काठमाडौं - गुलियो र अमिलो खानेकुरा प्राय सबैलाई मनपर्छ तर त्यस्मा भएको चिसो पेयले दाँतको पालिस पखाल्छ । अम्लले मात्र दाँतको पालिस पखालिदैन गुलियोको कारणले पनि दाँतको पालिस पखालिने अवस्था बन्छ । हामीले खाएको गुलियोबाट दाँतमा र मुखमा रहेका किटाणुहरुले अम्लीय पदार्थ उत्पन्न गर्दछन् ।
यस्ता पेय वस्तुबाट दाँतसम्बन्धी विशेष गरी दाँतमा प्वाल पार्ने र दन्त हर्ष जस्ता समस्याहरु बढी देखिन सक्छ । हाल आएर दाँतको नाश हुने समस्या पनि धेरै देखिन थालेको दन्त चिकित्सकहरुले बताएका छन् ।
बरिष्ठ दन्त चिकित्सक डा सुशील कोइरालाका अनुसार, “बट्टामा राखेको फलफुलमा चिनीको मात्रा अति नै बढी हुन्छ । यसले बच्चाको दाँतमा नराम्रो असर पर्छ । त्यसैले बट्टाको फलफुलको रस किन्नु भन्दा फलफुल नै स्वास्थ्यको लागि धेरै राम्रो हुन्छ । यो सस्तो पनि पर्छ ।”
विशेष गरी चिसो पेयहरुमा भएका अम्लीय तत्वहरुलाई हाल दन्तनाशको कारक मानिएको छ । सुरुमा दाँतको बाहिरी पालिसको पत्र खिइदै दाँतको नाश हुन थाल्दछ र पछि दाँतको विचको पत्रमा पुग्छ र अन्त्यमा दाँतको सबैभन्दा भित्री पत्रमा हानी पुर्याउँछ । दाँतको पालिस खिइए पछि दाँतमा तातो, चिसो वा हावा पर्दा पनि सिरङ्ग हुने गर्दछ । यस्तो वेला दाँत कमजोर हुने, त्यसका किनारहरु सजिलै चोइटिने वा टुक्रिने हुन सक्छ ।
नेपालमा पनि यस्ता चिसो प्रयोग अत्याधिक बढिरहेको छ । चाडपर्व र भोज भतेरहरुमा पनि शान, मान र स्वागतका लागि यस्ता चिसो पेयहरुको अत्यधित प्रयोग भइरहेको छ । यसले हाम्रो स्वास्थ्य मात्र होइन जीवनशैली र संस्कृतिलाई पनि बिकृत बनाइरहेको छ ।
(जनस्वास्थ्यबिद्, अरुण उप्रतीको हेल्थ बुकबाट साभार)