको २ दिन डढेको मोबिल वा मट्टितेल छर्कने
खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने
पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने
कुलरमा हप्ताको एक वा दुई पटक मट्टितेल हाल्ने
बेलाबेलामा साबुनपानीले मिचिमिचि हात धुने र भौतिक दूरी कायम गर्ने
सुत्ने बेला झुलको प्रयोग गर्ने
परिवारमा कसैलाई यस्ता लक्षण देखापरे तुरुन्तै आइसोलेसनमा बस्ने