काठमाडौं - ठिक्क मात्रामा कफी पिउँदा त्यसले गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने एक अध्ययनले देखाएको छ।
ब्रिटिश मेडिकल जर्नलमा छापिएको उक्त अनुसन्धानले कफि पिउँदा कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने देखाएको छ। तर अनुसन्धानकर्ताहरुले कफीकै कारण त्यस्तो भएको भन्ने पुष्टि भने गर्न सकेका छैनन्।
अनुसन्धानमा कफी नपिउनेको तुलनामा कफी पिउनेमा हृदयघात र मस्तिष्कघात जस्ता स्वास्थ्य समस्या हुने सम्भावना कम रहेको उल्लेख छ । तर गर्भवती अवस्थामा कफी पिउनु जोखिमपूर्ण हुनसक्छ ।
कफी नपिउने मानिसका तुलनामा दिनको लगभग तीन कप कफी पिउने मानिसहरुमा मुटुसम्बन्धी समस्याहरु कम देखिएको छ । साथै कफी पिउनाले कलेजोसम्बन्धी रोगका साथै क्यान्सरको जोखिम कम हुने सो अध्ययनमा उल्लेख गरिएको छ । ।
तर एक विद्धानले कफी सेवन गरेकै कारण त्यस्तो भएको हो भनेर पुष्टि गर्न नसकिएको बताएका छन् । उनी भन्छन्, उमेर, धूम्रपानको सेवन, व्यायाम जस्ता अरु कुराहरुले पनि प्रभाव पारेको हुनसक्छ।
ब्रिटेनको स्वास्थ्यसम्बन्धी निकाय एनएचएसले गर्भवती महिलाले दिनको २०० मिलिग्रामभन्दा बढी क्याफीन पिउन नहुने बताएको छ। बढी कफी सेवन गर्दा महिलाहरुमा गर्भपातको जोखिम हुने उसको भनाइ छ।
अनुसन्धानका अनुसार त्यसबाहेक हड्डी कमजोर भएका महिलाहरुलाई पनि कफीको मात्रा कम गर्न सुझाव दिएको छ।
अनुसन्धानकर्ताहरुले कफी पिउनेहरुलाई स्वस्थ्य रुपमा कफी खान सुझाव दिदै बढी चिनी नहाल्न, दूध वा क्रिम अनि चिल्लो पदार्थको मिश्रण सकेसम्म कम गर्न सुझाव दिएका छन्।