पाँचथर- जिल्लाको हिलिहाङ गाउँपालिकाले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्यकर्मीहरूको मनोबल बढाउने कार्यक्रम ल्याएको छ ।
कोभिड–१९ सङ्क्रमणको महामारीविरुद्ध अग्रभागमा खटिएका स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्दै गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन हौसला बढाउने उद्देश्यसहित गाउँपालिकाले स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सुविधा बढाएको छ ।
गाउँपालिकाले करार सेवामा काम गर्दै आएका स्वास्थ्यकर्मीहरूको तलब एकैसाथ रु सात हजारका दरले वृद्धि गरेको छ । सामुदायिक स्वास्थ्य एकाइहरूमा कार्यरत करार सेवाका स्वास्थ्यकर्मीहरुले हाल मासिक रु १८ हजार तलब पाउँदै आएकामा गाउँपालिकाले उक्त तलब वृद्धि गरी रु २५ हजार पु¥याएको छ । यस्तै स्वास्थ्य संस्थाहरूमा करारमा कार्यरत कार्यालय सहयोगीहरूको तलब रु नौ हजार ६०० बाट वृद्धि गरी मासिक रु १५ हजार पु¥याइएको छ ।
गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई समुदायमा परिचालित हुन उत्प्रेरित गर्न खाजा तथा पोशाक खर्चका रूपमा वार्षिक रु २४ हजार दरले सुविधा उपलब्ध गराउने विषयलाई समेत नीति तथा कार्यक्रममा समेटेको छ । हिलिहाङले गत वर्षदेखि नै महिला स्वास्थ्य स्वयंसेविकालाई बढी सुविधा दिई उत्प्रेरित गरेको भनी प्रशंसा हुने गरेको छ ।
गाउँपालिकाले अन्य स्वास्थ्यकर्मी तथा कर्मचारीलाई भने विगतदेखि नै दिइँदै आएको प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । गाउँपालिकाले स्वास्थ्य बीमा कार्यक्रमको पहुँच विस्तारका लागि रु तीन लाख बजेट छुट्टाएको छ । स्वास्थ्य बीमा कार्यक्रममा सामेल हुन चाहने तर दर्ता शुल्क बुझाउन नसक्ने गाउँपालिकावासीका लागि उक्त बजेट छुट्टाइएको हो ।
हिलिहाङले आगामी वर्ष आवश्यकताअनुसार वडाहरूमा स्वास्थ्य शिविर सञ्चालन गर्नसमेत बजेट विनियोजन गरेको छ । सङ्क्रमितको पहिचान, कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार र यस्तै प्रकारका महामारीविरुद्ध लड्न गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा रु ८५ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष भुवानीप्रसाद लिङ्देनले जानकारी दिनुभयो ।
यस्तै यस गाउँपालिकाले महामारीका समयमा दीर्घरोगीहरुलाई अत्यावश्यक औषधिहरूको निःशुल्क वितरणका लागि समेत बजेटको प्रबन्ध गरेको छ ।रासस