काठमाडौं - रेसादार पदार्थले शरीरमा भिटामिन वा शक्ति केही दिँदैन, तर हामीले खाएको वस्तुलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ, अर्थात कब्जियत हुन दिंदैन ।
हरियो तरकारी र फलफूलहरु फाइबरका प्रमुख स्रोतहरु हुन् । यसै गरी आलुको बोक्रा, स्याउको बोक्रा, अन्नहरु जस्तै चामल, मकै, कोदो, फापर आदिको बाहिरी भाग र गेडागुडीहरुमा प्रशस्त मात्रामा फाइबर र कार्बोहाइड्रेट दुवै पाइन्छ ।
चामल, गहुँ वा कोदोको गेडा फलेपछि जुन ढुटो निस्कन्छ, त्यसमा पनि प्रशस्त मात्रामा रेसादार पदार्थ हुन्छ । यसमा भएको रेसादार पदार्थले शरीरको रगतमा रहेको कोलेस्टेरोल (त्यस्तो प्रकारको बोसो जुन शरीरमा चाहिने भन्दा बढी भएमा मुटुमा जमेर मुटुरोग हुन सक्छ) को मात्रालाई घटाउँछ । रेसादार पदार्थलाई पानीमा घुलनशील र पानीमा अघुलनशील गरी दुई भागमा बाँड्न सकिन्छ । पानीमा घुलनशील रेसादार पदार्थले ठूलो आन्द्राबाट कोलेस्टेरोललाई आपूmसँगै घोलेर लैजान्छ जसले गर्दा यो शरीरमा शोषण नभएर मलसँग बाहिर निस्केर जान्छ ।
शरीरको आन्द्राको क्यान्सरमा यसको के कस्तो भूमिका हुन्छ भनेर सन् १९६० मा बेलायतका डाक्टर डेनिस बुरकिटले अध्ययन गरेका थिए । उनले लामो समयसम्म अफ्रिकामा काम गरेका थिए । उनले अफ्रिकाका केही जातिहरुमा आन्द्रा, पेट र मलद्वारको क्यान्सर नभएको पाए । यसको कारण उनीहरुको भोजनसँग जोडिएको थियो । डा. बुरकिटले उनीहरुको भोजनमा रेसादार पदार्थ प्रशस्त मात्रामा भएको पाएका थिए ।
हालै पश्चिमी मुलुकमा भएका विभिन्न अनुसन्धानहरुले के देखाएका छन् भने पश्चिमी समाजमा खाइने भोजनमा रेसादार पदार्थको कमीले गर्दा नै त्यहाँ मधुमेह, विभिन्न किसिमका मुटुको समस्या र पेटसँग सम्बन्धित रोगहरु बढ्छन् । पश्चिमी समाजमा मात्र होइन नेपाल जस्ता अविकसित मुलुकहरुमा पनि बढ्दो शहरीकरणले गर्दा तयारी खानेकुराको बढ्दो प्रयोग, मिलमा अत्यन्त मिहिन तरिकाले पिसेको पीठो (मैदा) र अन्य पदार्थका साथै बाहिरी खोस्टो निस्केको चामलको प्रयोग, हरियो सागपातको कमी, पश्चिमी शैलीको खानेकुरा, जस्तै पाउरोटी, चकलेट, आइसक्रीम, चाउचाउ र विभिन्न पेय पदार्थ आदिको बढी उपयोगले गर्दा वयस्क व्यक्तिहरुमा मात्र होइन बालबालिकामा समेत कब्जियतको समस्या देखा परेको छ । भोजनमा रेसादार पदार्थको कमीले गर्दा अन्य विभिन्न समस्याहरु पनि देखा पर्छन् ।
घुलनशील रेसादार पदार्थले सानो आन्द्रामा चिनीको शोषण हुने क्रियालाई कम गराउँछन् । विशेषगरी मधुमेहका बिरामीहरुले रेसादार पदार्थ भएको भोजनको प्रयोग गरेमा उनीहरुको रगतमा एक्कासी चिनीको मात्रा बढी हुने सम्भावना कम गराउँछ । हामीहरुले खाने दैनिक भोजनमा गहुँ, चामल, कोदो, मकै सबै किसिमका दालहरु, तरकारीहरु, केरा र अन्य विभिन्न प्रकारका फलपूmलहरुमा रेसादार पदार्थ पाइन्छ ।