जाडो समय बच्चाहरूका लागि सबैभन्दा संवेदनशील मौसम हो । यो मौसममा बच्चाहरूमा रुघाखोकी लाग्नेदेखि श्वासप्रश्वासको समस्या बढी देखिन्छ । विशेषगरी, पाँच महिनादेखि पाँच वर्षसम्मका बालबालिकामा रुघाखोकी, निमोनियाजस्ता श्वासप्रश्वासजन्य रोगको समस्या हुन सक्छ । ६ महिनाभन्दा कम उमेरका बच्चालाई बढी नै हेरचाह हुने, आमाको दूध मात्र खाने र उनीहरू बाहिरी वातावरणमा नजाने हुँदा त्यति समस्या हुँदैन । जब बालबालिका बाहिरी वातावरणमा रम्न थाल्छन्, उनीहरू सजिलै सो मौसममा जुध्न सक्दैनन् । जसले गर्दा विभिन्न समस्याले बच्चालाई सताउन सक्छ ।
मोटो लुगा समस्या
जाडोको समयमा हाम्रो समाजमा बाक्लो र धेरै लुगा लगाउने चलन छ । तर, अनावश्यक तरिकाले बाक्लो लुगा लगाउँदा केटाकेटीमा पसिना आउँछ । सो पसिना शरीरमा नै सुक्न जान्छ । जसले बच्चालाई रुघा लाग्ने, चिसो हुने र निमोनियासमेत हुने हुन्छ । त्यसकारण बच्चालाई आवश्यक मात्रामा मात्र लुगा लगाइदिनुपर्छ । वेलावेलामा पसिना आए/नआएको हेरेर पुछिदिनुपर्छ । सानो बच्चालाई न्यानोका लागि कपास भएको लुगा पनि लगाइदिने चलन छ । यस्तो लुगा लगाउन हुँदैन । यस्तो कपडाले पसिना सोसिरहन्छ र सधैँ चिसो हुन्छ ।
नाक टालिने
जाडोमा रुघाखोकीले गर्दा केटाकेटीको नाक टालिने गर्छ । बच्चालाई सबैभन्दा अप्ठ्यारो त्यही वेलामा हुन्छ । यस्तो वेलामा अभिभावकले भिक्स या अन्य चिज लगाइदिने चलन छ । तर, यो गम्भीर गल्ती हुन सक्छ । यस्तो वेलामा नरम कपडा या कपासले सफा गरिरहनुपर्छ ।
जाडोमा भाइरल
डाइरिया जाडोको समयमा बच्चालाई भाइरल डाइरिया पनि हुने गर्छ । यस्तो वेलामा आमाको दूध प्रशस्त खुवाउनुपर्छ । ६ महिनाभन्दा माथिका बच्चालाई आमाको दूधका साथै तातो झोल पदार्थ र जीवनजल पनि खुवाउनुपर्छ । यस्तो वेलामा बच्चालाई जलवियोजनको सम्भावना बढी हुने हुँदा त्यस्तो हुन नदिन बढी ध्यान दिनुपर्छ । विशेषगरी जाडोमा रोटा भाइरसले सताउने गर्छ ।
दूध मज्जाले तताउने
६ महिना पूरा गरेसँगै आमाको दूधले मात्र बच्चालाई पुग्दैन । हाम्रो गाउँ–समाजमा गाई–भैँसीको दूध खुवाउने चलन छ । त्यसैगरी, सहरमा डेरीबाट ल्याएको दूध खुवाइन्छ । यसरी ल्याइएको दूध खुवाउँदा मज्जाले तताउनुपर्छ । पूरा समय निश्चित तापक्रममा नतताएको दूधमा विभिन्न खालका संक्रमण हुने हुँदा बच्चालाई समस्या हुन सक्छ । यदि गाई–भैँसीमा कुनै संक्रमण भए सो बच्चामा सर्न पनि सक्छ । डेरीबाट ल्याएको दूध भए त्यसमा अन्य अखाद्य कुरा पनि मिसिएको हुन सक्छ । त्यसैले पनि दूध तताएर निर्मलीकरण गराएपछि मात्र दिनुपर्छ ।
सरसफाइमा ध्यान दिने
कतिपय अभिभावक रुघाखोकी लाग्छ भनेर लामो समय बच्चालाई ननुहाइदिने चलन छ । यो झन् घातक हुन्छ । बच्चाको सरसफाइ नियमित गरेको छ भने उसलाई जतिपटक नुहाए पनि रुघाखोकी लाग्ने सम्भावना हुँदैन । तर, सानो हुँदा नुहाइदिन कम गरिएको छ भने पछि गएर नुहाउनासाथ समस्या देखिन्छ । ननुहाउँदा विभिन्न खालका खटिराजन्य संक्रमण पनि हुन्छ । त्यसैले बच्चालाई सानैदेखि नियमित नुहाउने र सरसफाइमा ध्यान दिने गर्नुपर्छ ।
फलफूल खुवाउनुपर्छ चिसो हुन्छ भनेर बच्चालाई फलफूल खुवाउन हुँदैन भनिन्छ । तर, मौसमअनुसार पाइने फलफूललाई राम्ररी पखालेर खुवाउनुपर्छ । अझ तातो पानीले पखाल्दा त्यसमा भएका केमिकल पनि धोइने हुँदा स्वास्थ्यलाई पनि राम्रो गर्छ । सानो बच्चालाई पकाएर मिचेर खुवाउँदा राम्रो हुन्छ ।
ब्रिकेट बाल्दा ध्यान दिनुहोस्
कतिपय ब्रिकेट मट्टितेल पनि मिसाएको हुने हुँदा त्यसबाट कार्बन मोनोअक्साइड ग्यास निस्कन्छ, जसले बच्चाको स्वास्थ्यमा ज्यादै असर गर्छ । यदि यस्तो ब्रिकेट बाल्दा झ्याल–ढोका थुनिएको छ भने निस्सासिएर बच्चाको मृत्यु पनि हुन सक्छ ।
घाममा बस्नु उपयुक्त
सबैभन्दा उपयुक्त बच्चालाई बिहान १२ बजेअगाडिको घाममा राख्नु हो । यस्तो वेलामा शुद्ध तोरीको तेल, नरिवलको तेल या ओलिभ आयलले मालिस गरिदिनु उपयुक्त हुन्छ । तर, तेल लगाउँदा कान, नाक, नाइटोमा पार्नु हुँदैन । यी ठाउँमा तेल लगाउँदा संक्रमण हुने सम्भावना हुन्छ
आमाले पनि सरसफाइमा ध्यान दिनुपर्छ
आमाले पनि आफ्नो सरसफाइमा ध्यान दिनुपर्छ । आमामा केही संक्रमण भए बच्चामा सर्ने सम्भावना एकदमै धेरै हुन्छ । अझ दूध चुस्ने बच्चा छ भने झनै बढी सरसफाइमा ध्यान दिनुपर्छ । यदि स्तन र स्तनको निप्पल फोहोर भएमा बच्चाको मुखमा घाउ हुने सम्भावना बढी हुन्छ । आमा र बच्चा दुवैको सरसफाइ नभएर पिसाबमा संक्रमण पनि देखिने गरेको छ ।