काठमाडौं- झापास्थित बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको अनुगमन गर्न गएको टोलिले १५ दिन बितिसक्दा चिकित्सा शिक्षा आयोगलाई पनि प्रतिवेदन बुझाउन सकेको छैन ।
गत २ जेठमा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले बीएण्डसीलाई एमबीबीएस पढाउन सम्वन्धन दिन मिल्ने वा नमिल्ने निर्णय सात दिन भित्र गरिसक्ने निर्णय गरेको थियो । सोही बैठकले त्यसअघि स्थलगत अनुगमनका लागि स्वतन्त्र विज्ञ टोली झापा पठाउने र उसले दिएको प्रतिवेदनका आधारमा अन्तिम निर्णय लिने भनेको थियो ।
आयोगको सातौं बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा २८ जेठमा बसेपनि ३० जेठमा माइन्युट तयार गरिएको थियो । आयोगले बीएण्डसीको अनुगमन गर्न विज्ञहरुको तर्फबाट प्राडा प्रकाशराज पाण्डेको संयोजकत्वमा विज्ञ डा भोजराज अधिकारी र आयोगका तर्फबाट प्राडा रमेश आचार्य र सेमन्तराज कोइराला सदस्य रहेको चार सदस्यीय टोली झापा पुगेर पनि फर्किसकेको छ तर आयोगमा भने अहिलेसम्म पनि प्रतिवेदन बुझाइएको छैन ।
एक साताको म्यादमा दुई साता पुग्दा समेत प्रतिवेदनको अत्तोपत्तो नहुँदा आयोगले मंगलबारको बैठकमा प्रतिवेदन आउने अपेक्षा गरेका थिए । तर त्यो सफल भएन ।
वीएण्डसीको इन्स्पेक्सनमा गएका टोली संयोजक प्राडा पाण्डेले अहिलेको अनुगमन टोलीमा ‘इन्ट्रेष्ट’ बाझिने व्यक्ति भएको पछि थाहा पाएको भन्दै प्रतिवेदनमा हस्ताक्षर गर्न नमानेको आयोगको स्रोतले जनाएको छ ।
वीएण्डसी संञ्चालक दुर्गा प्रसाई र आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीबीच गतवर्ष भएको विवाद र त्यसपछिको अदालती प्रक्रियामा डा गिरीकै तर्फबाट साक्षी बस्ने व्यक्ति डा भोजराज अधिकारी नै हुन् भन्ने थाहा पाएपछि प्रतिवेदनमा ‘कन्फिल्क्ट अफ इन्ट्रेष्ट’ देखिने भन्दै हस्ताक्षर गर्न नमानेको हुन सक्ने स्रोतले बतायो ।
बीएण्डसीको अनुगमनमा जाने टोलीले यसरी बुझाएको थियो अदालतमा बकपत्रः