हुन त हरिया र रसिला फलफूलको स्वाद हामीले दिनहुँ लिइराखेकै हो, तर ड्राइ फ्रुट अर्थात सुक्खा फलफूलको महत्व पनि कम छैन । हरिया र रसिला फलफूल जस्तै ड्राइ फ्रुट पनि स्वास्थ्यको दृष्टिले उत्तिकै पोषिला हुन्छन् । अझ चाउरी परेका ड्राइ फुट ताजा फलफूलको तुलनामा बढी पोषणयुक्त हुन्छन् ।
काजु, किसमिस, पेस्ता बदाम, कागजी बदाम र छोकडा जस्ता सुख्खा फलफूलहरुको महत्व बेग्लै छ । सुकेपछि यी फलफूलहरुमा बढी पौष्टिक हुनुको कारण – पानी सुकेपछि ती फलफूलमा फाइबर र पोषक तत्व अझ घना भएर जान्छ ।
अनुसन्धानबाट यो भेटिएको छ की, ताजा आरुमा जम्मा १.६ ग्राम मात्र फाइबर पाइन्छ भने आधा कप सुख्खा आरुमा ४.७ ग्राम फाइबर हुन्छ । सुख्खा फलफूलमा प्रचुर मात्रामा एन्टी अक्सिडेन्ट र भिटामिन बी फोलेट पनि पाइन्छ ।
१३ हजार जनाभन्दा बढीलाई समेटेर महामारी सम्बन्धी एउटा ठूलो अध्ययन गरिएको थियो, जसले सुख्खा फलफूल नखानेका तुलनामा खानेहरूले प्रचुर मात्रामा पोषण पाउने र वजन समेत नबढ्ने निष्कर्ष निकालेको थियो ।
ड्राइ फ्रुट खेलाडीहरुको लागि त झनै उपयोगी मानिन्छ । यसमा नेचुरल सुगर (प्राकृतिक चिनी) को मात्रा धेरै हुन्छ, जसले आवश्यक पर्दा तत्कालै मांसपेशीलाई ऊर्जा दिन्छ ।
तर, यो प्राकृतिक चिनी कार्बोहाइड्रेट र क्यालोरी धेरै लिन नहुने वा हिसाब गरेर मात्र उपभोग गर्नेका लागि भने पोषण बढी पनि हुनसक्छ । जस्तो कि एक कप अंगुरमा २३ ग्राम सुगर र १ सय ४ ग्राम क्यालोरी हुन्छ । तर, एक कप मुनक्कामा १ सय १६ ग्राम सुगर र ५ सय २० ग्राम क्यालोरी हुन्छ।
युएस डाएटरी गाइडलाइन्सले दैनिक डेढ कपदेखि दुई कपसम्म फलफूल खान सुझाव दिएको छ, यसमध्ये आधा कप सुख्खा फलफूललाई एक कप ताजा फलफूल बराबर मानिएको छ ।
मधुमेह रोगीका लागि भने सुख्खा फलफूल खाने तरिका केही फरक हुन्छ । समग्रमा सुख्खा फलफूल पोषणयुक्त, सुविधाजनक र बोक्न सजिलो खाजा हो । अझ यसलाई विभिन्न किसिमका बदामसँग मिसाएर खाए अझ वेश हुने बताइन्छ ।