वाग्मती - वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा ल्याइएको छ । हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा डायलासिस मेसिन र पूर्वाधारसमेत तयार पारेपछि अस्पतालमा डायलासिस सेवा सेवा सञ्चालन भएको हो ।
अहिले पाँचवटा मेसिनमार्फत मिर्गौलाका बिरामीको डायलासिस शुरु गरिएको छ । यस सेवाका लागि उपमहानगरपालिकाको समन्वय र सहयोगमा डायलासिस मेसिन ल्याएर सेवा सञ्चालनमा गरिएको हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा अडायलासिस सेवा सञ्चालनपछि सेवा लिनका लागि यसअगावै चितवन, काठमाडौं, वीरगञ्जलगायतका जिल्लामा जानुपर्ने बिरामीको बाध्यता अब अन्त्य हुने विश्वास लिइएको छ ।
अस्पतालले डायलासिस सेवा पनि दिन थालेकाले स्वास्थ्य क्षेत्रमा काँचुली फेरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा विष्णुराज जोशीले बताउनुभयो । अस्पतालमा क्रमशः सेवा विस्तार गर्ने क्रममा डायलासिस सेवा शुरु गरिएको हो । नगरवासीलाई स्वास्थ्य उपचारमा सघाउ पु¥याउने उद्देश्यले उपमहानगरपालिकाको प्रयासमा हेटौँडा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा ल्याइएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए।
यसैबीच वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा राष्ट्रिय वृक्षरोपण दिवसका अवसरमा सोमबार हेटौँडा–४ हुप्राचौरमा वृक्षरोपण गरिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालले शहरमा वृक्षरोपण गर्नु अत्यन्त महत्वपूर्ण काम रहेको बताए ।
२१ गतेसम्मका निषेधाज्ञा थप
मकवानपुर जिल्लामा जारी निषेधाज्ञालाई केही खुकुलो पार्दै पुनः यही असार २१ गते राति १२ बजे सम्मका लागि लम्ब्याइएको छ । जिल्लामा कोरोनाको जोखिम कायमै रहेकाले जिल्ला कोभिड व्यवस्थापन समितिको सिफारिसमा र जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।
प्रशासनअनुसार निजी सवारी जोरबिजोर प्रणालीमा सञ्चालन गर्न पाइने छ भने सार्वजनिक यातायात बन्द रहने छ । थप गरिएको निषेधाज्ञामा प्रेस, फोटो स्टुडियो, फोटोकपी सेन्टर बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन गर्न पाइने छ । कस्मेटिक पसल र सुनचाँदी पसल पनि जुत्ता चप्पल, फर्निचर पसलसरह मध्याह्न १२ बजेदेखि ४ बजेसम्म खोल्न पाइने भएको छ । अन्य व्यवसाय भने अघिल्लो पटकको निर्णयबमोजिम नै कायम गरिएको छ । पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमणको दर घट्दै गएको भए पनि जोखिम यथावत नै रहेकाले असार १४ गतेसम्म जारी गरिएको निषेधाज्ञा थप सात दिन थप्ने निर्णय भएको जिप्रका मकवानपुरले जनाएको छ ।
रुपाको न्यायका लागि विरोध प्रदर्शन
काठमाडौँमा रुपा सुनारलाई जातका आधारमा कोठा भाडा नदिइएको भन्दै मकवानपुरमा दलित अधिकारवादी सङ्घसंस्थाले रुपाको न्यायका लागि दबाब सिर्जना गर्ने भएका छन् । रुपाको न्यायका लागि मकवानपुरमा आज र भोलि बुधबार विरोध कार्यक्रम हुने भएको छ । जिल्लामा असार २१ गतेसम्म निषेधाज्ञा जारी भए पनि निषेधाज्ञामै विरोधका कार्यक्रम गर्ने दलित अधिकारकर्मी सुधन विश्वकर्माले बताए । सुनारले न्याय नपाएसम्म विरोध कार्यक्रम जारी रहने उनले बताए ।
मकवानपुरमा क्रियाशील १० दलित अधिकारवादी सङ्घसंस्थाले रुपा सुनारको कोठाभाडा विषयमा उचित छानबिन गरी न्याय प्रदान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएका छन् । सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेमार्फत जिल्लाका १० वटा दलित अधिकारवादी सङ्घसंस्थाले संयुक्तरूपमा प्रधानमन्त्रीलाई ध्यनाकर्षण गराएका हुन् ।
रासस