काठमाडौं - मनोविमर्श मनोबैज्ञानिक सहयोग विधि हो जसमा तालिमप्राप्त मनोविमर्शकर्ता र सेवाग्राहीको संयुक्त अन्तरक्रियात्मक प्रयासमा सेवाग्राहीको मनको पिर, चिन्ता, डर, तनाव एंवम् भावनात्मक अप्ठ्यारो र पिडालाई लेखाजोखा गरिन्छ। बिरामी आफैलाई समस्या समाधानका उपायहरू निकाल्न र खोज्न सहयोग गरिन्छ।
मनोविमर्शले सेवाग्राहीलाई साँस्कृतिक विभेद र लैगिक दृष्टिकोणको प्रभावमा नआएर स्वतन्त्र रुपमा अफ्ना अनुभव तथा दुःख, चिन्ताहरूका सम्बन्धमा छलफल गर्न सक्षम बनाउँछ । मनोविमर्शसँग सम्बन्धित केही भ्रम र तथ्यहरु यस्ता छन्
भ्रम
१. यो गम्भिर प्रवृतिको मानसिक बिरामीलाई मात्र चाहिने सहयोग हो।
२. मनोविमर्शमा जानु भनेको कमजोरीको लक्षण हो।
३. व्यक्तिहरूलाई केही त्रासदी भए पछि मात्र मनोविमर्श दिइन्छ।
४. मनोविमर्शकर्ताले सबै समस्या ठिक पार्नेछन् र अनुहार हेरेरै सबै पत्ता लगाउनेछन्।
५ मनोविमर्शकर्ताले आफूले अनुभव नगरेको वा नभोगेका समस्या∕घटनाहरु बुझ्न सक्दैनन्।
६. मनोविमर्श प्रभावकारी हुनको लागि धेरै लामो समय लाग्छ।
७. मनोविमर्श केन्द्रका मनोवैज्ञानिकहरू वा मनोविमर्शकर्ताले औषधिहरू लेख्न सक्दछन्।
८. यो धेरै महँगो छ।
९. मनोविमर्शकर्ताले तपाईंलाई दोष दिन्छन् वा लज्जित पार्ने छन्।
तथ्य
१. हरेक व्यक्तिलाई, कुनै न कुनै समयमा जीवनमा दुख, अधुरो वा एक्लो महसुस हुनु, चिन्ता हुनु, मनमा चोट अनुभव गर्नु सामान्य कुरा हो । यस्ता समयमा व्यक्तिलाई एक्लै सामना गर्न कठिन भएमा, मानसिक रुपमा आफूलाई स्वस्थ अनि बलियो राख्न र आफ्नो सोच्नमा अधिक स्पष्टता ल्याउन सक्षम बनाउन मनोविमर्शकर्ताको मद्दत लिन सकिन्छ। त्यसैले, साधारण समस्यादेखि गम्भिर मानसिक रोगमा पनि मनोविमर्श लिन सकिन्छ।
२. “सहायता खोज्नु कमजोरी होइन, बरु साहस हो।” एकपटक आफै सोच्नुहोस् त, यदि कसैले हातखुट्टा भाँचिएको छ भने तपाईं के गर्नुहुन्छ ? उनीहरूलाई डाक्टर कहाँ जान सल्लाह दिनुहुन्छ कि लुकाएर बस्न भन्नुहुन्छ ? अवश्यै, डाक्टर भेट्न भन्नुहुन्छ, हैन ?
