काठमाडौं - अंकुरित खाद्य भनेको अनाज, गेडागुडी वा तरकारीका बिउहरूलाई पानीमा निश्चित समयसम्म भिजाएर उमारिएको खाद्यपदार्थ हो ।
यि खाद्य पदार्थ उमार्दा अनाज, गेडागुडी वा तरकारीका बिउमा पाइने जटिल संरचना भएको पौष्टिक तत्वहरू सरल संरचनामा परिवर्तन हुन्छन् र नयाँ खनिज, भिटामिन तत्वहरु उत्पन्न हुन्छन् र सुपाच्य बन्छन्।
यसलाई खाजा तथा नास्ताको रूपमा दिनहुँ पकाएर वा काँचै खान सकिन्छ । यस्ता खाद्य पदार्थ हल्का बफाएरपनि खान सकिनछ । तर काँचै खाँदा यसबाट अधिक मात्रामा पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ।
प्राकृतिक चिकित्सामा आहारलाई नै औषधिको रुपमा प्रयोग गरिन्छ । अंकुरित खाद्य पदार्थलाई विशेष जोड दिइन्छ । यस्ता खाद्यलाई अमृत समान मानिन्छ ।
अंकुरित खाद्यपदार्थका फाइदा
यस्ता खाद्य पदार्थमा कार्वोहाइड्रेट, ग्लुकोज, फ्रुक्टोज, माल्टोज आदिमा र प्रोटिन अमिनो एसिडहरूमा परिवर्तन हुन्छन् । भने खनिज तत्व र भिटामिनको मात्रा र गुणस्तरमा वृद्धि हन्छ । यस्ता खाद्यपदार्थ उमार्दा हुनसक्ने अखाद्य तत्व पनि नष्ट हुन्छन् । यी परिवर्तनले गर्दा पौष्टिक तत्वहरू सुपाच्य हुन्छन् र शरीरले सजिलै प्रयोग गर्न सक्छ।
अंकुरित खाद्य पदार्थमा भिटामिन ए, बि, सी र के को मात्रामा वृद्धि हुन्छ।
उमार्दा लाइसिन नामक अमिनो एसिड बन्छ जसले क्याल्सियमको शोषणमा मद्दत गर्दछ । मांसपेशीको प्रोटिन बनाउँछ, घाउहरू चाँडै निको पार्छ र हर्मोन, इन्जाइम र एन्टिबडी बनाउन निकै महत्वपूर्ण भूमिका खेल्छ।
अंकुरित खाद्यमा एन्टिअक्सिडेन्ट तत्वहरू बढी मात्रामा पाइन्छन् जसले गर्दा फ्रिराडिकल्सको असरबाट हुने थुप्रै रोगबाट बच्छ सक्छौँ।
अंकुरित मेथीले मधुमेह र वाथ रोगमा फाइदा गर्छ।
अंकुरित खाद्यहरूमा बिरूवामा पाइने फाइटोइस्ट्रोजिन भन्ने तत्व पाइन्छ जसले महिलाहरूमा महिनावारी रोकिएपछि हुने समस्याहरू जस्तै हड्डी कमजोर हुने, शरीर तात्ने, पसिना आउने, मन अनियन्त्रित हुने जस्ता महिनावारी हुनुभन्दा पहिला देखिने समस्याहरू र स्तन क्यान्सरलाई नियन्त्रण गर्दछ।
यसमा कम क्यालोरी हुन्छ । नियमित सेवनले तौल घटाउन मद्दत गर्दछ।