त्यसैगरि मानसिक र भावनात्मक रुपमा गाह्रो भएका व्यक्तिलाई सहयोग खोज्न सल्लाह दिनु, मद्दत गर्नु हो र मनोविमर्शमा प्रवेश गर्नु, वास्तवमा, समस्याहरू असहजता समाधान गर्न पहिलो कदम हो । सहयोग लिनको लागि तयार हुनुले व्यक्तिको सचेत मानसिकता,आत्म जागरूकता र सजकताको चिनारी दिन्छ, कमजोरीको होइन।
३. खुशी, आरामदायक जीवन बिताउन आफ्नो व्यक्तिगत असहजता, दैनिक तनावसँग सामना गर्न, रिस व्यवस्थापन गर्न, सम्बन्ध सुधार गर्न, करियर रोज्न क्रममा, इत्यादिको लागि पनि मनोविमर्श रोज्न सक्नुहुन्छ।
तसर्थ ,शारीरिक र मानसिक रूपमा स्वस्थ हुन पनि मनोविमर्श लिन सकिन्छ,त्रासदायक स्थिति पर्खिनुपर्दैन।
४. मनोविमर्शकर्ताले तपाईंलाई मनोविमर्शमा आउनुको तपाईका लक्ष्यहरू तय गर्न र त्यहाँसम्म पुग्नका लागि मद्दत गर्दछन् तर यसो गर्नु उसो भनेर सल्लाह वा सुझाव भने दिँंदैनन् ,बरु तपाईंको छनौटप्रति सम्भावित फाइदारबेफाइदा केलाउन मद्दत गर्दछन् र अन्तरक्रियाको माध्यमबाट तपाईंको बारेमा थप कुरा पत्ता लगाउछन्,अनुहार हेरेर होइन।
५. तालिमप्राप्त मनोविमर्शकर्ताले व्यक्तिगत भिन्नता र समस्यालाई कसरी हेर्ने भन्ने कुराको प्रशिक्षण लिएका हुन्छन् ।मनोविमर्शकर्ताले धेरै व्यक्तिका जीवन कथाहरू पनि सुनेका हुन्छन्, र तिनीहरू प्रत्येकलाई गोपनीयता र सम्मानका साथ समात्छन् र संवेदनशील भएर सहयोग गर्ने कलामा निपूर्ण हुन्छन्।
६. के तपाई बिना कुनै कारण चिकित्सक भेट्न जानुहुन्छ ? वा कुनै शारीरिक रोगहरू हुँदा जब समस्या आउँछ र रहन्छ, हैन र ? त्यस्तै, मनोविमर्श पनि अनन्त कालसम्म हुने प्रक्रिया होइन। हरेक व्यक्तिमा मनोविमर्शकोको प्रकृति र आवश्यकता फरक भएकै कारण, मनोविमर्शको अवधि पनि फरक पर्छ। तपाईका समस्याहरू नसुल्झिएसम्म वा ,मनोविमर्शको लक्षित लक्ष्य पूरा नभएसम्म तपाईंले सहयोग लिनसक्नुहुन्छ र उद्देश्य प्राप्त भएपछि बन्द गर्न सक्नुहुन्छ।
७. मनोवैज्ञानिक वा मनोविमर्शकर्ताहरूले औषधीहरू लेख्दैनन् । मनोचिकित्सक (चिकित्सक) लाई मात्र औषधी दिने मान्यता प्राप्त हुन्छ र मनोविमर्शकेन्द्रहरुमा कुनै पनि औषधिहरू प्रदान गरिदैन। मनोविमर्शसँगै औषधी खानुपर्ने अवस्थामा मनोविमर्शकर्ताले सेवाग्राहीसँग छलफल गरेर मनोचिकित्सकलाई रिफर गर्न सक्नुहुन्छ।
८. मनोविमर्श प्रायः निजी संगठनरक्लिनिकमा केही महँगो हुन सक्छ तर यो एउटा लगानी हो जुन तपाईले आफ्नो शारीरिक र भावनात्मक हितको लागि गर्नुभएको निर्णय हो। सुलब रुपमा पनि तपाईले यो सेवा सरकारी अस्पतालमा लिन सक्नुहुन्छ जहा यस विषयका विशेषज्ञहरूसँग तपाई मनोविमर्श लिन सक्नुहुन्छ।
९. दुर्भाग्यवस, यो विल्कुलै गलत धारणा हो। मनोविमर्शकर्ताले तपाईलाई दोषी र लज्जित बनाउदैनन् बरु तपाईलाई सुधारउन्मुख र जीवनमा अघि बढ्नमा मद्दत गर्दछन्। कहिलेकाहीँ मनोविमर्शको क्रममा, तपाईको विगतका संघर्ष वा चुनौतीहरूको प्रसङ्ग निस्कदा, चाहेर या अन्जानमा,मनोविमर्शकर्ताले आफूलाई लज्जित गरेको वा आफ्ना प्रिय व्यक्तिलाई दोषारोपण भएको लाग्न सक्छ तर त्यसता रचनात्मक अभ्यासले अझ मूल कारणहरूको बारेमा जान्न मद्दत गर्छन्।
जब हामीले मनोविमर्श शीर्षकहरू वरिपरिका साझा भ्रम र गलत धारणाहरू छोड्न थाल्छौं, तब मात्र हामी सहयोगतर्फ एक पाईला अगाडी बढाउन सक्छौ।तपाईंले समस्या परेको अवस्थामा कमजोर र निरिह महसुस गर्नुको सट्टा,सही मनोविमर्श पाएर आफ्नो जीवनलाई सशक्त र सबल बनाउन सक्नुहुन्छ।